नीति र सिन्द्धान्तमा कम्युनिष्ट पार्टी सर्वहारा तथा निम्न वर्गको मुक्तिका लागि लड्ने भए पनि वर्तमान पार्टी नेतृत्व ठीक उल्टो गतिमा हिडिरहेको भन्दै उदयपुरका नेकपाका नेता गोकुल चाम्लिङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

चाम्लिङले आज एक वक्तव्य जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले नेकपा अहिले समाजवादी गणतन्त्रको सट्टा सामन्तवादी गणतन्त्र कार्यान्वयन गर्ने तथा संघीयता, समानुपातिक समावेशी, आर्थिक रुपान्तरण तथा राष्ट्रिय स्वाधिनता र जनजीविकाका सवालमा उल्टो यात्रा गरिरहेको बताएका छन् ।

‘हरेक नागरिकले राजनीतिबाट अपेक्षा गरेको विषय हो राष्ट्रिय स्वाधिनताको रक्षा, आर्थिक सामाजिक रुपान्तरण, समानुपातिक समावेशीको कार्यान्वयन, नागरिकका बिचमा समानता र जनजीविकाको सहजता,’ वक्तव्यमा भनिएको छ, ‘तर वर्तमान राजनीतिले ठीक विपरीत गणतन्त्रलाई समाजवादी गणतन्त्र हैन सामन्तवादी गणतन्त्रको रुपमा जबर्जस्त कार्यान्वयन गर्न कोसिस गरिरहेको छ भने संघीयता, समावेशिता, सामाजिक आर्थिक रुपान्तरण र नागरिकको जनजीविकाको सवालमा उल्टो यात्रा हिडिरहेको छ ।’

उनले नेपालमा ७० प्रतिशत जनता निम्न वर्गीय, २० प्रतिशत मध्यम वर्गीय र १० प्रतिशत उच्च वर्गीय भए पनि पार्टी नेतृत्व मध्यम र उच्च वर्गकै सेवामा तल्लिन रहेको र राष्ट्रिय स्वाधिनताको सवालमा पनि आत्मसमर्पण प्रवृत्ति अवलम्बन गरिरहेको आरोप लगाएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘आफू श्रमजीवि नागरिक भएको हैसियतले वर्तमान राजनीतिको बागडोर सम्हालिरहेको पार्टीमा योगदान गर्नु भनेको ७० प्रतिशत श्रम गरेर खाने नागरिकहरुमाथि शोषणको डन्डा चलाउने कार्यमा सहयोग पुर्याउनु र आफै समेत शोषित हुने आफ्नाे खुट्टामा आफै बञ्चरो हान्ने प्रवृत्तिको पुनरावृत्ति गर्ने कार्य गर्नुभएको ठहर गर्दै आजबाट नेकपा परित्याग गरेको घोषणा गर्दछु ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here