काठमाडाैं, १ कात्तिक । डा गाेविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि १४ दिनपछि बुधबार अनशन ताेडेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच १० बुँदे सहमति भएकाे छ ।

जसमा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायत विषय छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य मन्त्री दीपक बोहोरा, स्वास्थ्य सचिव डा किरण रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव महिन्द्रप्रसाद उपाध्याय, चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ, वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालगायतको रोहवरमा १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा केसीले अनशन ताेडेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउने प्रस्ताव राखेपछि दिउँसो प्रधानमन्त्री, शिक्षामन्त्री, पूर्वमन्त्री थापा, प्रा केदारभक्त माथेमा, डा केसीका तर्फबाट डा अभिषेकराज सिंहलगायतको प्रधानमन्त्री निवासमा बैठक बसेको थियो ।

सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि डा केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन् । साे क्रममा उनले कात्तिक ६ गते सहमतिपत्रका विषय कार्यान्वयन नभए कात्तिक ७ गतेदेखि पुनः अनशनमा बस्ने चेतावनी दिएका छन् । डा केसीलार्इ प्रधानमन्त्री देउवाले यसपटक सहमति कार्यान्वयन हुने विश्वास दिलाएका छन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here