काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार पुष्पा भुसाल विजयी भएकी छन् । शुक्रबार उपसभामुख चयनका लागि संसद्मा भएको मतदानमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन् ।
उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए ।
सापकोटाले भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थात् तटस्थमा १ मत परेको जानकारी दिए ।
कुल मतदानमा उपस्थित सदस्य संख्या २४२ रहेका थिए । उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति भएको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।