–जुद्ध ढाक्रे

विषय प्रवेश

यो स्तम्भ किरात सभ्यता सम्बन्धी रहने छ । किरातहरुको उत्पति पृथ्वीको उत्पतिसँगै भएको मानिन्छ । चार नश्लहरु ककेसियन, नेग्रो, द्रबिड र मंगोलियन मानिएको छ । तर, यथार्थमा मंगोलियन होइन । यो किरात नश्ल हो । यसबारे अनुसन्धान नै भएन । मंगोलियन रहनको पछाडिको कारण मंगोलियाका चंगेस खानले युरोपलाई दुईचोटि आक्रमण गरेर तहस–नहस बनाइदिए । पछि इतिहास लेख्दा चंगेस खाँ को थिए भन्ने प्रश्न उठ्यो । त्यसपछि उनी मंगोलियाका सम्राट हुन् भनेर युरोपले अभिलेखिकरण गरेपछि मंगोलियन भन्ने शब्द प्रयोग हुन थाल्यो । त्यहीबाट मंगोलियन शब्दको प्रचलन भएको देखिन्छ । यथार्थमा त्यो सत्य देखिदैन । त्यो सत्यता संस्कृतमा लेखिएको किताब ‘हिमवत् खण्ड’बाट प्रमाणित हुन्छ । त्यस किताबले किरात भनेको हिमवत् क्षेत्रमा बसोबास गर्ने मानिसहरु भन्ने बुझाउँछ । हिमवत् खण्ड भन्ने क्षेत्र धेरै ठूलो छ । आजका नाक थेप्चे वा मंगोलियन भनेर चिनिने मानिसहरुको बसोबास जहाँसम्म रहेको छ त्यसै क्षेत्रलाई आदिमकालमा हिमवत् खण्ड वा किरात सभ्यताको क्षेत्र मानिन्थ्यो । यसबाट के प्रमाणित गर्न सकिन्छ भने किरात क्षेत्र धेरै ठूलो थियो । यस तथ्यका आधारमा इतिहासको कालखण्डमा पक्कै पनि धेरै किरातहरु थिए होलान् । किनभने यो सभ्यता हो । आजको मितिसम्म आफूलाई किरात हुँ भनेर दाबी गर्ने राई र सुब्बा लेख्ने लिम्बूहरु मात्रै नेपालमा रहेका छन् र उनीहरु कम्तिमा आफ्नाे थातथलो जोगाउने प्रयास गर्दैछन् ।

किरात उत्पतिको कथा

बाहिङ किरात मुन्धुम अनुसार बाहिङ किरातहरुको पहिलो मानव धरती र आकाशको संसर्गबाट जन्म भएको हो । पहिलो मानव महिला थिइन् । उनको नाम निनिरेङ्मा थियो । उनी उमेर अनुसार बढ्दै गइन् । १६ वर्षको उमेर पुगेपछि उनलाई रजश्वला भयो । उनलाई एक प्रकारको छटपटाहट भयो । उनी यताउति कुदिरहिन् । छटपटाहट रोकिएन । त्यसपछि उनी एउटा डाँडामा पुगिन् । त्यहाँ हावा चलिरहेको थियो । उनले हावा तापिन् । उनलाई शीतल भयो । त्यसपछि उनी गर्भिणी भइन् । उनले पनि महिला नै जन्माइन् । उनको नाम हो मरेङ्मा । मरेङ्मा पनि विस्तारै बढ्दै गइन् । जब उनको उमेर १६ वर्ष पुग्यो । उनले म कसरी जन्मिए आमा भनेर प्रश्न गरिन् । आमाले आफ्नाे सबै व्यहोरा छोरीलाई बताइन् । हावा तापेको, हावा तापेपछि शीतल महशुस गरेको, त्यसपछि गर्भिणी भएको वृतान्त छोरीलाई सुनाइन् । आमाको कुरा सुन्ने बित्तिकै मरेङ्मा हावा ताप्न डाँडामा पुगिन् । तर, हावा उसको नजिक आएन । मरेङ्माले फर्केर आएर आमालाई भनिन्– म पनि तपाईँजस्तै हावा ताप्न गएको थिए, मेरो छेउमा हावा चलेन र मैले हावा ताप्न पाइनँ ।’ छोरीको कुरा सुनेपछि आमा निनिरेङ्माले भनिन्– हेर छोरी हावा तिम्रो बाउ हो । ऊ तिमीसँग आउन मिल्दैन ।’ अब के गर्ने भन्ने छलफल भएपछि आमाले अब तिमी केटा खोजेर बिहे गर्नू भन्ने आज्ञा दिइन् । त्यस समय सृष्टिकालको मिर्मिरे भएकोले कोही मानव थिएनन् । मरेङ्माले यसो आकाशतिर हेरेको शुक्र झलमल्ल बलेको देखिन् । मरेङ्माले शुक्रसँगै बिहे गर्ने भनेर लमी बनाएर समाचार पुर्याउन गरुडलाई आकाशमण्डलतिर पठाइन् । धरतीबाट गरुड उडेर जाँदा धेरै टाढा भएकोले शुक्र अस्ताएछ । र गरुड त्यहाँ पुग्दा बृहस्पति आएर बसेको भेटेछ । गरुडले बृहस्पतिलाई मरेङ्माले पठाएको बिहेको प्रस्ताव सुनायो । बृहस्पतिले गरुडको समाचारको विश्वास गरेनन् । र भने– मलाई मन पराएको होइन होला, मरेङ्मा म भन्दा धेरै राम्री छे । म त गलगाँड भएको नराम्रो छु ।’ बृहस्पतिले मरेङ्माले मन पराएको मेरो दाजु शुक्रलाई होला भनेर जवाफ दिए । तर, गरुडले तपाईँ नै हो भन्दै जिद्दि गरे ।
बृहस्पतिले भने– मलाई त विश्वास छैन, तिमी भन्छौ भने म आउँछु । तर मरेङ्माले मेरो अपमान गर्न पाउदिनन् । यो कुरा राम्रोसँग उनलाई सम्झाउनू र पूर्णिमाको रातमा मात्र एक रातको लागि म आउँछु भनेर गरुडलाई भने । यो कुराको वाचाबन्धन भएपछि बृहस्पतिले मरेङ्माको लागि सुनको काइयो गरुडमार्फत उपहार पठाए । बृहस्पतिले गरुडलाई बिदा गर्ने बेला भनेका थिए म आउँदा सिरानीको व्यवस्था राम्रो गर्नु, मरेङ्माले मेरो अपमान पटक्कै नगरोस् भनेका थिए । यही सल्लाह अनुसार गरुड धरतीमा फर्किए । मरेङ्मालाई सबै समाचार सुनाए । पूर्णिमाको रातमा शुक्र आउँछ, तिमीलाई यो सुनको काइयो उपहार पठाएको छ भनी उपहार दिए । त्यो रात राम्रो सिरानी बनाएर बस्नु भनेको छ भनी मरेङ्मालाई सुनाए । त्यही बृहस्पति गरुडको पूर्व सल्लाह अनुसार तयार भएर मरेङ्मा शुक्रलाई पर्खेर बसेकी थिइन् । तर, आयो बृहस्पति, घाँटीमा गलगाँड लिएर । मन पराएको केटा नदेखेपछि मरेङ्मा रिसले भागिन् । बृहस्पतिले पहिल्यै सर्त राखेका थिए कि मेरो अपमान नहोस् भनेर । यसमा बृहस्पतिको कमजोरी देखिदैन र मरेङ्माको पनि कमजोरी देखिदैन । समाचारदाताले सत्य बोलेको छैन । सम्झौता उल्लंघन भएपछि फेरि बृहस्पति र गरुडले सल्लाह गरेर मरेङ्मालाई सजाय दिने निर्णय गर्छन् । उनीहरुको निर्णय हुन्छ धरतीको पानी सुकाउने र मरेङ्मालाई तिर्खा मेट्न बृहस्पतिको पिसाब पिउन लगाउने ।

