प्रधानमन्त्री केपी शर्मा ओलीले किरातीहरुको मुन्दुममा बारम्बार उच्चारण हुने सप्तकोशीको ढुंगो (खुवालुङ)लाई क्रेन लगाएर फुटाउन लागेको बताएका छन् ।

सप्तकोशीमा जेटबोट सञ्चालन गर्दा नदीको बिच भागमा रहेको उक्त ढुंगोले बाधा पुर्याएकोले त्यसलाई क्रेन लगाएर फुटाउने र नदीको बाटो क्लियर गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले फागुन ८ गते नेकपा ओली समूहद्वारा विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा खुवालुङलाई फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।

खुवालुङ

पहिचानसहितको संघीयता तथा जातीय पहिचानको चर्को विरोधी रहेका प्रधानमन्त्री ओलीले तीन वर्षको बिचमा देशमा आफूले असाधारण विकास गरेको फेहरिस्त सुनाउँदै सप्तकोशीको ढुंगोले जेटबोट चलाउन बाधा पुगेकोले त्यसलाई फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।

‘मैले हावाबाट बिजुली निकाल्ने भन्दा केही मान्छेहरु हावादारी कुरा भयो भन्दै हिडे । मैले हाम्रा नदीहरुलाई आवागमनको बाटो बनाउनुपर्छ भन्दा बाल्टीमा कागजका पानीजहाज बनाएर खेलाएर हिडे,’ उनले भने, ‘अहिले यही सप्तकोशीमा स्टिमरहरुले ११ मिनेटमा भोजपुर पुर्याउँछ यही चतराबाट । चतराबाट ११ मिनेटमा भोजपुर पुर्याउँछ, ११ मिनेटमा ल्याइपुर्याउँछ, हामी त्यसको विकास गर्दैछौ । त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदैछौ र नदीको बाटो क्लियर गर्दैछौ ।’

उनले उत्साहित युवाहरुले सप्तकोशीमाजस्तै गण्डकी नदीमा पनि काम गरिरहेको भन्दै धन्यवाद समेत दिए ।

उनले भने, ‘हाम्रा उत्साही युवाहरुले जसरी यहाँ सप्तकोशीमा गरेका छन् त्यसैगरी गण्डकीमा गरिरहेका छन्, म धन्यवाद भन्न चाहन्छु ।’

किरात समुदायका अगुवाहरुले खुवालुङ फुटाउन लागेको भन्दै सोको संरक्षणका लागि अभियान चलाइरहेका बेला प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै खुवालुङ फुटाउन लागेको बताएका हुन् ।

किरातीहरुको आस्था र शक्तिको केन्द्र मानिने खुवालुङबारे प्रधानमन्त्री ओलीबाट यस किसिमको अभिव्यक्ति आउनु स्वभाविक हो भने किरात समुदायका लागि गम्भीर विषय हो ।

सप्तकोशीको जेटबोट

खुवालुङ अरुण तमोर र दुधकोशीको संगमस्थल त्रिवेणीघाटमा रहेको छ ।

उदयपुर, भोजपुर र धनकुटा जिल्लाको सिमानामा पर्ने खुवालुङलाई कुनै पनि हालतमा फुटाउन वा मास्न नदिने किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here