सबैलाई समान तरिकाले फुल्न फल्न पाउनुपर्छ: अध्यक्ष शेर्पा

काठमाडौं । जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले मुलुकभित्र सबैलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चोकको चौथो महाधिवेशनमा अध्यक्ष शेर्पाले सबै फुललाई समान तरिकाले फुल्न दिनुपर्नेमा जोड दिनुभएको हो ।
सिन्धुपाल्चोकमा पर्यटनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा आफ्नो भनाई राख्नु हुँदै नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद् अध्यक्ष शेर्पाले आदिवासी समुदायलाई सदियौंदेखि राज्यले उत्पीडनमा पारेकाले नै आदिवासीहरुले राज्यलाई अपनत्व महशुस नगरेको दाबी गर्नुभयो । अध्यक्ष शेर्पाले कसैलाई काखा, कसैलाई पाखा गरेर अघि बढ्ने बर्तमान राज्यको रवैयाले नै नेपाल पछाडि पर्दै गएको दाबी गर्दै अध्यक्ष शेर्पाले आदिवासीहरु सोझो, सिधा र इमान्दार भएकै कारणले राज्यमा माग्ने ठाउँमा पुर्याएको भन्दै दुःख व्यक्त गर्नुभयो । आदिवासी समुदायको जल, जंगल र जमिन माथिको अधिकार कुण्ठित पार्दै प्रथाजनित कानूनलाई समाप्त पार्न राज्य संयन्त्र जोडतोडले लागि परेको बताउनु हुँदै अध्यक्ष शेर्पाले यसको विरुद्धमा शसक्त ढंगले आदिवासीहरुले पहिचानको आन्दोलन अघि बढाएको बताउनुभयो ।
पहिचानसहितको संघीयता, आर्थिक समृद्ध, आदिवासीहरुको रैथाने संस्कृतिको संरक्षण नै अहिलेको मुल अजेण्ड भएकाले त्यसभन्दा बाहिर जाने खोज्नेहरु समयसँगै समाप्त भएर जाने बताउनुभयो । अर्को प्रसंगमा अध्यक्ष शेर्पाले उपनिर्वाचनमा आदिवासी समुदाय एकजुट भएर अघि बढ्नुपर्ने र आदिवासीहरुको प्रतिनिधिहरुलाई सदन र सरकारमा ल्याउन एकमत भई अघि बढ्न आह्वान गर्नुभयो । विशेष गरी इलाम क्षेत्र नं. २ को निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष शेर्पाले ८० प्रतिशत आदिवासीहरु भएको ठाउँबाट पहिचानवादी आदिवासी नेतालाई जिताउन सक्यौं भने मात्रै प्रदेशको पुनः नामांकनको आन्दोलनले सार्थकता पाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार