जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् ।

अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरी जनता समाजवादीका सांसद चौधरीसहितका थारु नेता कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट अत्यधिक मत पाएर विजयी भएका चौधरीलाई सरकारले २०७२ भदौ ७ गतेको टीकापुर घटनाको मुख्य दोषी मानेर मुद्दा चलाएर अदालतबाट फैसला अनुसार जेलमा राखिरहेको छ ।

थरुहट आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एक बालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो । जसमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको समेत मृत्यु भएको थियो ।

अध्यक्ष यादव र ठाकुरले जनआन्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलन र थरुहट आन्दोलनकै कारण राजनीतिक परिवर्तन भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।

तर अहिले पनि मधेस तथा थरुहट आन्दोलनमा सहभागी भएका कतिपय नेता कार्यकर्ताहरुलाई सरकारले मुद्दा चलाउने, उनीहरुको सम्पति रोक्का गर्ने र उनीहरुलाई थुनामा राख्ने काम जारी राखेको विज्ञप्तीमा उल्लेख छ ।

रेशम चौधरी लगायतलाई रिहाइ गर्नका लागि यसअघि पनि आदिवासी तथा थारु आन्दोलनका अगुवाहरुले पटकपटक सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here