स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठीले आगामी निर्वाचनमा आफ्नै दल गठन गरेर उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

साेमबार गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवामा पत्रकारहरुसँग मन्त्री त्रिपाठीले फागुनभित्रै दल गठन गर्ने बताए ।

मन्त्री त्रिपाठी तत्कालीन नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले स्वतन्त्र राजनीतिक समूहकाे नाममा सूर्य चिन्हबाट चुनाव लडेका थिए । हाल उनले स्वतन्त्र राजनीतिक समूहलाई नै दलमा रुपान्तरण गर्ने भएका छन् । उनले आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका नेताहरु आउने दाबी गरे ।

उनले भने, ‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधिसभाका केही सदस्यहरु आउने छन् । उनीहरु संसद् पुनर्स्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् । अर्को समूह भनेको तत्कालीन तमलोपाका नेताहरु हुन् । तमलोपाका ८० प्रतिशत भन्दा बढी नेताहरु आउने तयारीमा छन् । अन्य राजनीतिक दलका नेताहरुसँग पनि कुराकानी भइरहेको छ ।’

नयाँ दलको गठन गर्नुपर्ने आवस्यकता बारे उनले वर्गीय आधारलाई अन्य दलले समेट्न नसकेकाले त्यसैको प्रतिनिधित्वलाई समेट्ने बताए ।

‘हाम्रो वर्गीय आधार भनेको किसान र साना व्यवसायी हुन् । जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । अर्को राजनीतिक आधार भनेको संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्तयसहित मूलरुपमा राजकीय सत्ता र सार्वभौम सत्ता जनतामा निहित हुने मान्यताका साथ दल गठन हुन्छ ’ उनले भने ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here