लक्ष्मी बर्देवा र जीवन भट्टराई लोकप्रिय कलाकार हुन् । दुई जनाको अभिनय रहेको म्युजिक भिडियोहरु दर्शकले मन पराएका छन् । जीवन र लक्ष्मीले डेढ वर्षअघि अन्तरजातीय विवाह गरेका थिए ।

दर्शकले म्युजिक भिडियाेमा उनीहरुको जोडी उनीहरुको अभिनय मन पराए, तर समाज र घरपरिवारले उनीहरुको विवाह मन पराएको छैन ।

जातीय विभेद र छुवाछुत न्यूनीकरणका लागि प्राज्ञिक बहस गर्ने उदेश्यले निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा यो जोडीले समाजसँग गुनासो पोखे ।

नायक राजेश हमालले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा जीवन भट्टराईले आफूले अन्तरजातीय विवाह गरेकै कारण आफ्नाे घर परिवारसँगको सम्बन्ध बिग्रिएको बताए ।

विवाह गरिसकेपछि यो जोडीले केही अन्तर्वार्ता दिएका छन् ।  तर जातीय विभेद र पारिवारिक सम्बन्धका बारेमा उनीहरु खुलेका थिएनन् ।

अन्तर्वार्ताहरु पनि उनीहरुको कला र जीवनका अन्य पाटोमा मात्र केन्द्रित थिए ।  जातको प्रश्नमा भने यो जोडी खुल्न बाध्य भए ।

रेडियो नाटकको काम गर्दा दुई जनाबिच पहिलो पटक भेट भयो । एउटै क्षेत्रमा काम गर्ने हुँदा बारबार भेटघाट हुँदा दुई जनाबिच प्रेम सम्बन्ध विकास हुँदै गयो ।

लक्ष्मी कथित तल्लो जातको भन्ने जीवनलाई थाहै थिएन । तर त्यसबेलासम्म उनी प्रेममा परिसकेका थिए ।

‘सुरुमा ऊ यो कास्टको हो भन्ने नै थाहा भएन । थाहा पाएपछि हाम्रो पछिसम्म जाँदैन कि भन्ने मलाई लाग्यो,’ जीवनले भने, ‘घरबाट यो कुरा मान्नुहुन्न भन्ने मलाई पहिल्यै थाहा थियो ।’

लक्ष्मीलाई पनि आफूहरु दुई जना राम्रो साथी बने पनि भोलिका दिनमा विवाह नै हुन्छ भन्ने लागेको थिएनछ ।

लक्ष्मीले भनिन्, ‘उहाँलाई थाहै रैनछ । थर त थाहा थियो तर के जातको हो भन्ने थाहा रैनछ । तर म विहा चाहिँ हँुदैन भन्ने कुरामा म ढुक्कै थिए ।’

यति हुँदाहुँदै पनि पछि उनीहरुले विवाह गरे । र यो कुरा जीवनले घरमा सुनाए । लक्ष्मीसित विवाह गरेपछि उनको घर परिवारसँग आउजाउ बोलचाल नै बन्द भयो ।

विवाह गर्नुअघि नै विवाह गर्ने तयारीका साथ दुई जना सँगै बस्न थालेका थिए । यो कुरा जीवनले घरमा सुनाए ।

‘सुरु सुरुमा त पत्याउनु नै भएन,’ आफूहरुले विवाह गरेको कुरा घरमा सुनाएको स्मरण गर्दै जीवनले भने, ‘हामी सँगै बस्नै थालेको हो भनेपछि त घर जाने वातावरण पनि बनेन ।’

अहिलेसम्म पनि उनको परिवारसँग बोलचाल भएको छैन । तर एकदिन घर परिवारले आफूहरुको विवाह स्वीकार गर्नेमा उनी विश्वस्त छन् ।

उनी भन्छन्, ‘विस्तारै सहज हुँदै जान्छ जस्तो लाग्छ । मैले कुरा गर्ने प्रयास पनि गरिरहेको छु । कुनै न कुनै दिन स्वीकारर्नुहुन्छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here