कर्णाली प्रदेशकाे राजधानी समेत रहेको बिरेन्द्रनगरको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माण कार्य तीव्र पारिएको छ ।

प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत आपूर्ति गर्न सहजताका लागि यो स्टेशनको निर्माण तीव्र बनाइएको हो ।

कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो । सबस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा गरिएको भए पनि स्टेशन निर्माण प्रक्रियामा ढिलाइ हुँदै आएको थियो ।

अहिले बोलपत्र आह्वान गरी काम समेत शुरू भइसकेको छ । त्यस्तै जहरेमा निर्माण हुने भनिएको ४०० केभी प्रसारण लाइनको सबस्टेशनको काम भने पछाडि धकेलिएको छ ।

सबस्टेशनको डिजाइन गर्ने इटालियन कन्सल्टेन्टले डिजाइनको काम पूरा गरिसकेको भए पनि बोलपत्र आह्वानको काम शुरू हुन लाग्दा योजना नै स्थगन गरेर प्रसारण निर्देशनालयमा हस्तान्तरण गरी पुनः बोलपत्र आह्वान गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले बताए ।

सुब्बाकुनामा सबस्टेशन निर्माण पूरा भएपछि विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने उनले जानकारी दिए । अहिले सुर्खेतको सुब्बाकुनामा विद्युत् प्राधिकरणले काम गरिरहेको छ ।

भेरी नदीमा बन्न लागेका ठूला आयोजनाको विद्युत् जहरे सबस्टेशनमार्फत वितरण हुनेछ । जहरेमा निर्माण हुन लागेको सबस्टेशनको काम राष्ट्रिय प्रसारण कम्पनीले गर्न लागेको छ । अहिले यी दुई ठाउँको काम छुट्टाछुट्टै हुन लागेको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here