धरतीको सबै पानी सुकाएर बृहस्पतिले बनमा रहेको एउटा रुखको टोड्कामा पिसाब फेरेर आकाशमण्डलको आफ्नाे कक्षमा फर्किए । पृथ्वीमा पानी सुक्यो । मरेङ्मालाई प्यासले सताउन थाल्यो । उनी बनजंगलको शीतल छहारी खोज्दै हिडिन् । शीतल खोज्दै जाँदा एकदिन एउटा रुखको छहारीमा पुगेर बसिन् । सानो फिस्टा चरा आएर रुखको हाँगामा बसेर नाच्दा मरेङ्माको जिउमा पानीको छिटा पर्यो । त्यो फिस्टाको नाम बाहिङ भाषामा झिर्किली हो । मरेङ्माले पानीको छिटा मेरो जिउमा पर्यो, म धेरै दिनदेखि तिर्खाएकी छु पानी कहाँ छ भनेर फिस्टासँग सोध्दा ऊ माथि रुखको टोड्कामा छ भनेर फिस्टाले देखायो । त्यही टोड्कामा बृहस्पतिले पिसाब फेरेका थिए । त्यही बृहस्पतिको पिसाब पानी सम्झेर मरेङ्माले पिइन् । त्यसपछि मरेङ्मा गर्भिणी भइन् ।
यसरी बाहिङ किरातको उत्पति भएको भनेर बाहिङ तुम्लो वा मुन्धुमले विश्वास गर्दछ । मरेङ्माले बच्चाहरु जन्माउने बेला प्रकृतिमा रहेका विभिन्न थरिका प्रजातिहरु जन्माउछिन् । पहिलोचोटिको बोटविरुवा जन्मिन्छ । त्यसमध्ये बाहिङ भाषामा ‘कडाम चु’ भन्ने काँडेझ्यार छ, त्यो जन्माउँछिन् । त्यो काँडेझ्यार जन्माउदा आमाको अंगहरु कोरेर घाउ बनाएको कारणले त्यो काँडेझ्यारलाई आमाले सराप दिएछिन् । तिमी रुखोपाखोमा मात्र उम्रिनू भनेर । त्यो काँडेझ्यार आजभोलि पनि रुखोपाखोमा मात्र भेटिन्छ । दोस्रो चरणमा मरेङ्माले जीवजन्तु जन्माइन् । मरेङ्माको पहिलो छोरा बाघ, दोस्रो छोरा बाँदर र तेस्रो छोरा मान्छे हो । उनले यो संसार हेरचाह गर्ने मान्छे जन्माउनलाई शुक्रसँग विवाह गर्न खोजेकी थिइन् । तर थाहै नपाई बृहस्पतिबाट सन्तान जन्माउन पुगिन् । उनको ध्येय थियो मान्छे वा निनिनाप्चा जन्माउने । बाँदर र मान्छेमा धेरै फरक नदेखिने । त्यसैले बाँदर जन्मिने बित्तिकै मान्छे यही हो भनेर मरेङ्माले बाँदरलाई सुनको माला लगाइदिएछ । जसलाई चिचिमाला भनिन्छ । बाँदरलाई सुनको माला लगाइदिएपछि पो झन राम्रो मान्छे जन्मियो । आमाले बाँदरलाई फकाएर त्यो माला भाइलाई लगाउन दिइन् । पछि भाइले लगाएको खेतीपाती सित्तैमा खान पाउँछौ भनेर फकाए । अहिलेसम्म पनि बाँदर भेट्दा चिचिचुचु गरेर कराउने गर्छन् । त्यो चिचिमाला फिर्ता मागेको हो भन्ने चलन बाहिङ किरातहरुको विश्वास रहिआएको छ ।

बाहिङ मुन्धुम अनुसार यही पृथ्वीकै पहिलो परिवार एक आमा र तीन छोराहरुको घरगृहस्ती चलिरहेको थियो । बाघ र बाँदर अल्छे भएकोले सबै काम मान्छेले नै गर्नुपर्दथ्यो । एक दिन मान्छे एउटा विरुवाको हाँगामा फल टिप्न जाँदा छाँयामा बाघ झम्टेको मान्छेले देखेछ । आफूलाई मार्न झम्टेको देखेर मान्छेले बाघलाई धनुषवाणले हानेर मारिदियो । बेलुकी आमाले मान्छेलाई तिम्रो दाजु बाघ खै ? भन्दा मलाई मार्न झम्टियो मैले धनुषवाणले हानेर मारे भनेपछि आमाले मन्त्र गरेर बाघलाई बचाएछ । आमाले तीनैजना मिलेर बस्नू भनी अह्राइन् । यसरी दिनहरु बित्दै थिए । एक दिन फेरि मान्छे आमा, बाघ र बाँदरलाई घरमा छोडेर काममा गए । बेलुकी घरमा फर्केर आउँदा मान्छेले आमालाई देखेन । मान्छेले बाघलाई सोध्यो आमा खोई भनेर । बाघले पानी लिन गएको छ भन्यो । धेरै बेरमा पनि आमा नफर्केपछि मान्छे आमालाई खोज्न कुवामा गयो । त्यहाँ आमा थिएनन् । त्यसपछि मान्छेले बाघलाई शंका गरेर तिम्रो मुख आँ गर भनेर मुख हेर्दा आमाको कपाल बाघको दाँतमा अड्किएको देख्यो । मान्छेलाई प्रष्ट भयो कि बाघले आमा खाएछ । यो घटनापछि तीनैजना बीच छुट्टिएर बस्ने सल्लाह भयो । सल्लाहले अंश लगाए । बाघको भागमा वनजंगल, बाँदरको भागमा भिरपाखा र मान्छेको भागमा घरबारी पर्यो । यो बाहिङ मुन्धुममा पारिवारिक पहिलो घटना वा सभ्यता हो । वैज्ञानिक चाल्स डार्बिनले पनि बाँदर र मान्छेको सन्दर्भ जोडेका छन् । उनको मत अनुसार एक कोषीय जीव अमिबा हुँदै डाइनोसरसम्म विकास भयो । एवम् रितले विकास हुँदै जाँदा बाँदरमा परिणत भयो । बाँदरबाट मानिसमा विकसित भयो भन्ने विचारले संसारमा डार्बिन विश्वविख्यात भए । अब डार्बिनको सिद्धान्त प्रमाणित हुनलाई पशुपतिनाथ वरिपरिको बाँदरहरु कहिले मान्छेमा परिवर्तन हुन्छन् त्यो हेर्न बाँकी छ ।

श्लोकमा उल्लेखित किरात क्षेत्र

भाषाको इतिहास हेर्दा लिखित रुपमा लामो इतिहास भएको भाषाहरुमध्ये पूर्वमा संस्कृत र पश्चिममा ग्रिक र ल्याटिन भाषाहरु भेटिन्छन् । इतिहास पत्ता लगाउन प्रायः यिनै भाषामा लेखिएका कृतिहरुको सहायता लिनुपर्ने बाध्यता छ । संस्कृत वाङ्मयमा किरात जाति र किरात सभ्यताको उल्लेख जताततै गएको पाइन्छ । तर संस्कृतका विद्वानहरुले डा. स्वामी प्रपन्नचार्य बाहेक कसैले पनि चर्चा गर्न चाहेको देखिदैन । वर्तमान नेपाल देश किरात सभ्यताभित्र पर्ने मुलुक हो । यसबारेमा न इतिहासकार न कवि न साहित्यकार कसैले पनि यति ठूलो र गौरव बोकेको किरात सभ्यताको बारेमा कहीकतै कलम चलाएको देखिदैन । नेपाल देशको इतिहास झुटको पुलिन्दामाथि तयार गरेको देखिन्छ । यहाँका हरेक गल्ली, खोलानाला, पहाड, पर्वत सबैका नाम किरात भाषा रहेकोमा पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तार अभियानसँगै नामहरु हिन्दुकरण गर्दै लगेको र हालसम्म पनि पृथ्वीनारायणको उत्तराधिकारीहरुले निरन्तरता दिदै आएको छ । मरुतन्त्र हिमवत् खण्डामा उल्लेख गरिए अनुसार किरात देश कति ठूलो थियो भन्ने कुरा संस्कृत श्लोकमा निम्न अनुसार लेखिएको छ ।

