किरात राई यायोक्खाले प्रथम किरात राजा यलम्बरको प्रचलनमा रहेको भन्दा भिन्न अनुहार भएको नयाँ तस्बिर सार्वजनिक गरेको छ ।

यायोक्खाले सोमबार काठमाडौंको कोटेश्वरस्थित यायोक्खा कार्यालयमा यलम्बरको नयाँ तस्बिर सार्वजनिक गरेको हो ।

यो तस्बिर कलाकार टेकबिर मुखियाले कोरेका हुन् । नयाँ तस्बिरमा यलम्बर युवा अवस्थाको देखिन्छन् ।

यायोक्खाले उप्रान्त आधिकारिक रुपमा यही तस्बिर प्रयोगमा ल्याउने भएको छ । यसअघि यलम्बरको अधवैशे उमेरको तस्बिर प्रयोग गरिन्थ्यो ।

पहिले प्रयाेग गरिने तस्बिर

नेपालमा ३२ पुस्ता किरात राजाहरुले कूल १९ सय ६४ वर्ष शासन गरेको इतिहास छ । किरातकाल नेपालको इतिहासको एक महत्वपूर्ण काल थियो ।

नेपाल इतिहासमा गोपालवंश, महिष्पालवंश, किरातवंश, लिच्छबीवंश, मल्लवंश, शाहवंश हुँदै हाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको छ ।

नेपालका किरात समुदायले यलम्बरले शासन सुरु गरेको कालखण्डलाई आधार मानेर किरात येले संवत् प्रयोग गर्दै आएका छन् ।

हाल सन् २०२० मा किरात येले संवत् ५०८० मानिएको छ । तर इतिहासविद्हरुले हालसम्म गरेको अध्ययन अनुसन्धानबाट येले संवत् ३७९९ हुने देखिन्छ । तर, यायोक्खा लगायत किरातजन्य संस्थाले ५०८० नै प्रयोग गरिरहेका छन् ।

नेपालमा पछिल्ला वर्ष हरेक समुदायमा पहिचान र अधिकारको चेतना विस्तार भएसँगै किरात समुदायले पनि ठाउँठाउँमा राजा यलम्बरको प्रतिमा निर्माण गरिरहेका छन् ।

तर, यलम्बरको प्रतिमाहरु पनि मुर्तिकार तथा कलाकार अनुसार भिन्नभिन्न देखिने गरेको छ । यलम्बरको तस्बिर र प्रतिमा एकरुपता ल्याई सोहीलाई सबैले प्रयोग गर्नुपर्ने आवाज पनि उठिरहेको छ ।

2 COMMENTS

  1. किरात राईहरुले मान्दै आएको ‘येले संवत् ५०८०’ कुनै पनि ग्रन्थकारको बिवरणमा मिलेको देखिँदैन । ३७९९ चाँहि यो सम्वत् घटाउनु पर्छ भन्नेहरुको तर्क हो तर यो तर्क सीरपुछार कतै मिलेको देखिँदैन । धेरै ग्रन्थकारहरुले उल्लेख गरेको वर्णनहरुको आधारमा यो सम्वत् ५०८० भन्दा धेरै पहिलेको देखिन्छ । यसबारे सम्बन्धित संस्थाले गहन् अध्ययन् गरेर नयाँ सम्वत् कायम् गर्नु पर्ने देखिन्छ ।

  2. रतन र टेकबीर मुखियाले बनाएको स्केचमा पछिल्लो परिमार्जित डिजिटल तस्बीर देव कोइमीले बनाएको हो जुन हिजो सार्वजानिक भएको हो । सही विवरण समाचारमा आएन छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here