प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका छन् ।

खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । यसअघि सामाजिक विकास मन्त्री जीवन घिमिरेले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए ।

नवनियुक्त मन्त्री उषाकला राई एमालेको माधव नेपाल समूह छाडेर ओली समूहमा आएकी हुन् ।

यसैगरी मुख्यमन्त्री राईले हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र इलामका राम राना कृषि मन्त्रीमा नियुक्त गरेका छन् ।

उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।

झापाका हिक्मत कार्की आन्तरिक मामिला तथा कानून मन्त्रीमा कायम छन् भने जगदीश कुशियत उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा कायम रहेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here