लाेकप्रिय अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले लामाे समयपछि एकसाथ लघु चलचित्र ’वरदान’मा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको याे चलचित्रकाे छायांकन सकिएकाे छ ।

चलचित्रमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठाइएकाे छ ।

यसमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा फिल्म बनाइएकाे निर्देशक लामाले बताए ।

उनले भने, ’डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं । डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

करिब २० मिनेट अवधिको हुने फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिनेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here