बहुजातीय बहुभाषिक बहुधार्मिक राज्य संक्षिप्तमा ‘बहुल राष्ट्रिय राज्य’ हो

प्राध्यापक बालकृष्ण माबुहाङले बहुजातीय, बहुभाषिक वा बहुधार्मिक राज्यलाई नै संक्षिप्तमा बहुलराष्ट्र राज्य भनिने बताएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले शुक्रबार नेपाललाई बहुल राष्ट्रिय राज्यमा लैजाने बताएपछि नेकपा एमालेका नेता योगेश भट्टराई, गोकर्ण विष्ट, वामदेव गौतम लगायतले देश विभाजन गर्न खाेजेकाे भन्दै गम्भीर आपत्ति जनाएका थिए ।

माबुहाङले कम्युनिष्ट नेताहरुलाई बुझ्न गाह्रो भएको भनी व्यङ्ग्य गर्दै बहुल राष्ट्रिय राज्यको बारेमा सामाजिक सञ्जालबाट प्रष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘बहुजातीय, बहुभाषिक वा बहुधार्मिक राज्य संक्षिप्तमा बहुलराष्ट्र राज्य हो । साम्यवादी मित्रहरुलाई बुझ्न गाह्रो । एकात्मक हुन् नि त ।’

वास्तवमा नेपालका आदिवासी जनजातिहरुले लामो समयदेखि जातीय, भाषिक, धार्मिक समानता र पहिचानजनित प्रदेशको माग उठाउँदै आएका थिए ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि तथा पहिलोपटक संविधानसभा गठन भएपछि आदिवासीहरुले यो मुद्दा मूल रुपमा चर्काएका थिए ।

तत्कालिन एमालेका वरिष्ठ नेता अशोक राईले पार्टी नेतृत्वले पहिचानसहितको संघीयता तथा जातीय, भाषिक, सांस्कृतिक मुद्दा सम्बोधन नगरेपछि नै एमाले परित्याग गरी संघीय समाजवादी पार्टी नेपाल गठन गरेका थिए ।

एमालेमा ६ महिनाभन्दा बढी अन्तरसंघर्ष गरेपछि नेतृत्वले मुद्दा सम्बोधन नगर्ने निष्कर्षसहित उनी एमालेबाट बाहिरिएका थिए ।

तत्कालिन माओवादी केन्द्र तथा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान राष्ट्रिय मञ्च लगायत साना दलहरुले पनि मुलुकको बहुल राष्ट्रियतामा आधारित पहिचानजनित प्रदेश निर्माणको संघर्ष गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here