उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले हिम्मत भए प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासकाे प्रस्ताव ल्याउन नेकपा दाहाल-नेपाल समूहलाई चुनाैती दिएका छन् ।
शुक्रबार ओली समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पाेखरेलले दाहाल-नेपाल समूहलाई चुनाैती दिएका हुन् ।
उनले भने, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ, प्रधानमन्त्री केपी ओली संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ । हामी संसद बोलाउँछौं कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गर्छाैं ।’
नेता पाेखरेलले सर्वोच्च अदालतको निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेकाे जिकिर गरे । तर पनि अदालतकाे निर्णय आफूहरुले मान्ने उनको भनाइ छ ।
उनले भने, ‘यो फैसलाले राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक विकासमा बाधा पुर्याउने, अराजकतालाई बढावा दिने, मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने काम हुनेछ। सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई फोहोरी आहालतर्फ धकेलेको छ। हामी सबैले त्यो फैसलाप्रति दुःख व्यक्त गर्नुपर्छ ।’
साे क्रममा पाेखरेलले न्यायाधीशप्रति अपर्यादित भाषा प्रयोग गरी आक्रोश व्यक्त गरे ।
सबैभन्दा ठूलाे अदालत जनता रहेकाे भन्दै उनले आक्रोश पाेखे, ‘तिमीभन्दा धेरै शक्तिशाली न्यायाधीशहरु जनता हुन्। तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैछ, त्यही दुर्भाग्यतर्फ जानको लागि प्रेरित गरेको छ ।’