फाइल तस्बिर

नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड सिद्धिने बाटोमा लागिसकेकाेले अब उनलाई वैद्य, डाक्टर र झाँक्री कसैले पनि बचाउन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको भए पनि अब झाक्रीले पनि उनलाई बचाउन नसक्ने बताए ।

‘प्रचण्डले पहिले वैद्यलाई साथ लिनुभयो, फेरि डाक्टरलाई छान्नुभयो, अहिले झाँक्री लिनुभएको छ । त्यसले उहाँलाई बचाउन सक्दैन,’ उनले भने, ‘सिद्धिइसकेको प्रचण्डलाई ल्याएर जुरो हालिदिएको थिएँ, सिङ लामा भएपछि उहाँमा अहंकार चढ्यो, हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । उहाँको नियति असफलता बाहेक केही होइन ।’

उनले प्रचण्डलाई अझै पनि फर्किन चाहे फर्केर आएर जनताको भीडमा मिसिन आग्रह गर्दै भने, ‘प्रचण्ड खिइने बाटो, सिद्धिने बाटोमा मिसिनुभयो, भीरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड समूहको बन्द र अवरोधले सरकारकाे विकासकाे काम नराेकिने प्रष्ट पारे ।

‘नेपाल सिर्जनाको, खोज अनुसन्धानको मुहान हो, त्यसैले यो देशको समृद्धि सम्भव छ,’ उनले भने, ‘हिजो झुक्याएर हस्ताक्षर गराएकाहरु हस्ताक्षर फिर्ता गरेर मूल घरमा फर्किदै हुनुहुन्छ, फर्केर पार्टीमा आउनुस् स्वागत छ ।’

साे क्रममा उनले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here