पूर्वी नेपालको सुन्दर शहर धरानको शिरमा बुढासुब्बा मन्दिर रहेको छ । प्रेमी, प्रेमिकाहरु आफ्नो प्रेम सफल बनोस भन्ने कामना गर्न सो मन्दिरमा गई धागोको डोरो मन्दिरमा बाँध्ने र मन्दिरकै आँगनमा बाँसको झ्याङ छ । तिनै बाँसहरुमा प्रेमप्रणय लेख्ने गरेका छन् । सो झ्याङमा टुसाउने बाँसको टुप्पो हुँदैन र छैन । त्यसको कारण हो बाँसले बनेको शिकारी बुढासुब्बाको धनुषकाँड राखिएको ठाँउ अर्थात धनुष काँड नै पलाएर टुप्पो नहुने बाँस उम्रिएको विश्वास गरिन्छ । टुप्पो नभएको बाँस अन्यत्र कतै पाइँदैन र यसलाई दैविक शक्तिकै रुपमा लिने गरिन्छ । यो मन्दिर र धनुषकाँडको बारेमा विभिन्न किम्बदन्तिहरु छन् । तर यसको इतिहास चाहिँ यस्तो छ ।

हालको छथर जोरपाटी १ हात्तिखर्कमा इल्लिहाँङ खेवाहाँङ र मङयाक थरकी श्रीमतीको कोखबाट जेष्ठ सुपुत्रको रुपमा भर्तवीर खेवाहाँङ जन्मिए । उनको जन्म वि.सं १८१२ ताका भएको र उनी शिकार खेल्नमा निपूर्ण र दैवशक्ति प्राप्त ब्यक्ति थिए । उनको बाँसबाट बनेका लामालामा धनुषकाँडहरु थिए । धनुषकाँड लिएर भतिज जाहानपिर, चेली पद्मावति र गाँउकै छिमेकी सहयोगीद्धय डुक्सिङ र बाक्सिङ रानामगरलाई लिएर हात्तिखर्क र सान्ने बीचमा रहेको ओख्रेखोला हुँदै, माङमाया दोभान हुँदै अरुण पुगेर कोकाखोला हुँदै धरानको विजयपुरमा शिकार खेल्न पुगे । भोलिपल्ट बिहान भतिज जहानपिरलाई लिएर भर्तवीर शिकार खेल्न निस्किए । उनले हानेको धनुषकाँडले शिकार नमरेको कारण आश्र्चयचकित हुँदै उनले केहीबेरमा कलियुगको अन्त हुनै लागेको पत्ता पाए । त्यसपछि उनले भने अब म यसै ठाँउमा मेरो शिकारी आत्मा र धनुषकाँड राखेर अन्त्य हुनेछु । भतिज तिमी घर जाँउ भन्दै उनी त्यही अल्पिए । भर्तवीर अल्पिएको ठाँउ नै अहिलेको बुढासुब्बा मन्दिर हो अर्थात कलियुग अन्तको जनाउ स्वरुपको मन्दिर हो । भर्तवीरलाई बुढासुब्बा पनि भनिन्थ्यो।

बुढासुब्बाले चलाउने एकाध धनुषकाँड र केही मटेङ्ग्रा अहिले पनि उनको छैठौ पुस्ते सन्तानको घर हात्तिखर्कमा सुरक्षित छ । अल्पिएका बुढासुब्बाको नाममा अहिले पनि वंशको उधौली, उभौलीमा पुजा गर्ने चलन छ । बुढासुब्बा सँगै गएका डुक्सिङ र बाक्सिङ मगरको सन्तान अहिले पनि धरानको बुढासुब्बा मन्दिरमा पुजारी छन् । हालका पुजारीद्धय मगरको पूख्र्यौली थात्थलो हात्तिखर्कको मगर गाँउ र सान्नेको रमिते डाँडा हो र त्यहा उनीहरुको दाजुभाई आफन्तहरु छन् । बुढासुब्बाको जन्मघर नजिकै हात्तिखर्कैमा पनि अर्को बुढासुब्बाको मन्दिर रहेको छ । पछिल्लो समय सम्म धरानको बुढासुब्बा मन्दिरभित्र रहेको ठूलो ढिस्कोमा पंक्षी अर्थात कुखुराको भालेको भोग चढाइँदैनथ्याे, किनकी बुढासुब्बा खेवा थिए र खेवा थरीले दुईखुट्टे पंक्षी खाँदैनन् । मन्दिरभित्र रहेको दुई ढिस्कामध्ये बुढासुब्बाको मूर्तिको रुपमा रहेको ढिस्कोमा सुगुरको मात्र बलि चढाइन्छ भने सहयोगी डुक्सिङ र बाक्सिङको रुपमा रहेको अर्को ढिस्कोमा भने भाले चढाइन्छ । अझै पनि ठूलो ढिस्कोमा पंक्षी नचढाउनु शुभ हुने मानिन्छ तर आजकल दुवै ढिस्कोमा चढाउन थालिएको पाइन्छ ।

आफ्नो माइती बुढासुब्बा अल्पिएको कारण विछिप्त भई चेली पद्मावती पनि नजिकै अल्पिइन र उक्त ठाँउमा गौरी मन्दिर बनाइएको पाइन्छ । एफ ह्यामिल्टनले उनको ’एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ पुस्तकमा लेखेका छन्ः विचित्र चन्द्र रायको छोरा हाँङ बुद्धिकर्ण राय खेवाहाङलाई प्रतापसिंह शाहले आठ बर्षअघि कामदत्त सेनको हत्या गरेको अभियोगमा सन् १७७७ मा विजयपुरको एक रुखमा बाँधी दण्ड दिएका थिए । उनको प्राण जान तिन दिन लागेको थियो । उनको प्राण गएको ठाँउमै समाधि गरियो र सोही ठाँउलाई नै बुढासुब्बा भनियो । ह्यामिल्टनले लेखेको भन्दा ’मानव उत्पति र खेवा वंश २०५५’ नामक पुस्तकमा उल्लेख गरिएको दैविक शक्तिका भर्तवीर अल्पिएको इतिहास चाहिँ बढी नजिक देखिन्छ । बाँसको टुप्पा नआउनुमा जसरी दैवी शक्तिको रुपमा मानिन्छ, त्यसरी नै दैवी शक्ति भएका भर्तवीर अल्पिएको ठाउँलाई पवित्र र शक्तिपीठको रुपमा मानिन्छ । टुप्पा नभएको बाँसझ्याङमा चराचुरुङ्गी नबस्नु र त्यहाको जंगलमा बन्यन्तुहरु नहुनुलाई पनि बुढासुब्बाको शक्तिको रुपमा लिइन्छ ।

धरान शहरसँगै जोडिएको सुन्दर र रमणीय डाँडामा रहेको यस मन्दिरमा धरान घुम्न आउने यात्रुहरु दर्शन गर्न अनिवार्य पुगेकै हुन्छन् । अर्थात बुढासुब्बा मन्दिर धरानको मुख्य पनि आकर्षण पनि हो । पूर्वी नेपालको शक्तिपीठहरुमध्ये एक महत्वपूर्ण मानिने बुढासुब्बालाई भाकल गरेर धेरै टाढाटाढाबाट तिर्थालुहरु आउने गर्दछन् र बुढासुब्बाको पुजा, दर्शन गरेको खण्डमा मनोकामना पुरा हुँदै आएको विश्वास गरिन्छ । स्रोतः मानव उत्पति र खेवा वंश २०५५ वंशावली पुस्तकबाट

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here