प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गरी उक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा भट्टराईलाई प्रमुख सचेतकको नियुक्ति-पत्र प्रदान गरेका छन् ।

यसअघि प्रमुख सचेतकमा देव गुरुङ थिए भने सचेतकमा शान्ता चौधरी थिइन् । तर, सचेतक शान्ता चौधरीकाे पद भने कामय रहेकाे छ ।

प्रमुख सचेतक भट्टराई खोटाङबाट दुई पटक निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद भंग गरेपछि भट्टराई ओलीको पक्षमा ढटेर लागेका थिए ।

नेकपा औपचारिक रुपमा विभाजित नभए पनि हाल दुवै समूहले आ-आफ्नाे सांगठनिक गतिविधि तीव्र गतिमा अघि बढाइरहेका छन् ।

नेकपा दाहाल-नेपाल समूहले यसअघि नै प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियाे ।

हाल दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदबाट पदच्युत गर्ने गरी तयारी गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here