तस्बिरः अनलाइनखबर

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नै नभएकोले चुनाव हुन नसक्ने बताएका हुन् । प्रधानमन्त्री ओलीको नियत अहिलेको व्यवस्था भत्काउने मात्र रहेको उनले बताए ।

शुक्रबार प्रेस नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो । ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वकांक्षाको छ ।’

नेता भट्टराईले प्रधानमन्त्री ओलीले सबै चिजको सेटिङ मिलाएरै संसद् भंग गरेको दाबी गरे ।

‘सबै कुरा सेटिङ भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा सेटिङ भएको छ,’ उनले भने, ‘अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न । तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन गरिएको छ ।’

उनले देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा रहेको भन्दै अब सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।

सो क्रममा उनले सर्वोच्च अदालतले पनि संसद् विघटनको गलत कदम नसच्याए सबै दलहरु मिलेर तेस्रो जनआन्दोलनको बलमा संसद् पुनःस्थापना गर्नुपर्ने बताए ।

तर, अहिलेका लागि संसद् विघटनको गल्ती सच्याउने सजिलो बाटो अदालत नै भएको उनले प्रष्ट पारे ।

उनले भने, ‘संसद् विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो । नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ, त्यसले मात्र संसद पुनःस्थापना गर्न सक्छ ।’

उनले ओली समूह र कमल थापाको पार्टीबाहेक सबै दलहरु एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने बताए ।

पत्रकारहरुको जिज्ञासामा उनले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको प्रष्ट पारे । उनले भने, ‘म प्रधानमन्त्रीको आकांक्षी होइन, मलाई त्यसो भनियो भने घोर अन्याय हुन्छ ।’

1 COMMENT

  1. काेही पनि बाहुन प्रधानमन्त्री नहाेस् बाबुराम भट्टराई मात्र हाेइन । जे जति बिगारेकाे छ बाहुन नेतृत्वले नै बिगारेकाे छ लाेकतन्त्र हाेस् या राजतन्त्र ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here