प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेकाे बताएका छन् ।

४०औं विश्व खाद्य दिवसको अवसरमा प्रधानमन्त्री ओली आज एक शुभकामना सन्देश जारी गरी नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्ने अभियानलाई सार्थक बनाउन सरकार लागिपरेको बताएका हुन् ।

‘नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ,’ सन्देशमा उनले भनेका छन्, ‘उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ।’

प्रधानमन्त्री ओलीले राज्यले लोककल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानलाई अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व भएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने म ठान्दछु।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here