File photo

विजय चाम्लिङ

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा आगो लगाउने काम गरेको बताएका छन् ।

संसद विघटनको विरोधमा जसपाले आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको विरोधसभामा नेता राईले यस्तो टिप्पणी गरेका हुन् ।

आफ्नाे पार्टी र संसदीय दलभित्र बहुमत गुमाइसकेको प्रधानमन्त्री ओलीले जनमतका अगाडि आफूलाई परीक्षण गर्न वा बहुमतसिद्ध प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्न संसद बोलाउनुपर्नेमा त्यसो नगरी उनले संसद नै भंग गरेर सारा देशमा आगो लगाउने काम गरेको नेता राईले बताए ।

संसदमा आफूले विश्वास गुमाइसकेको कुरा उठ्ने भएकोले प्रधानमन्त्री ओलीले आफ्नाे सत्ताको कुर्सी जोगाउन अहंकार प्रस्तुत गर्दै संसद नै भंग गरिदिएको नेता राईले बताए ।

‘संसदमा सायद भ्रष्टाचारको कुरा उठ्थ्यो, सायद तपाईँले विश्वास गुमाउनुभएको कुरा उठ्थ्यो,’ नेता राईले भने, ‘एउटा लोकतान्त्रिक भावना भएको प्रधानमन्त्रीले संसदलाई सामना गर्न सक्नुपथ्र्यो । तर, उहाँले आज संसद भंग गर्नुभएकोछ, असंवैधानिक काम गर्नुभएको छ, प्रतिगामी काम गर्नुभएको छ, जनद्रोही काम गर्नुभएको छ, सारा देशमा आगो लगाउने काम गर्नुभएको छ ।’

आज मुलुकमा विवाहमा बजाइने पञ्चेबाजा मलामीमा बजेको स्थिति छ । एउटा प्रयोजनका लागि व्यवस्था गरिएको संविधानको धारालाई अर्कै प्रयोजनमा प्रयोग गरिएको छ ।

प्रधानमन्त्री ओलीले २०१७ सालमा राजा महेन्द्र शाहले भन्दा बढी प्रतिगामी कदम चालेको नेता राईले बताए ।

०१७ सालमा राजा महेन्द्रले संविधानअनुसार नै संसद विघटन गरेको भए पनि अहिले प्रधानमन्त्री ओलीले एउटा प्रयोजनका लागि राखिएको संविधानको धारालाई अर्कै प्रयोजनमा प्रयोग गरी ०१७ सालको भन्दा पनि असंवैधानिक, खराब र निन्दनीय कदम चालेको नेता राईले बताए ।

‘०१७ सालमा पनि एकपटक संसद विघटन गरिएको थियो, त्यतिखेर संविधानको धारा ५५ ले गरेको व्यवस्था अनुसार नै राजा महेन्द्रले संसद भंग गरेका थिए । तर यसपटकको संसद विघटन गर्ने दुष्प्रयास ०१७ सालको भन्दा पनि खराब र निन्दनीय छ,’ नेता राईले भने, ‘आज मुलुकमा विवाहमा बजाइने पञ्चेबाजा मलामीमा बजेको स्थिति छ । एउटा प्रयोजनका लागि व्यवस्था गरिएको संविधानको धारालाई अर्कै प्रयोजनमा प्रयोग गरिएको छ । संविधानको जुनजुन धाराहरुलाई उल्लेख गरेर राष्ट्रपतिजीले संसद विघटनको घोषणा गर्नुभएको छ वा मन्त्रीपरिषद्ले सिफारिस गरेको छ, ती धाराहरु अर्कै प्रयोजनका लागि हुन् ।’

नेता राईले चुनावपछि सरकार बन्न नसकेको अवस्थामा, राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरे पनि संसदमा बहुमत प्राप्त गर्न नसकेको अवस्थामा र त्यसपछि अरु कुनै दललाई प्रधानमन्त्री बनाउनका लागि बहुमतसिद्ध गर्ने मौका दिँदा पनि बहुमत प्राप्त हुन नसकेको अवस्थामा प्रयोग हुने धारालाई प्रधानमन्त्री ओलीले प्रयोग गरी सारा देशमा आगो लगाउने काम गरेको नेता राईले बताए ।

विरोधसभामा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here