तीन करोडको अक्षयकोष खडा गर्नेतिर लाग्छुः अध्यक्ष शेर्पा

काठमाडौ (सार्वजनिक) । नेपाल शेर्पा विद्यार्थी संघका नवनिर्वाचित अध्यक्ष छिरिङ शेर्पाले आफूले घोषणा गरेको अजेण्डा कार्यान्वयनको शुरुवातमा अक्षयकोष स्थापनालाई जोड दिने बताउनु भएको छ । विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापनका लागि ३ करोडको अक्षयकोष स्थापना गर्नु आफ्नो पहिलो प्रथामिकता रहने शेर्पाले बताउनुभयो ।
१४ औं महाधिवेशनबाट पहिलो बर्षका लागि अध्यक्ष निर्वाचित शेर्पाले आफूले घोषणा गरेको प्रतिबद्धतालाई क्रमशः द्रुतगतिमा कार्यान्वयन गर्दै लैजाने क्रममा अक्षयकोषलाई प्रथामिकतामा राखेको प्रतिक्रिया दिनुभयो ।
तीन करोडको अक्षयकोष तत्काल स्थापना गरी लोकसेवा आयोग, बौद्धिक क्षमता विकास, व्यवसायिक तथा सीपमूलक तालिमहरु सञ्चालन गर्ने योजना रहेको बताउँदै अध्यक्ष शेर्पाले सबैको सहयोगमा तत्कालै काम पूरा हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष शेर्पाले चुनौति र अवसरको वीचबाट नतिजा निकाल्न आफू दत्तचित्त भएर आम शेर्पा विद्यार्थीको हकहित, दक्षता बृद्धि र व्यवसायिकतातर्फ उन्मूख गराउन क्रियाशिल रहने बताउँनु हुँदै सहमतिबाटै कार्य समिति चयन भएकाले काम गर्न सहज हुने समेत विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष शेर्पाले महाधिवेशनअघि आफूले अघि सारेका विषयसँगै आकांक्षीहरुले अघि सारेका अजेण्डालाई समेत आत्मसाथ गरेर नतिजामूखि कार्यकलापमा जोड दिने बताउनुभयो । विद्यार्थीहरुलाई पढाईसँगै पेशापनि गर्नुपर्ने वाध्यता रहेकाले दक्ष जनशक्ति निर्माण गरी पढाई सकिँदै गर्दा रोजगारको सुनिश्चितताको लागि आफूहरुले काम गर्ने दाबी गर्नुभयो । अध्यक्ष शेर्पाले सौहर्दापूर्ण रुपमा महाधिवेशन सम्पन्न गरी आफूलाई नेतृत्व चयन गराउनेहरुप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार