ओखलढुंगामा आजदेखि मौरी पालन सम्बन्धी तालिम सञ्चालन,३० जना कृषक सहभागी

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले मौरी पालक कृषकहरुका लागि मौरी पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ । नगरपालिका भित्रका मौरीपालक कृषकहका लागि आजदेखि ३ दिने आधारभूत मौरी पालन तालिम सञ्चालन गरिएको हो ।

कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्ष पहिलो पटक यो तालिम सञ्चालन गरिएको कृषि विकास शाखा प्रमुख भिम दर्जीले जानकारी दिए । सिद्धिचरण नगरपालिकाको सभाहलमा सुरु भएको तालिमको आज नगरपालिकाका नवनिर्वाचित मेयर तेजन खनाल (तेजेन्द्र) ले औपचारिक उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै मेयर खनालले नगरपालिकाबाट कृषकले पाउने अनुदान तथा सेवा सुविधा कुनै पनि पुर्वाग्राही बीना सहज र सरल रुपमा उपलब्ध गराउने बताए ।

नगरपालिका क्षेत्रमा मौरी पालन व्यवसायलाई समेत आधुनिकीकरण गर्न पनि आफ्नो  विशेष पहल रहने उनले बताए । तालिममा नगरपालिका भित्रका ३० जना कृषक सहभागी भएका छन् । तालिम अवधिभर उनीहरुलाई विषय विशेषज्ञहरुबाट खोपे तथा मुढे घारबाट मौरीलाई आधुनिक घारमा सार्ने तरिका, गोला समायोजन तथा स्थानान्तरण, गोला तथा घार निरिक्षण लगायतका विषयमा आधारभूत ज्ञान दिइने कृषि शाखाका नायव प्राविधिक सहायक बिरेन्द्र तामाङले बताए ।

नगरपालिका भित्रका धेरै कृषकहरुले अहिले पनि पुरानै घारमा मौरी पालन गर्दै आएका छन् । मौरीपालनलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको शाखा प्रमुखको दर्जीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार