जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले राजनीतिक स्थिरताको नारा दिई सत्तारुढ भएका ओलीले उल्टो काम गरेको भन्दै संविधानले संसद भंग गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नदिएको बताएका छन् ।

उनले भने, ‘जनताले गत निर्वाचनमा नेकपालाई दिएको मत संसद भंग गर्नका लागि दिएको होइन, ओलीलाई दिएको जनादेश निरंकुशताकाे लाइसेन्स होइन ।’

प्रतिनिधिसभा पुनःस्थापनाकाे माग गर्दै आइतबार जसपाकाे नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसंगठनहरूले काठमाडाैंमा आयोजना गरेकाे संयुक्त कार्यक्रममा नेता श्रेष्ठले बताएका हुन् ।

कारोनाको कहरले १२ लाख श्रमजीवीले रोजगारी गुमाएको बेला ३० अरब खर्च गर्नेगरी निर्वाचन घोषणा गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताउँदै नेता श्रेष्ठले भने, ‘अहिले संविधानको लिक भत्किएको छ, संसद पुनःस्थापना नभए संवैधानिक संकट पैदा हुनेछ ।’

उनले थप स्पष्ट पार्दै भने, ‘संविधानअनुसार संसद विघटनको ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ र निर्वाचन कानुनअनुसार त्यसका लागि १२० दिन चाहिन्छ । २०७८ वैशाखमा निर्वाचन गर्ने घोषणा गरे पनि अब त्यसका लागि १२० दिनको समय छैन भने असार ४ गते ६ महिना पुग्छ ।’

त्यस्तो अवस्थामा चुनाव सम्भव नभएकाले संवैधानिक रिक्तता पैदा हुने भन्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताए ।

कांग्रेसले इतिहासबाट शिक्षा लिनुपर्छ

श्रेष्ठले नेपाली कांग्रेसलाई इतिहासबाट शिक्षा लिएर संयुक्त जनआन्दोलनका लागि तयार हुन आह्वान गरे ।

निर्वाचन भए आफ्नो लागि सिंहदरवारको कुर्सी खाली हुन्छ भनेर सोच्नु गलत भएको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा आफैले संसद विघटन गरी घोषणा गरेका निर्वाचन गराउन नसक्दा राजाले सत्ता हातमा लिएको र जनआन्दोलनको माध्यमबाट संसद पुनःस्थापना भएको इतिहासबाट शिक्षा लिनुपर्छ ।’

प्रतिगमनको जगमा हुने निर्वाचनले लोकतन्त्र बलियो नहुने उनले बताए ।

विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका श्रेष्ठले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै भने, ‘अदालतले कुनै सेटिङको आधारमा होइन, संविधानको आधारमा संसद पुनःस्थापना गर्नेछ । नगरे संयुक्त जनआन्दोलनको आँधिबेहरी सिर्जना हुनेछ र त्यसले विगतमा जस्तै संसद पुनःस्थापना गर्नेछ । त्यसपछि ओलीलाई मरेको लाशलाई उपियाँले पनि छोडेजस्तै अहिले सत्ताको पछाडि दौडेकाहरूले पनि छोड्ने छ ।’

नेवाः राष्ट्रिय समितिका मुख्यसचिव परिवर्तन भट्टराईले सञ्चालन विरोध सभामा पार्टी केन्द्रीय सदस्यहरू रत्नविक्रम स्याङ्बो, महिला संघकी अध्यक्ष निर्मला यादव, नेवाः राष्ट्रिय समितिका अध्यक्ष मनरत्न शाक्य लगायतले सरकारको असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदमको विरोध गरी संसद पुनःस्थापनाको माग गरेका थिए ।

प्रदर्शनमा राजन केसी, आङकाजी शेर्पा, पवित्र वज्राचार्य, खगेन्द्र माखिम, लीला सिटौला, पवित्र तिमिल्सिना, इश्वर रिजाल, दलमर्दन कामी, मञ्जु अन्सारी, लालध्वज नेम्बाङ, मोहन बराइली, पञ्चलाल महर्जन, राधाकृष्ण महर्जन, डिबी लिम्बु, भगवती सुवेदी, अर्जुन लम्साल, रीम बस्याल, रेणुका गुरुङ लगायत नेताहरूकाे उपस्थिति रहेको थियो ।

जसपाले आइतबार देशैभरका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here