नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले केपी ओलीलाई तह लाउन नसकेको बताएका छन् ।

संसद् विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको बृहत विरोध सभामा अध्यक्ष प्रचण्डले राजा महाराजाहरुलाई फाले पनि प्रतिगामी केपी ओलीलाई तह लाउन नसकेको बताएका हुन् ।

उनले ओलीप्रति उदार रुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी रहेको भन्दै आत्माआलोचना समेत गरे ।

उनले भने, ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौ । राजा महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौ । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुरा गर्न सकेनौ ।’

सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्माआलोचित हुन चाहन्छु । आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो ।

उनले कपी ओलीलाई सम्झाई बुझाई गरेर अगाडि जान सकिन्छ कि भनेर आफूहरुले सोचेको तर त्यस तरिकाले ओली प्रवृत्तिलाई ठीक गर्न नसकिनेमा निष्कर्षमा पुगेको बताए ।

‘मैले सोचेको थिएँ, पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ । सुशासन र पारदर्शिताको नयाँ युग सुरु हुनेछ । सबै उत्पीडितले राहत पाउनेछन् । हामीले घोषणापत्र जस्तै गर्न नखोजेको होइन । तर सुरुदेखि आभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने,’ विरोध सभामा प्रचण्डले भने, ‘सत्ता प्राप्तपछि सहमति अनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्धमा बहस गरेका थियौ । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लाउन सकेनौ । केपीलाई सम्झाई बुझाई गरेर उद्धारतापूर्वक उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौ । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई किठ गर्न सकिने रहेनछ ।’

उनले सुरुदेखि नै केपी ओलीको गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्न नसकिएकोमा आत्माआलोचना गरे ।

‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्माआलोचित हुन चाहन्छु । आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो । अब केपी ओलीलाई मात्रै दोष दिएर चोखै हुँदैनौ हामी,’ उनले भने, ‘अब म जनतालाई साक्षी राखेर प्रतिज्ञा गर्छु कि अब केपी ओली प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल गर्ने छैनौ । त्यसो गरेर फाइदा हुँदो रहेनछ । त्यतिबेलै संघर्ष गरेको भए बेलैमा नांगिन्थे कि भन्ने फर्केर हेर्दा लाग्छ । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन बाध्य भयौ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here