अरुणकुमार राई ‘अरुण दोभान’ले लेखेको किताब ‘आदिवासी जनजाति र अधिकार’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा केन्द्रीय कार्यालयको सुम्निमा हलमा एक कार्यक्रमको आयोजना गरी उक्त किताब सार्वजनिक गरिएको हो ।

किरात राई लेखक संघले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार राजन मुकारुङ, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, नेपाल आदिवासी जनजाति महासंघकी सचिव सोनाम याङ्की, यायोक्खाकी सल्लाहकार तथा राजनीतिज्ञ दुर्गा राई, अधिवक्ता शान्ति राई, समाजसेवी मेजर योगेश कोयी राई लगायतले सामूहिक रुपमा किताब सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा साहित्यकार मुकारुङलाई राखिएको थियो । उनले अरुण दोभान जस्ता धेरैलाई यस्ता किताब लेख्न प्रेरित गर्नुपर्ने बताए ।

सो क्रममा उनले आदिवासी किरात समुदायको आस्थाको केन्द्र खुवालुङलाई क्रेन लगाएर फुटाउने घोषणा गरिएकोले सोको डटेर सामाना गर्नुपर्ने बताए ।

यायोक्खाका अध्यक्ष दिवस राईले खुवालुङको संरक्षणका लागि यायोक्खाले तीन वर्षदेखि नै अभियान चलाइरहेको बताए । उनले खुवालुङलाई कुनै पनि हालतमा संरक्षण गरिने बताए ।

लिम्चुङबुङ गाउँपालिका–१ उदयपुर घर भएका किताबका लेखक अरुण दोभानले यसअघि कविता संग्रह ‘निभ्दै गरेको उज्यालो’, नाटक ‘क्रान्ति नायक’ लगायत कृतिहरु लेखेका थिए ।

‘आदिवासी जनजाति र अधिकार’को प्रकाशक मेजर योगेश कोयी राई हुन् । ७६ पेजको यो किताबको मूल्य २०० रुपैयाँ राखिएको छ ।

राजनीतिकर्मी हिमालधन राई, व्यवसायी हरिबहादुर माझी समेत उपस्थित भएको उक्त कार्यक्रमको सहजीकरण किरात राई लेखक संघका अध्यक्ष खुक्सङ खम्बुले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here