‘किरातदेशोदेवेशि विन्ध्ये शैले च तिष्ठति ।
काश्मिरन्तु समारश्य कामरुपातु पश्चिमे ।
भोटान्तदेशोदेवेशि मानसेशाच्च दक्षिणे ।
मानसेशा पक्ष पूर्वे चीनदेशः प्रकीर्तित ।
कैलालीशं(तिर) समारश्य सरयुयोनितः परे ।
नगदेशे महेशानि महाचीनानीमिध्यो भवेत ।
नटेश्वर समारश्य योगिन्यन्तं महेश्वरी ।’

यस संस्कृत भाषामा लेखिएको श्लोक अनुसार किरात देश कति ठूलो थियो भन्ने प्रष्ट्याएको छ । किरात देशको सिमाना विन्ध्याचल पर्वतसम्म फैलिएको थियो । काश्मिरदेखि कामरुपासम्म पश्चिममा फैलिएको थियो । हाल टिबेट भनिने चीनको स्वशासित क्षेत्रदेखि मानसरोवरसम्म दक्षिणतिर फैलिएको थियो । त्यस्तै पूर्वमा मानसरोवरबाट चीन देशसम्म थियो । कैलाली वा हालको महाकाली नदीको तीरबाट भारतको तत्कालिन सरयु नदी परसम्म फैलिएको थियो । भारतमा रहेको नागाल्याण्ड वा नगदेशबाट हालको मंगोलियासम्म किरात देश फैलिएको थियो । दक्षिण क्षेत्रमा भारतमा रहेको स्थान नटेश्वर योगीनी हुँदै महेश्वरीसम्म सिमाना फैलिएको थियो । यस प्रमाणहरुले के प्रमाणित हुन्छ भने आदिम कालमा किरात देश आधा एसिया महादेशको क्षेत्रमा ओगटेर फैलिएको थियो ।

को–को हुन् किरात ?

प्रा.डा. गोपाल शिवाकोटीले आफ्नाे अनुसन्धानबाट किरातको उत्पति साल्पा पोखरीबाट भएको हो भन्ने खोज गरेका छन् । यो उनको अनुसन्धान किरात जाति पुस्तकमा छापिएको छ । उनका अनुसार साल्पा पोखरीमा किरातका पुर्खा सालपाहोङ र रिब्रिहोङ्मा थिए । उनीहरुका तीन जना छोराहरु थिए । उनीहरुको नाम होः
जेठाको नाम मुकाबुङ
माइलाको नाम हरकबुङ
कान्छाको नाम रिबलबुङ ।
यिनीहरुको बुबा र आमा सालपाहोङ र रिब्रिहोङमाको मृत्यु भएपछि छोराहरु आ–आफ्नाे क्षेत्रतिर बसोबास गर्न लागे । जेठा मुकाबुङ चुमुलुङ्मातिर लागे र उतैतिर बसोबास गरे । उनै जेठाका सन्तानको रुपमा भोटमा रहेका भोटे वा टिबेटेन र नेपालमा रहेका तामाङ र गुरुङ मानिन्छ । माइला छोरा हर्कबुङ यही पहाडमा बसोबास गरे । उनका पनि तीनजना छोराहरु थिए । उनका जेठा छोरा खम्बू हुन् । उनकै सन्तान सबै राई लेख्नेहरु मानिन्छन् । माइला लिम्बू हुन् जो लिम्बूहरुको पुर्खा मानिन्छन् । कान्छा कोइँच (सुनुवार) । उनलाई सुनुवारहरुले पुर्खा मान्छन् । कान्छा रिबलबुङ मधेसतिर लागे । उनका पनि तीनजना छोराहरु जन्मिए । जेठा थारु, माइला दनुवार र कान्छा धिमाल मानिन्छन् । यी सबै किरात मिथोलोजी मानिएता पनि वर्तमान अवस्थामा पनि सर्जमिन गरेर हेरे पनि यो प्रमाणित हुन्छ । भोटेहरु भोटमै बसेका छन् । जो हालको नेपाल देशको सिमाभित्र आएर बसेका छन् । तिनीहरु शेर्पा, तामाङ र गुरुङ जातिको रुपमा चिनिन्छन् । माइलाका सन्तान खम्बू, लिम्बू र कोइँच आजसम्म पनि पहाडी भूगोलमा भेटिन्छन् । कान्छाका सन्तान थारु, दनुवार र धिमालहरु पनि मधेसमै भेटिन्छन् । समय क्रमले कोही भारतमा परे होलान् । उनीहरुको जाति परिवर्तन भयो होला । तर नेपालमा रहेका थारु दनुवार र धिमालको पहिचान नेपालमा छँदैछ ।

King Yalamber Hang

आधुनिक किरात इतिहास

नेपाल देशको स्थापना गर्ने संस्थापक जातिमध्ये महत्वपूर्ण जाति इतिहासमा किरात जाति नै प्रमाणित हुन आउँछ । प्राचीन केही इतिहासकारहरु र केही विदेशी अनुसन्धानकर्ताहरु बाहेक आधुनिक हिन्दुवादी इतिहासकारहरुले किरात इतिहास र सभ्यताको बारेमा चासो दिएको देखिदैन । किनभने, उनीहरुले हिन्दु शासकका भजन र चाकडी लेखेरै इतिहासकार प्रमाणित गराउन कोसिस गरेको देखिन्छ । उनीहरुले इतिहासमा जे घटना भएको हो त्यो नलेखेर शासक र आफ्नाे जातिको चम्चागिरी लेखेका छन् । त्यही चम्चागिरीले आफूलाई इतिहासकार दाबी गरेका छन् । पाश्चात्य चिन्तक Michel ले भनेका छन् ‘Truth is determined by power’ । त्यस्तै नेपालका इतिहासकार भनाउँदाहरुले आफ्नाे धर्म, जाति र नश्लको गुणगान गाउँदै सत्यलाई छोपेर असत्य उजागर गरी त्यही इतिहास भनेर संसारलाई नै दिग्भ्रमित पारेका छन् । अब नेपालको इतिहासको पुनर्लेखन गर्न अनिवार्य भएको छ । र वर्तमान पहिचानवादी र सत्यवादी महानुभावहरुको मुख्य काम यही बाँकी रहेको छ । किरातहरुले नेपालमा कति समय र कस–कसले राज्य गरेका थिए भन्ने रेकर्ड नेपालको इतिहास अनुसार गोपालराज वंशावली, राइट वंशावली, कर्कपेट्रिक वंशावली र इतिहास प्रकाशनमा निम्न अनुसार उल्लेख गरिएको छ । गोपालराज वंशावली र कर्कपेट्रिक वंशावली अनुसार यसरी उल्लेख गरिएको छ ।
गोपालराज वंशावली
राजाको नाम र राज्य वर्ष
१ एलम ९० वर्ष
२ चम्पि ७९ वर्ष ३ महिना
३ धस्कन ३७ वर्ष
४ वलन्च ३१ वर्ष ६ महिना
५ हुत्ति ४१ वर्ष १ महिना
६ हुम्ती ५० वर्ष
७ तुस्क ४१ वर्ष ८ महिना
८ क्षुपस्थ ३८ वर्ष ६ महिना
९ पर्व ५६ वर्ष
१० जितेदस्ती ६० वर्ष
११ पन्चम ७१ वर्ष
१२ क्यमक्यम ५६ वर्ष
१३ स्वनन्द ५० वर्ष ८ महिना
१४ थुङको ५८ वर्ष
१५ गोघृ ६० वर्ष २ महिना
१६ श्रीजन्य ७३ वर्ष २ महिना
१७ लुकन ६० वर्ष १ महिना
१८ थोर ७१ वर्ष
१९ थोक्को ८३ वर्ष
२० वम्र्म ७३ वर्ष ६ महिना
२१ गुन्ज ७२ वर्ष ७ महिना
२२ पुस्कन ८१ वर्ष
२३ त्यस्नु ५६ वर्ष
२४ मुग्मन ५८ वर्ष
२५ सस ६३ वर्ष
२६ गुनन ७४ वर्ष
२७ खिंबु ७४ वर्ष
२८ गलिजन ८१ वर्ष, जम्मा १७४१ वर्ष २ महिना ।

