नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमै पार्टी सदस्यता नवीकरण गर्नुपर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आइतबार बसेको संगठन विभागको बैठकले सदस्यले आफ्नो सदस्यता मंसिरभित्रमा नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको हो ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संगठन विभाग उपप्रमुख जनार्दन शर्माले मंसिरभित्रमा सदस्यता नवीकरणका साथै नयाँ सदस्यसम्बन्धी काम सक्ने निर्णय विभागले गरेको बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएपछि नेकपाको संगठित सदस्य आठ रहेको दाबी गरिन्छ । एमालेका ५ लाख र माओवादी केन्द्रका ३ लाख संगठित सदस्यता रहेको दाबी संगठन विभागको छ ।

आठ लाखमध्ये तत्कालीन एमालेका सदस्यहरूको सदस्यता अभिलेख रहेको र नियमित नवीकरण हुँदै आएको थियो । तर तत्कालीन माओवादीका सदस्यको अभिलेखका साथै नवीकरण विवरण दुरुस्त नभएकाले सदस्यता टुंगो लगाउन नेतृत्वलाई सकस भएको छ ।

मंसिरभित्रमा नेकपाको सदस्यता नवीकरणसँग यकिन सदस्यता विवरणसहितको अभिलेखसमेत तयार गरिने संगठन विभागले जनाएको छ । राजधानी दैनिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here