मिलुङ झरना

आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने क्रम नरोकिएकोमा याक्थुङ लिम्बु अभियन्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

आफ्नो आदिम ठाउँहरूको नाम राजनीतिक एवम् बाह्य सााँस्कृतिक प्रभावका कारण दिनप्रतिदिन तोडमोड हुँदै गएको समेत उनीहरूको गुनासो छ ।

पछिल्लो समय अप्रभंश गरिएका स्थानहरूको नाम पुरानै मौलिक अवस्थामा फर्काउने गरी आन्दोलन उठिरहे पनि अझ व्यापक तहमा लैजानुपर्ने धारणा अभियन्ताहरूले अगाडि सारेका छन् ।

संयुक्त अधिराज्य अमेरिकाबाट सञ्चालित ग्लोबल नेटवर्कको साप्ताहिक संवादमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै लिम्बु भाषा विकास संस्था(लिल्डा)का अध्यक्ष दिलेन्द्र कुरुम्वाङले आन्तरिक र बाह्य दुवै कारणले मौलिक स्थानीय नाममा परिवर्तन आएको कारण बताए ।

पान्थर जिल्लामा गरिएको नमुना अध्ययन र खोजको परिणामको सार प्रस्तुत गर्दै उनले भने, ‘गैर याक्थुङ लिम्बु समाजको प्रवेश, राजनीतिक दर्शन, सञ्चार जगत र स्थानीय सरकारको रबैयाका कारण अप्रभंश हुने क्रम जारी छ । नाम बिगार्नमा शैक्षिक संस्था र तिनका पाठ्यक्रम पनि दोषी छन् ।’

जिल्लाको सात गाउँपालिका र एक नगरपालिकामा आफूले क्षेत्रगत अध्ययन गर्दा करिब १५१ भन्दा बढी आदिवासी याक्थुङ लिम्बुको पहिचानसँग सम्बन्धित स्थानहरूको नाम फेरबदल गरिएको तथ्य उजागर भएको बताए ।

‘शाषक समुदायको असहिष्णु अतिक्रमणकारी प्रवृत्ति र राज्यको औपनिवेशिक नीति कारक तत्व हुन् । आन्तरिक रूपमा भाषिक साँस्कृतिक अपशरण पनि कारण हो,’ कुरुम्वाङले भने ।

कार्यपत्र उपर टिप्पणी गर्दै भाषाविद् येहाङ लाओतीले फरक समुदायका अधिकारीहरूले उच्चारण गर्न नजान्दा र सरकारी दस्तावेज श्रेस्ताहरूमा त्रुटीपूर्ण विवरण राख्दा समस्या उत्पन्न भएको बताए ।

लाओतीले लिम्बुवान क्षेत्रका धेरै ठाउँहरूमा अर्थ नै मोडिने गरी नामहरू स्थापित भएको चर्चा गरे । त्यसैगरी, प्रा.डा. महेन्द्र लाओतीले प्राज्ञिक ढङ्गले पहिचानमा परेको सङ्कटबारे सबैलाई जानकारी दिनुपर्ने सुझाए ।

उनले स्थानीय राजनीतिमा प्रभाव पार्न पनि मौलिक स्वरूपमा नाम फर्काउने अभियान सहायक हुन सक्ने विचार व्यक्त गरे ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा लामो समय काम गरेका अभियन्ता राम मादेनले स्थान नाम परिवर्तनमा पाँच कुराहरूले फरक पार्नेमा जोड दिए ।

‘मुन्धुमी ऐतिहासिक स्थलको नाम यथावत राख्नुपर्छ । उत्पति स्थलसँग सम्बन्धित माङ्गेन्ना यक् र समाधिस्थलहरू संरक्षण गर्नुपर्छ,’ उनले थपे, ‘थरगत समूहहरूको खर्क चरण क्षेत्र पनि जोगाउन अग्रसर हुनुपर्छ ।’

आदिवासी बौद्धिक बहसका संयोजक डा. युवराज लिम्बुले भने पहिचानको राजनीतिले मौलिक नाम पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले मौलिक नामले रैथाने समुदायको इतिहास र बसोबासको समय पनि इङ्गित गर्ने उल्लेख गरे । यसैगरी, डा. छविलाल छिडीले वैज्ञानिक नामसहित स्थानीय नामले मात्रै कुनै पनि भूगोलको पूर्ण परिचयन दिने राय राखे ।

मिचिगन विश्वविद्यालयका प्रा.डा. मारोहाङ खवाहाङ लिम्बुले सहजीकरण गरेको संवादको ३१ औँ श्रङ्खलामा व्यक्त विचारहरूको संश्लेषण गर्दै उपप्राध्यापक अमर तुम्याहाङले साँस्कृतिक अतिक्रमणले अप्रभंश भएका नाम सच्याउन सरोकारवाला समुदाय आन्दोलित हुनुपर्ने बताए ।

उनले संयुक्त राष्ट्रसंघले भूगोलको स्थानीय नाम कायम गर्न मूलवासीका नाममा घोषणापत्र समेत जारी गरेको तत्थ्य अगाडि सारे ।

संवादमा युमा साम्यो महासभाका अन्तर्राष्ट्रिय समन्वय समिति महासचिव धनराज साम्याङ्खाम, लिम्बुवान नागरिक समाज यूकेका पूर्व अध्यक्ष नरेन्द्र माबोहाङ, युवा मानवशास्त्री दिलविक्रम आङ्देम्बे, लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता अमित याक्थुङ्वा मिहाङ, मुक्कुमलुङ सङ्घर्ष समितिका ज्ञानु चरप्पे, लिम्बुवान अध्ययन केन्द्रका विष्णुदत्त आङबुहाङ लगायतले बोलेका थिए ।

1 COMMENT

  1. होसियार !!! आधिबासी नेताहरु, समाजहरु र सस्थाहरु ले आफनो पहिचान र सम्प्रदाहरु को आँफै सुरकछा र सङ्रक्छन गर्नु होइन भने नेपालको बाहुन र छेत्री (ब्राहामनबादीहरु र ब्राहामनबादी सरकार) ले जताततै बिकासको जुट्टा नाम्लिदै प्राचिन नामहरु बदली गरेर ब्राहामणिक नामकरन गर्ने र कमअसल देखावटी नयाँ भौतिक पूर्वधार खडा गरेर प्राचिन आदिबासी सम्पदाहरुको बिनास गर्दै छन।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here