जनकपुरको रेलवे प्लेटफर्ममा असोज २ गते सर्वसाधारणको भीड थियो । भारतबाट आउँदै गरेको रेल हेर्न उनीहरू बिहान सबेरैदेखि जम्मा भएका थिए । दिउँसो दुइटा रेल हर्न बजाउँदै आउँदा सबै दंग परे । ताली बजाएर स्वागत गरे । रेलसँग फोटो खिच्न तँछाडमछाड चल्यो । अब नेपालको आफ्नै रेल नियमित चल्ने भयो भनेर मुलुकभर खुसी सञ्चार भयो । तर रेल त्यस दिनदेखि नै थन्किए ।

तामझामसाथ ल्याइएका रेल नेपाल–भारत सीमा क्षेत्रको इनर्वा स्टेसनमा पालले ढाकेर राखिएका छन् । रेल कहिलेदेखि चल्छन् भन्ने टुंगो पनि छैन । कानुन र कर्मचारी नहुँदा थन्क्याउनुपरेको नेपाल रेलवे कम्पनीले जनाएको छ । ‘कोभिड–१९ को जोखिम पनि छ,’ कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भने ।

उनले नेपाली र भारतीय कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको र एक महिनाभित्र कर्मचारी टुंगो लगाइसक्ने जानकारी दिए । कानुन र कर्मचारीको व्यवस्था भए पनि कोभिड–१९ को जोखिम कायमै रहे रेल सञ्चालन मिति पछि सर्न सक्ने भट्टराईले बताए ।

रेलवे कम्पनीले गत फागुन ९ गते नै करारमा नियुक्तिका लागि प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन खुलाएको थियो । १५ दिन समय दिएर विज्ञापन खुलाइएकामा नेपालबाट एक जनाको पनि आवेदन परेन ।

त्यसपछि भारतबाट कर्मचारी ल्याउन लागिएको छ । कर्मचारी बेलैमा व्यवस्था गरिएको भए अहिले स्वास्थ्य सावधानी अपनाएर रेल चलाउन सकिन्थ्यो । कान्तिपुर दैनिक

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गरिदिनुहाेला ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here