कर्क पेट्रिक वंशावली
राजाको नाम र राज्य वर्ष
१ येलुङ ९० वर्ष
२ दुस्खम ३७ वर्ष
३ बलन्ज ३२ वर्ष
४ किङले ४१ वर्ष
५ हुनन्तर ५० वर्ष
६ तुस्ख ४२ वर्ष
७ सुपुस्त ३९ वर्ष
८ पर्व ५६ वर्ष
९ जितेदास्ती ६० वर्ष
१० पन्चम ७१ वर्ष
११ किङ किङ ५६ वर्ष
१२ सुनन्द ५१ वर्ष
१३ थोमु ५८ वर्ष
१४ जघु ६० वर्ष
१५ जनरेओ ७३ वर्ष
१६ वोख ६० वर्ष
१७ थोर ७१ वर्ष
१८ थोमो ८३ वर्ष
१९ वर्म ७४ वर्ष
२० गुन्ज ७३ वर्ष
२१ कुस्कुन ५६ वर्ष
२२ तोषु ५६ वर्ष
२३ सुध्री ५९ वर्ष
२४ जोश ६३ वर्ष
२५ गोन्थो ७४ वर्ष
२६ खेम्बु ७४ वर्ष
२७ गजिलङ ८१ वर्ष, जम्मा १६४० वर्ष ।

पछिल्लो किरात भूमि

मरुतन्त्र हिमवत् खण्ड अनुसार आधा एसिया किरात देश थियो । समयको विकास क्रमसँगै धेरै जातिहरुले आफू किरात जाति वा सभ्यताको मान्छे हुँ भन्ने कुरा बिर्सिसकेका छन् । केही वर्षअघिसम्म काठमाडौ उपत्यकादेखि पूर्वतिर वल्लो किरात, माँझ किरात र पल्लो किरातको नामले भूमिलाई सम्बोधन गरिन्थ्यो । केही सरकारी कार्यालयहरुको पुरानो अभिलेखमा वल्लो किरात, माझ किरात र पल्लो किरात लेखिएको भेटिन्छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको शैक्षिक प्रमाण–पत्रको ठेगाना माँझ किरात लेखिएकोले पनि प्रमाणित गर्दछ । यस बारेमा पहिलो संविधानसभाको दुई तिहाइ आदिवासीहरुको उपस्थितिले बहसमा ल्याएको थियो । तर, नेतृत्वमा सबै पार्टीको हिन्दु उच्च जातिका मानिसहरुको बाहुल्यता भएकोले पहिचानलाई अवमूल्यांकन गर्दै संविधान नै निर्माण नगरी संविधानसभा भंग गरिदिए । दोस्रो संविधानसभामा आदिवासीहरुको उपस्थिति अति न्यून रह्यो । र संविधान पनि फास्ट ट्रयाकमा बनाउने भनेर महेन्द्रपथको आधारमा प्रदेशको नाम र संख्याकरण गरियो । त्यसकारण फेरि पनि किरात सभ्यताको अपमान भयो ।

किरात दाबी गर्ने जातिहरु

सबैभन्दा पुरानो सभ्यतामध्ये एक सभ्यता किरात सभ्यता मानिन्छ । मानिसको कति पुस्ताले वनजंगल र ओडारमा बिताएर यो आधुनिक भनिने युगसम्म पुर्खाहरुले ठूलो त्याग र तपस्या गरेर अवतरण गराए । यो मान्छे बसोबास गरेको पृथ्वीको आयु पाँच करोड वर्ष बितिसक्यो भन्छन् । त्यसलाई युगको आधारमा विभाजन गरिएको छ । ती बितेका समयलाई सत्य युग, द्वापर युग, त्रेता युग र कलि युगमा विभाजन गरिएको छ । त्यसमध्ये अहिलेको युग कलि युग मानिन्छ । कलि युगको आयु जम्मा चार लाख ३२ हजार वर्ष रहेको छ । कलिको आयुमध्ये जम्मा ५ हजार वर्ष मात्र बितेको छ । कलि युगको ५ हजार वर्ष बितेको प्रमाण विशेषत महाभारत कृतिलाई मानिन्छ र जब पाँच पाण्डवहरुले आफ्नाे नाति परिक्षित जिम्मा लगाएर बान प्रस्था लागे त्यही दिनदेखि कलि युगको आरम्भ भएको मानिन्छ । आधिकारिक रुपमा मानिएको शास्त्रहरु वेद र महाभारत नै हुन् । त्यस समयमा पनि किरातहरु यत्रतत्र सर्वत्र भेटिन्थे । वेदब्यासले मेरो त जन्म मात्र आर्य हो मेरो पालनपोषण सबै किरातहरुले गरेका हुन् भन्ने जिवनीमा लेखेका छन् । यो अनुसन्धान डा. स्वामी प्रपन्नचार्यले गरेका हुन् । यसको आधारमा कति किरात थिए होलान् भनेर आकलन गर्न सजिलै सकिन्छ । हिन्दुहरुको हस्तक्षेप र बोन धर्मावलम्बी किरातहरुलाई पदमसम्भ वा गुरु रिम्पोचेले बौद्ध धर्ममा रुपान्तरित गराए । सबै धर्मबाट बाँचेर वल्लो किरात, माँझ किरात र पल्लो किरातमा बसोबास गर्ने निम्न जातिहरुलाई किरात भनिन्छ ।
१ कोयु
२ खालिङ
३ चाम्लिङ
४ पोहिङ
५ छिन्ताङ
६ छिलिङ
७ छुलुङ
८ जेरङ
९ तिलुङ
१० थुलुङ
११ दुङ्माली
१२ दुमी
१३ नाछिरिङ
१४ फाङदुवाली
१५ पुमा
१६ बाहिङ
१७ बान्तावा
१८ बुङलावा साम
१९ बेलहारे
२० मुगाली
२१ मेवाहाङ
२२ लिङिखमा
२३ वाम्बुले
२४ साङपाङ
२५ सोताङ
२६ कुलुङ
२७ याक्खा
२८ यम्फू
२९ लोहरुङ
३० हायु
३१ कोइच

