२०७८ सालमा सञ्चालन हुने नेपालकाे १२औं राष्ट्रिय जनगणना नजिकिँदै गर्दा किरात राई यायोक्खाले जनगणना सम्बन्धी अभियान तीव्र बनाएकाे छ ।

यायोक्खाकाे केन्द्रीय समितिले शनिबार काठमाडाैंकाे काेटेश्वरस्थित केन्द्रीय कार्यालयमा जनगणना सम्बन्धी पोष्टर सार्वजनिक गरेकाे छ । साथै शनिबारदेखि नै पाेस्टर तथा पर्चा टाँस्ने र वितरण गर्ने काम पनि थालेकाे छ ।

यायोक्खाले जनगणनामा जातिको महलमा राई, मातृभाषा र पूर्खाकाे भाषाको महलमा थरगत भाषा, दोस्रो भाषाको महलमा राई समुदायकै कुनै भाषा र धर्मको महलमा किरात लेखाउने अभियान चलाउँदै आएको छ ।

यायाेक्खाका महासचिव जनक राईले हाल जनगणना सम्बन्धी ५० हजार थान पाेस्टर र १ लाख पर्चा प्रकाशन गरिएकाे बताए ।

यायाेक्खाका अध्यक्ष दिवस राईले पाेस्टर तथा पर्चा वितरण गर्ने र जनगणना सम्बन्धी अभियानमा अब हजाराै कार्यकर्ता सहभागी हुने बताए ।

उनले विदेशमा रहेका समुदायका नेता तथा कार्यकर्ताहरुलाई समेत समाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरु मार्फत अभियानमा सघाउन अनुरोध गरे ।

शनिबार यायोक्खाका पूर्व केन्द्रीय उपाध्यक्ष चन्द्रविक्रम राई, दुर्गा कोयु राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, यायाेक्खा बेलायतका उपाध्यक्ष योगेश कोयु राई, यायाेक्खा कुबेतका उपाध्यक्ष उमेश राई लगायतबाट पोष्टर टाँसेर अभियानकाे सुरुवात गरिएकाे हाे ।

यायोक्खाले हाल राष्ट्रिय जनगणनाकै लागि विभिन्न जिल्ला, नगर र गाउँहरुमा छुट्टै समितिहरु गठन गर्नुका साथै जनगणना सम्बन्धी भिडियो, अडियो, भित्तेलेखन लगायत प्रचार कार्य गर्दै आएको छ ।

यायोक्खाकाे मुखपत्र निप्सुङशअे ३८औं अंक जनगणना विशेषाङ्ककाे रुपमा हाल प्रकाशनको अन्तिम तयारीमा रहेकाे यायाेक्खाका सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here