कठ्याङ्ग्रिदाे जाडो, न खुट्टामा चप्पल छ न त शरीरमा जाडो छल्ने न्यानाे कपडा । एकाबिहानै मुख्यमन्त्री कार्यलय अगाडिको खुल्ला चौरमा भेटिए दैलेखका वादी समुदाय ।

खेतीयोग्य जमिनको माग गर्दै दैलेखको तल्लो डुङ्गेश्वरबाट तिन दिनको पैदल यात्रापछि गत सोमबार वीरेन्द्रनगर आएका उनीहरु मुख्यमन्त्री कार्यालयको अगाडिको खुल्लाचौरमा बसेका छन् । डुङ्गेश्वरबाट आफ्नो सामाग्री सहित ४ सय भन्दा बढी बादी समुदायका मानिसहरु वीरेन्द्रनगर आएका छन् ।

मादल बनाउने बेच्ने, गित गाउँने बादी समुदायको पेशा लोप हुँदै गएपछि आफूहरु हिजोआज मजदुरीमा लागेको तर त्यहाँ काम नपाएपछि बाध्य भएर जमिन माग्दै प्रदेश सरकारको शरणमा आएको दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ का जोरो बादीले बताए ।

‘हाम्रो पेशा लोप भएपछि हामी मारमा छौँ,’ उनले थपे, ‘विगत केही बर्ष यताबाट पुरानो पेशा भन्दा माछा मार्ने, बालुवा चाल्ने, कर्णाली राजमार्गमा आएका गाडीहरु लोड अनलोड गर्ने जस्ता काममा केन्द्रीत हुँदै आएका छौँ ।’

‘पछिल्लो समय खोलामा माछा पाउन छाड्यो दिनभर मार्न बसेपछि माछा नै भेटिदैनन्, बालुवा चाल्न प्रशासनले रोग लगाएको छ । गाउँ–गाउँमा सडक पुगेपछि गाडी लोड अनलोडको काम पनि पाउँदैन । त्यसैले अब हामी खेती गर्न चाहान्छौँ । त्यसको लागि जग्गाको माग गर्दै कर्णाली प्रदेश सरकारको शरणमा छौँ,’ उनले भने ।

रोजगारीका स्रोतहरु गुम्दै गएपछि आफुहरु बाध्य भएर खेतीयोग्य जग्गाको माग गरिरहेको डुङ्गेश्वर गाउँपालिका–१ मै बस्दै आएका सेते बादिले बताए ।

‘हामीले हाम्रा बालबच्चाहरुलाई पढाउन सकेनौँ, राम्रो बासको व्यवस्थापन गर्न सकेनौँ । हुँदाहुँदै एकछाक खुवाउन समेत नसकिने अवस्था आएको छ,’ उनले भने, ‘घरमा ३ छोरा, ३ छोरी छन् । उनीहरुको पालनपोषणको लागि गरीखाने काम छैन । न त उत्पादन गर्ने जग्गा नै । त्यसैले हामी बाध्य भएर प्रदेश सरकारसँग माग गरिरहेका छौँ ।’

एकिकृत बस्ती विकास, शिक्षा, स्वास्थ्य, रोजगार उपलब्ध गराउने जस्ता नारा अघि बढाइरहेको प्रदेश सरकारले आफूहरुको समस्याबाट पन्छिन नमिल्ने उनीहरुको भनाइ छ ।

बादी समुदायको लागि सरकारले छुट्टै आयोग गठन गरेरै भए पनि जग्गा उपलब्ध गराउनुपर्ने अगुवा हिक्मत बादीले बताए ।

आफुहरुको माग पुरा नभएसम्म कुनै पनि हालतमा मुख्यमन्त्री कार्यालय नछोड्ने उनीहरुको चेतावनी छ । दैलेखमा झण्डै ६६९ जनसंख्या बादी समुदायको छ ।

त्यसमा ४०२ परिवार र ११२ घरधुरी संख्या रहेको छ । तीमध्ये धेरैजसो दुल्लुनगरपालिका–१ र डुङ्गेश्वर गाउँपालिका–५ स्थित डुङ्गगेश्वर बजार आसपासमा बस्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here