पहिचानवादी दल

२१औं शताब्दी पहिचानकै शताब्दी हो । यसमा कसैले शंका गर्नुपर्ने छैन । संसारभरिको भूगोलमा यो अभियान वा पहिचानको लडाईं डंका पिटेरै सुरु भएको छ । सुनिदैछ, अमेरिकामा कोलम्बसको मूर्ति ढाले । हाम्रै आँखा अगाडि छिमेकी देश भारतमा झारखण्ड र तिलंगना राज्य पहिचानको आधारमा अर्को राज्यबाट छुट्टिएका छन् । पूर्वमाओवादी भन्ने राजनीतिक दलले २०५२ सालमा जनवादी क्रान्ति गरी जनवाद ल्याउने भनेर सशस्त्र युद्ध सुरु गरेको थियो । सशस्त्र युद्ध भन्ने नारा राजनीतिक बजारमा नबिकेपछि मानवशास्त्रमा नेपालका पिता मानिने डोरबहादुर विष्टको किताब Fatalism and development मा टेकेर केही थपघट राज्यहरुको अवधारणा प्रस्तुत गरी युद्ध बढाएपछि जनयुद्धले फड्को मार्यो । सरकारी आकडा अनुसार जनयुद्धमा १७ हजार मान्छे मारिए भनिएको छ, तर त्यो भन्दा धेरै मानिसहरु मारिएको आशंका छ । त्यो युद्धमा माओवादी पार्टीले सबै उत्पीडित समुदायलाई पहिचान दिन्छु भनेर होम्यो । दश वर्षको युद्धपछि १२ बुँदे सम्झौता गरेर शान्तिपूर्ण अवतरण गरियो । देशमा गणतन्त्र स्थापना भयो र नाम मात्रको भए पनि धर्मनिरपेक्षता पनि प्राप्त भयो । यस युद्धमा सबै नेपालीहरुले चाहेर वा नचाहेर पनि लगानी गरेका छन् । मुलुक आतंकमय रह्यो । माओवादी लडाकुहरु भोकानांगा दस्ताहरु संगठनको नाममा गरिब जनताको घरमा गएर बास बस्दथे । गाउँघर गएर थर्काउथे र खान्थे । फेरि नेपाली सेना सर्च गर्ने भन्ने निहुमा गाउँ जान्थ्यो । सेनाले माओवादी पाल्छस् भन्दै जनतालाई यातना दिन्थ्यो । उता माओवादीले सुराकी गर्छस् भन्दै कतिलाई गोली हानी मार्यो । कतिलाई अपांग बनायो । कतिको सम्पति लुट्यो । सबै समुदायले यो जनयुद्धको नाममा माओवादी र नेपाली सेनाको नाटकमा केही न केही तिरेका छन् । कसैले ज्यान दिए, कसैले रगत र पसिना दिए । कसैले जायजेथा गुमाउनुपर्यो । यसमा देशी विदेशीहरुको स्वार्थ त छँदै थियो । तिनीहरुको स्वार्थ अहिले कसरी अगाडि बढाउँदैछन् भन्ने कुरा पनि दिनप्रतिदिन उदांगिदै छ । यत्रो ठूलो लगानीले सयौ, हजारौ कमिसनखोरहरु अरबपति भए होलान् । यो युद्धले राजनीतिको र नजान्नेहरु केही समय सांसद र मन्त्री भए होलान् ।
सबैभन्दा ठूलो उपलब्धि यस जनयुद्धले छदम्भेषी पुष्पकमल दाहाललाई दुईपटक प्रधानमन्त्री बनायो र एकपटक डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनायो । नेपालमा गणतन्त्र आउनु भनेको गोरुगाडा चढेर अमेरिका जान्छु भन्नुजस्तै हो भन्ने केपी शर्मा ओली नेपालका प्रधानमन्त्री छन् । २०७२ सालमा गणतान्त्रिक संविधान बनेपछि यस्ता नालायक व्यक्ति देशका प्रधानमन्त्री रहेका छन् । उनी पहिचानवादी र उत्पीडितहरुलाई कुल्चेर देश चलाउन चाहन्छन् । जनतालाई अधिकार दिन भनेपछि उसको बाउको अंश बाँड्नुपर्ने जस्तो ठान्छन् । अहिले त झन् जनयुद्धको रापताप पनि लगेर पुष्पकमलले केपी ओलीको टाङमुनि छिराएका छन् । अब त प्रष्टै छ, हिजो माओवादीले उठाएको पहिचानको मुद्दा, समानुपातिक समावेशीको मुद्दा र जातीय छुवाछुतको मुक्तिको कुरा कहाँ पुग्यो ? अझ जातीय छुवाछुत मेटाउने सर्वहारा पार्टीले दलित शब्द संविधानकरण गरेर संविधान ल्याएको छ । तैपनि नेपालका जनता स्व. गणेशमान सिंहले भनेजस्तै थपडी बजाएर बसिरहेका छन् ।

जसपा नेपाल

पहिचानवादी दलको रुपमा प्रस्तुत हुँदै आएको पार्टी २०६९ देखि संघीय समाजवादी पार्टी नेपाल हो । यसले राज्य पुनरसंरचना आयोगका तत्कालिन प्रमुख मदन परियारले बुझाएको प्रतिवेदनको आधारमा १० प्लस १ प्रदेशको खाका बनाई २०६९ मंसिर ७ गते अशोककुमार राईको अध्यक्षतामा पार्टी स्थापना भएको थियो । यस पार्टीले २०७० सालको संविधानसभाको निर्वाचनमा अधिकतम निर्वाचन क्षेत्रमा भाग लिएको थियो । प्रत्यक्षतर्फ कुनै सिट हासिल गर्न सकेन । त्यस बखत यो पार्टीले जातीय आरोप चर्को रुपमा खप्न परेको थियो । समानुपातिक सिट ५ सिट प्राप्त गरेको थियो । यो पार्टी त्यसताका नयाँ हुनु, सबै जिल्लाहरुमा बलियो संगठन पुगिसकेको नहुनु, वैचारिक कार्यकर्ता निर्माण भइसकेको नहुनु र केही बाहेक पदाधिकारीहरुले प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत गर्न नसक्नु प्रमुख कमजोरी थियो । १० प्लस १ प्रदेश समितिहरु नेपालको मानव भूगोलको आधारमा नै निर्माण गरिएको थियो । त्यसमा लिम्बुवान प्रदेश समिति, किरात प्रदेश समिति, शेर्पा प्रदेश समिति, ताम्सालिङ प्रदेश समिति, नेवा प्रदेश समिति, तमुवान प्रदेश समिति, मगरात प्रदेश समिति, खसान प्रदेश समिति, मधेश प्रदेश समिति, थारुवान प्रदेश समिति र दलित भनिएकाहरुको लागि देशलाई नै एउटै निर्वाचन क्षेत्र मानेर शिल्पी विशेष प्रदेश समिति बनाएको थियो । पार्टीले निर्वाचनमा भाग लिएर परिणाम आएपछि नेता कार्यकर्ताहरुमा एक प्रकारको निराशा देखिन आयो । पुरातनवादी पार्टीहरु नेपाली कांग्रेस र एमालेले सानो पार्टीहरुलाई दबाउन साम, दाम, दण्ड भेद प्रयोग गरेर लागेकै थिए । त्यसलाई चिर्नका लागि जनतामा राष्ट्रिय एकता बलियो बनाउनका लागि तथा नेतृत्वमा सबै जातिको अनुहार देखिने गरी पार्टी निर्माण गर्ने क्रममा २०७२ साल जेठमा अशोक राईले नेतृत्व गरेको ससपा, उपेन्द्र यादवले नेतृत्व गरेको मजफो र युवराज कार्कीले नेतृत्व गरेको खस राष्ट्रिय पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बन्यो । यो पार्टी एकताले राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मा एउटा सकारात्मक सन्देश गयो । पहिलोचोटि राष्ट्रिय स्तरका भनिने दलाल मिडियाहरुले पनि पार्टीका नेताहरुसँग अन्तर्वार्ता लिए । अर्कोतर्फ कांग्रेस र एमालेहरुको मुटु चर्को गरी दुख्न थाल्यो । किनभने उनीहरुले यो मिलन भएको हेर्न सक्दैनथे । यो एकताले पनि पहाडमा दुवै निर्वाचनमा सफलता हासिल भएन । जनताले पनि एमालेको स्याल हुँइयामै भोट हाले । तर मधेसमा दुवै निर्वाचनमा आशातित् सफलता प्राप्त भयो । त्यो मधेसले गरेको आन्दोलनको परिणाम पनि थियो । पार्टी संगठनका केही आयामहरु चलिरहेकै समयमा ससफो र डा. बाबुराम भट्टराईको नेतृत्व रहेको नयाँ शक्तिबीच २०७६ वैशाखमा एकता भई पार्टीको नाम समाजवादी पार्टीमा रुपान्तरण भयो । जातीय, भाषिक, लैंगिक, धार्मिक र भूगोल देखिने गरी राष्ट्रिय एकताको एक फड्को अगाडि बढ्यो । यो सत्यतालाई कांग्रेस र नेकपाको ब्रम्हास्तले भेद्न सक्दैन । यो कुरा दिनमा लागेको सुर्यको प्रकाशझै छर्लङ्गै देखिन्छ । नयाँ वर्ष २०७७ सालको आगामण सँगै कोभिड–१९ ले संसारभरमा तहल्का मच्चायो । नेपालमा पनि मच्चाउने कुरै भएन ।

