नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमका बिरुद्ध आन्दोलनमा रहेका दलहरुलाई अबको राजनीतिक निकासका लागि समझदारी र सहमतिका लागि आव्हान गरेका छन् ।

राजधानीमा शनिबार दिउँसो बृहत नागरिक आन्दोलनको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो कोशिस यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जे प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरुका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’

उनले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस् भनेर एकदुई दिन आफूले हेरेको बताए ।

अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने पनि स्पष्ट पारे ।

उनले भने, ‘संसद् विघटनको विरुद्ध उभिएका दलबाटै समर्थन फिर्ता नलिन भन्दै दवाव छ, राजनीति उल्टो पर्छ कि भनेर । तर नैतिक र राजनीतिक रुपले अब माओवादी केन्द्रले समर्थन फिर्ता लिन धेरै दिन पर्खन सक्दैन । सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं ।’

उनले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताए ।

अध्यक्ष प्रचण्डले जनदवावका कारण ‘अदालतसँगको सेटिङ’ भत्किएको र संसद पुनःस्थापना भएको बताए ।

नेकपाको एकता भत्काएर एमाले र माओवादी ब्युँताउने अदालतको निर्णय अस्वभाविक र अप्राकृतिक रहेको उनकाे भनाइ थियो । उनले त्यसको लागि आफूहरु पुनरावलोकमा जाने जानकारी दिए ।

उनले माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउदै यसको विरुद्धमा आफू लड्न आफू तयार रहेको बताए ।

मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको स्पष्ट परे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here