छिमेकी देश चीनबाट सुरु भएको कोभिड–१९ अझ पश्चिमा देशहरु घुमेर मात्र नेपालमा आयो । नेपाल सरकारले यसको रोकथाम गर्नको साट्टो ओमनी ग्रुपलाई प्रयोग गरेर कमिसनको खेल खेल्यो । लकडाउन गरेर जनतालाई थुनेर समाजवादी पार्टी र राजपा फुटाउने असफल नाटक मञ्चन गर्यो । यही मौका छोपी समाजवादी पार्टी र राजपाबीच २०७७ सालमै एकता भई जनता समाजवादी पार्टी निर्माण भएको छ । पार्टी ठूलो हुँदै गएको छ । यो अति असल कुरा हो । पार्टीले मुख्य तत्वको रुपमा लिएको पहिचानका प्रदेशहरुलाई १० प्लस १ शिल्पी विशेष बाहेक राष्ट्रिय समितिहरुको मान्यता दिएको छ । अहिले यो पार्टी देशको तेस्रो पार्टी भएको छ । यस हिसाबले अब संगठन विस्तार गर्न पनि सजिलो हुँदै गएको छ । यस पार्टीमा जनताको समर्थन बढ्दै गएको कुरा प्रतिपक्षीहरुले पनि नकार्दैनन् होला । जनता समाजवादी पार्टीले जति छिटो २ नम्बर प्रदेशलाई मधेस प्रदेश नामाकरण गर्न सफल हुन्छ त्यति अरु प्रदेशमा पहिचानको आधारमा नामाकरण गर्न पहलकदमी गर्न सजिलो हुनेछ । अर्को महत्वपूर्ण कुरा अब मधेसको पल्ला भारी पुगेको छ । मधेसका नेतादेखि कार्यकर्तासम्म सक्षम देखिन्छन् । पहाडतर्फ पहिचानको कार्यक्रम सागुरिएर गएको हो कि ? भन्ने भान भएको छ । नेपालको संविधान २०७२ को निर्माण भएपछि पार्टीले त्यही संविधान अनुसारको सात प्रदेशलाई कार्यकारी समितिको जिम्मेवारी सुम्पेको छ । खाकाभित्र १० प्लस १ प्रदेश राष्ट्रिय समितिहरु रहेका छन् । पार्टीको माथिल्लो तहका नेताहरु आफ्नाे भूमिमा संगठन खाका, कार्यकर्ताहरुलाई उत्प्रेरणा, आवश्यक व्यवस्थापनको साटो आफ्नाे पोर्टफोलियोमा ध्यान दिएको देखिन्छ । पहिचानका राष्ट्रिय प्रदेशहरुमा काम गर्ने नेता कार्यकर्ताहरुलाई उत्प्रेरित हुने कुनै कार्यक्रम पार्टीले ल्याउन नचाहेको हो कि भनेर शंका गर्ने अवस्था समेत सिर्जना भएको छ । पार्टीको मूल उदेश्य १० प्लस १ मा रहेका छन् । भौगोलिक प्रदेशका नेता कार्यकर्ताहरुलाई छिटो मुख्यमन्त्री हुने सपनाले पिरोलिसकेको छ । भौगोलिक प्रदेशभित्र राष्ट्रिय समितिसँग कुनै सल्लाह र परामर्श गर्न चाहेको देखिदैन । पार्टीको सर्कुलरहरुमा पनि यसमा बारेमा केही देखिदैन । त्यसैले जनता समाजवादी पार्टीले राष्ट्रिय समितिहरुको बारेमा विशेष कार्यक्रम ल्याउनपर्ने देखिन्छ । किनभने यो पार्टीको मूल लक्ष्य हो ।

पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोण

भन्न त प्रेम र युद्धमा सबै थोक जायज हुन्छ भन्छन् । तर जसको राज्य पृथ्वीनारायण शाहले हडपेर खोर्खा राज्य विस्तार गरे । हडपिने समुदाय किरात, लिम्बू, तामाङ, गुरुङ, मगर र थारुले कसरी पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता र एकीकरणकर्ता मान्न सक्छन् भन्नेबारे सत्ताका चाकडीबाज इतिहासकार भनाउँदाहरुले कहिल्यै केही लेख्न चाहेनन् । पृथ्वीनारायण शाहको वंश को थिए ? भन्ने कुरा पनि प्रष्टसँग खुलेको छैन । नेपालका मानवशास्त्रका पिता मानिने डोरबहादुर विष्टले शाहरुको वंश मगर हो भन्ने अनुसन्धानबाट निचोड निकालेका छन् । जसले यत्रो अनुसन्धान गरे त्यो मान्छे आज लापत्ता छ र राज्यले खोजी गरेको छैन । उनले एकीकरणको नाममा यहाँका किरात राष्ट्रियताको, लिम्बुवान राष्ट्रियताको, तामाङ, नेवा, गुरुङ, मगर र थारु राष्ट्रियताको सम्पूर्ण सभ्यता जसले सखाप पारेर हिन्दु अहंकारवाद थोपरे त्यसलाई नेपालका आदिवासीले राष्ट्रनिर्माता मान्ने कुरा कसरी सही हुन सक्छ ? मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फुलबारी हो, सबैलाई चेतना भया भन्थे उनी । तर फुलबारी त एक जाति आर्य, एक भाषा खस, एक धर्म हिन्दु मात्रै पृष्ठपोषण राज्यले गर्दै आएको छ । खस भाषाका विद्वान मानिने कृष्णचन्द्र अर्याल र वैधनाथ जोशी (सेढाई)हरुले ‘अझसम्म एक ही गोर्खा भाषाको सर्व व्यापकता हुन सकेको छैन, किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बू, सुनुवार, दनुवार, थारु प्रवृतिका जंगली भाषाहरुले आफ्नाे जन्मस्थानलाई एक कदम छाड्न सकेका छैनन् जहाँसम्म एक मात्र गोर्खा भाषाले अरु सबै जंगली भाषालाई अर्ध–चन्द्र (गलहत्ति) लगाउन्न त्यहाँसम्म गोर्खा भाषाको उन्नति हुन्छ र मुख्य भाषा कहिनयोग्य छ’ भन्नुको केवल मनोलड्डु मात्र हो (गुरुङ ई २००४ पृ. १४१) । त्यसै धरालतमा रहेर खस भाषाको महाकवि लक्ष्मीप्रसाद देवकोटा बनायो । त्यसै सुविधा राज्यले माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि बनायो । अरु १२९ भाषाहरु हालसालै भाषा आयोगमा अभिलेखित रहेका छन् ।

यसरी राज्य लागेर आदिवासीहरुको भाषा सखाप पार्ने अभियान अहिलेसम्म निरन्तर जारी छ । खस भाषा र हिन्दु धर्मावलम्बीहरुलाई राज्यले पृष्ठपोषण गरेको कारणले नेपाल राज्यको हरेक अंगमा खस भाषी र हिन्दु अहंकारवादीहरुको मात्र उपस्थिति रहेको छ । यस सम्बन्धमा कुरा उठाउँदा खस र हिन्दु अहंकारवादीहरुले आदिवासीहरुले अध्ययन नै गर्न सक्दैनन् भन्ने कुतर्क गर्छन् । तिनीहरुको भनाइ कहीकतै सत्य सावित हुन सक्दैन । यो भनाइ दुई जना कुस्तिवाजलाई कुस्ति खेलाउँदा एउटाको हात र खुट्टा बाँधिदिने र अन्तिममा रेफ्रीले हात खुट्टा न बाधिएको कुस्तिवाजले खेल जित्यो भनेर घोषणा गरेको जस्तै हो । यो न्यायोचित कुरा हो त ? स्वतन्त्र विश्लेषण गरौ । हालको २१औ शताब्दीको आधुनिक युगमा पनि नेपाल राज्यले यही नीति अपनाएको छ । किरातले किरात भाषा पढ्न पाउनुपर्छ भन्यो भने राज्यले जातीय आरोप लगाउँछ । यति धेरै वर्षसम्म यो आदिवासी भूमिमा आयातित् आर्यहरु जसलाई हिन्दु शास्त्र शिक्षक बाहेक राज्यको कार्यकारी पदमा बस्ने अधिकार नै दिएको छैन । तिनीहरुले राज्य चलाइराखेका छन् र राज्यको यस्तो दुर्भाग्य भएको छ ।

पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार अभियान चलाउँदा बिसे नगर्चीले नै आर्थिक सहयोग गरी सुरु भएको थियो भन्ने भनाइ छ । उनले विस्तार गरेको राज्यमा बिसे नगर्चीका सन्तानहरु वर्तमान कालमा पनि जनावरको जीवन बिताउन बाध्य पारिएको छ । हिन्दु धर्म त यसको पृष्ठपोषक हो । यही हिन्दु धर्मको धरातलमा टेकेर राज्यले पनि दलितको नाममा चरम् उत्पीडन गरेको छ । पृथ्वीनारायण शाहको कालमा छुवाछुत सामुदायिक तहमा मात्र थियो । राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि उनले यस प्रथा मुलुकी ऐनमार्फत संस्थागत गरे । त्यसको निरन्तरता कायम रहँदै आयो । आधुनिक युगको उत्तम राज्य व्यवस्था मानिने २०७२ सालको संविधानले दलित शब्दलाई संवैधानिक गरेको छ । जुन संविधान बनाउनका लागि नेकपा र नेपाली कांग्रेसको ठूलो योगदान रहेको छ । यसलाई पनि जंगबहादुर राणाले बनाएको अर्को मुलुकी ऐनको निरन्तरता मान्नुपर्दछ । जब संविधानसभाले निर्माण गरेको संविधानले नै दलितलाई संविधान अन्तर्गत नै मान्यता दिन्छ, अनि दलितको मुक्ति कसरी हुन्छ ? मान्छेको जात त मानवनिर्मित हो भने छुत अछुत त हुनै सक्दैन । मान्छेको जात सबैको बराबरी हो । यसमा कुनै दुई मत रहन सक्दैन । नेपालमा पनि हिन्दु अतिवादीहरुले यही हतियार अपनाएर युगौयुग शासन गर्दै आएका छन् । यो कुरा गहिरो रुपमा उत्पीडित समुदायका मानिसहरुले बुझ्न जरुरी छ । जुन दिन उत्पीडित समुदायले अन्याय बुझ्नेछन् त्यही दिन यो कुराको अन्तिम निर्णय हुनेछ ।

नेकपा र कांग्रेस प्रतिगमनकारी

नेकपा र कांग्रेस आफूलाई प्रगतिशील दाबी गर्दछन् । तर, व्यवहारमा त्यस्तो देखिदैन । २०४८ सालको आम निर्वाचनपछि नेपाली कांग्रेसले सरकार बनायो । कमजोर सरकार पनि थिएन । पूरै एकमाना सरकार थियो । उदारिकरणको नाममा कमिसन खाएर बासबारी छालाजुत्ता कारखाना बेच्यो । साझा यातायात, ट्रली बस सेवा, भृकुटी कागज कारखाना, हेटौडा कपडा उद्योग आदि सबै जुन नेपाल सरकारको नाममा थियो सबै कमिसनखोरहरुले कमिसन खाएर बेचे । यसको सरदार संसारकै विज्ञ अर्थशास्त्री कमिसन महारथि डा. रामशरण महत थिए । यिनलाई नेपाल र नेपालीहरुको आर्थिक जीवनको बारेमा कुनै ज्ञान छैन । आफू कमिसन खाएर देशलाई टाट पल्टाउने आर्थिक कार्यक्रम ल्याइरहे । उनलाई सजिलो थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कुनै धेरै पढेलेखेको मान्छे त थिएनन् । देश र जनता जहाँ गए, जाओस् गिरिजाप्रसाद कोइरालालाई आफू प्रधानमन्त्री भए पुग्थ्यो । रामशरण महत अर्थमन्त्री भएर कमिसन खाएर विदेशीहरुको दलाल गर्न पाए हुन्थ्यो । शिक्षा र स्वास्थ्यमा पनि त्यही रबैया अपनाएका थिए ।

२०४८ सालको कांग्रेसी सरकारले स्वास्थ्य र शिक्षा यसरी अनियन्त्रित निजीकरण नगरेको भए सायद आज स्वास्थ्य र शिक्षा क्षेत्रमा माफियाहरुको बिगबिगी देख्न पर्दैनथ्यो । जनयुद्ध काल भनिने समयमा माओवादी भन्ने लुटेराहरुले विदेशी नामको स्कुल, कलेजलाई कारबाही गर्ने स्यालहुँइया चलाएका थिए । आज आएर हेर्दा सबभन्दा बढी प्राइभेट स्कुल, कलेज र अस्पतालहरु उनीहरुकै नाममा पो भेटिन्छन् । उनीहरुको जनवाद यही रहेछ । २०५१ सालमा एमाले सरकार अल्पमतमा थियो । त्यसैले केही गर्न पाएन भन्ने ठाउँ थियो । वर्तमान केपी सरकार झण्डै दुई तिहाइ बहुमतको नाममा सरकारले जे काम गरेको छ त्यो कसैले बयान गर्र्र्नै पर्दैन । गृहमन्त्रालय अन्तर्गत रहेको सार्वजनिक जग्गाको अधिकार रक्षा मन्त्रालयमा लगेर यति समूहलाई सरकारी जग्गा २५ वर्षको लागि जिम्मा लगाएको छ । स्वास्थ्य मन्त्रालयमा आजिवन चिकित्सा विज्ञान अनुसन्धानदाता विज्ञहरु हुँदा–हुँदै ओमनी कम्पनी र रक्षा मन्त्रालयलाई कोभिड–१९ स्वास्थ्य सामग्री कमिसनका लागि खरिद गर्ने अधिकार सरकारले प्रदान गर्यो ।

चीनको वुहानबाट कोभिड–१९ सुरु भएपछि २०७६ साल माघ महिनातिरै सरकारले त्यही वुहानस्थित नेपाली विद्यार्थीहरुलाई निशुल्क रुपमा नेपाल ल्यायो । यो कामलाई नराम्रो भन्न मिल्दैन । तर, हाल खाडी र मलेसियामा जसको भिसा सकिएको छ उनीहरुलाई सरकारले बेवास्ता गरेको छ । त्यही खाडीमा काम गर्न गएका मजदुरहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । सम्पन्नका छोराछोरीहरु वुहान पढ्न गएका थिए । सरकारले उनीहरुलाई निशुल्क देश फिर्ता ल्याउँछ तर देश धान्ने मजदुरहरुलाई ल्याउन सरकारले आलटाल गरेको देखिन्छ । यो सरकारको जनवाद यहीनेर हेर्नुपर्ने हुन्छ । नेकपा राजनीतिक बजारमा आफ्नाे माल बिकाउन जनताको बहुदलीय जनवाद भन्छ । त्यो जनवाद भनेको के रहेछ भन्ने कुरा सरकारमा गएपछि देखाएको रबैयाले प्रष्ट पारिसकेको छ । नेपाली कांग्रेसलाई झन् नेपालमा २०४६ सालपछि सबभन्दा बढी सरकार चलाउने अवसर मिल्दा उसले देखाएको चरित्रले प्रष्ट पार्छ । नेपालका ठूला दल भनिएका यी दलहरु शाह र पञ्चायतको अर्को रुप मान्दा कुनै अनर्थ लाग्दैन । किनभने, उनीहरु यो नेपाल देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले निर्माण भएको छ भन्ने यथार्थ ह«दयंगम गर्न तयार छैनन् । यो सत्यता स्वीकार गर्दा सबै भाषी, जाति, धर्म र लिंगलाई राज्यको विभिन्न अंगहरुमा समानुपातिक समावेशी गर्नुपर्दछ । त्यसो गरेपछि हिन्दुवादी र खस भाषी एकल जातीय भाषिक बर्चश्व तोडिन्छ । र, राज्यमा हालीमुहाली गर्न पाइँदैन भनेर यो सत्यतालाई नजानिदो पाराले तिलाञ्जली दिदै आएका छन् । नेकपाले समावेशीको नाममा आफ्नाे भाषा र संस्कृतिविरुद्ध बोल्ने सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ र शेरधन राईजस्ता मुखौटीहरु राखेका छन् भने कांग्रेसले कुलबहादुर गुरुङ, मिन विश्वकर्माजस्ता लम्पसारवाद चौकीदारको रुपमा राखेका छन् ।

शाह वंश र पञ्चायतको किन पनि उत्तराधिकारी हुन् भने देश धर्मनिरपेक्ष घोषित नेपालको संविधान २०७२ ले गरिसकेको छ । अहिलेसम्म नेपाली सेनाद्वारा दशैमा गोर्खाबाट फुलपाती हनुमान ढोका ल्याउने चलन यथावत राखेको छ । हिन्दु धर्मलाई प्राथमिकतामा राखेर सरकारले बजेट छुट्याउँछ । इतिहासमा यो देशको निर्माताहरु नै किरात देखिछन् । यसबारेमा नेकपा र कांग्रेस कहिकतै चर्चा समेत गर्न चाहदैनन् । संसारमै लाइट अफ एसिया भनेर गौतम बुद्धलाई चिनिन्छ । तर सुर्खेतको काक्रे बिहारमा बुद्ध मूर्ति स्थापना गर्न चरम् हिन्दुवादी सरकारले दिएन । जबकि, भगवान् गौतम बुद्धको जन्मस्थान नेपाल हो । नेकपा र कांग्रेसले फाल्टै झण्डा र साइनबोर्ड राखे पनि यिनीहरुको भित्री मनसाय एउटै छ, पालैपालो सरकारमा जाने र भ्रष्टाचार गरेर अकुत सम्पति कमाउने । आफ्नाे सन्तानलाई विदेशमा स्थापित गर्ने र देश खोक्रो बनाउने । जबज र प्रजातान्त्रिक समाजवादलाई यिनीहरुले यसरी प्रयोग गर्दै आएका छन् । शक्ति बढाउन कांग्रेसले पार्टीका सिनियर नेताहरुलाई कारबाही गरेर पूर्वपञ्चहरुलाई धमाधम भित्राउँदैछ भने एमाले र माओवादी हातेमालो गरिसकेकै छन् । यी सबै हतकण्डा नेपालका आदिवासी जनजाति, शिल्पी, खस, थारु, मधेसी र महिलाहरुलाई अधिकारबाट बञ्चित गराउन शक्ति सञ्चय गर्दैछन् । हिजो शाह, राणा र पञ्चायतले यस्तै गथ्र्यो । अहिले नेकपा र कांग्रेसले त्यही पुनरावृत्ति गर्दैछन् । यिनीहरु प्रतिगमनकारी हुन् कि होइनन् स्वतन्त्र भएर पनि मूल्यंकन गरौ ।

हिन्दु राष्ट्रवाद

पृथ्वीनारायण शाहको गोर्खा राज्य अभियानसँगै हिन्दु धर्म मान्ने बाहुन जातिलाई उच्च जाति र खस भाषा बोल्ने मात्र राष्ट्रवादी हुन् भन्ने साहित्य र संस्कृति स्थापना गर्न राज्यले लगानी गर्दै आयो । पृथ्वीनारायण शाह कालदेखि अविछिन्न यो काम चलिरहेकै छ । नेपालमा कांग्रेसको सरकार आए पनि अथवा नेकपाकै सरकार आए पनि यसलाई निरन्तरता दिदै आएका छन् । यो पञ्चायत कालमा, प्रजातान्त्रिक कालमा र हालको संघीय गणतन्त्र कालमा पनि यथावत छ । मधेसमा बस्ने मधेसीहरु हिन्दु धर्मावलम्बी भए पनि राज्य उनीहरुलाई मूल नेपाली राष्ट्रियता मान्न आनाकानी गर्छ र भोट पाउनका लागि मात्र मधेसीलाई प्रयोग गर्दै आएको छ । पहाडमा रहेका किरात, लिम्बू, शेर्पा, मगर, तामाङ, गुरुङ र नेवारहरुलाई धेरैजसो जिल्लामा सिडिओ भएर गएका अधिकृतले नागरिकता र राहदानी दिने बेलामा गैरनेपाली जस्तै व्यवहार गर्छ । हरेक शिक्षण संस्थामा विद्यालयदेखि विश्वविद्यालयसम्म यही नीति लागू गरेकोले सरकारको कुनै कार्यालयमा आदिवासी सेवाग्राही पुग्दा म अरुकै देशमा रहेको छु कि के हो भन्ने भान हुन्छ । किनभने सेवाग्राहीले त्यो कार्यालयमा आफ्नाे भाषा बोल्ने र आफ्नाे अनुहारको व्यक्ति देख्नै पाउँदैनन् । अर्कोतर्फ राज्यले आन्तरिक रुपमा बाहुन बाहेक अरु जातिले पढ्दैनन्, आदिवासी जनजातिहरु जंगली हुन् । यिनीहरु लाहुरे बाहेक कही फिट हुँदैनन् भन्ने माहोल सिर्जना गर्दैछ । लाहुरे पनि विदेशी सेनामा मात्र फिट हुन्छन् । नेपाली सेनामा त अफिसरको कुरै नगरौ जवानहरु पनि सजिलै लिदैनन् । हिन्दु शास्त्रले नै भन्छ शरीरभरि रौं उम्रेको मान्छे राक्षसको सन्तान भन्छ । नेपालमा सबै जुंगादाह्री भएका व्यक्तिहरु आफूलाई अब्बल ठान्छन् र आफ्नै सन्तानहरु जो शक्तिको आधारमा पेलेर समाजबाट बहिष्कृत गरिएकाहरुलाई अछुत वा दलित ठान्छन् । अनुहार दाँजेर हेर्दा पनि उपाध्य बाहुन र दमाई कामी अनि सार्कीमा केही फरक देखिदैन । तर, एउटालाई हिन्दु समाजले ब्राम्हण देवताको दर्जा दिएको छ, अर्कोलाई पानी नचल्ने जात भनेर अपमानित गरेको छ । यही हो हिन्दु धर्मको विशेषता ।

यसैको आधारमा पृथ्वीनारायण शाको राज्य विस्तारदेखि शासन चलिराखेको छ, कहिले राणा शासनको नाममा, कहिले पञ्चायत शासनको नाममा, कहिले कांग्रेसको नाममा र कहिले नेकपाको नाममा । केही फेरिएको छैन । किनभने राज्यको सबै अंगहरु यिनीहरुले मुठ्ठीमा राखेका छन् । संसद, मन्त्रिपरिषद्, अदालत, सेना, प्रहरी, निर्वाचन आयोग र गैरसरकारी संस्था समेत सबै यिनीहरुले हातमा राखेका छन् । निर्वाचनमा कुन अमुक व्यक्तिलाई कति हजार मतले जिताउने यिनीहरुको पूर्वतयारी हुन्छ । मुद्दा कसलाई जिताउने र कसलाई हराउने पहिल्यै व्यवस्थापन गर्छन् । त्यसको उदाहरण माननीय रेशम चौधरी र पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्दा हेर्दा छर्लङ्ग हुन्छ । रेशम चौधरी थारुहरुको अधिकार माग गर्दा राज्यले दबाउन खोज्दा विद्रोहको आरोप मात्र लागेका व्यक्ति हुन् । रञ्जन कोइराला सशस्त्र प्रहरीका उच्च पदका अधिकृत हुन् । जसले आफ्नाे श्रीमतीलाई मारेर टुक्रैटुक्रा पारेर प्रमाण मेटाउनलाई जंगलमा लगेर जलायो । जघन्य अपराध गरेको अदालत अगाडि स्विकार गर्यो । त्यस्तो अपराधीलाई अदालतले हालै अदालतले तोकेको सजायको एकचौथाइ सजाय पनि नकाटी अदालतले छोडेको छ । सरकारले निर्मला बलात्कार र हत्याकाण्ड पत्ता लगाउन सक्दैन ३३ किलो सुन तस्करी पत्ता लगाउन सक्दैन । देशमा यस्ता दलहरु र यस्ता दलहरुको सरकार रहुञ्जेलसम्म शान्ति, न्याय र समृद्धिको आशा गर्नु अति नै मुर्खता हुन्छ ।

को कति उत्पीडित ?

नेपालमा सबैभन्दा उत्पीडित हिन्दु अतिवादीबाट दलित दर्जामा राखिएका जातिहरु छन् । चाहे त्यो पहाडी हुन् या मधेसी । तिनीहरुले यो मानव भूगोलमा अमानवीय वा जनावर भन्दा पनि तल्लो तहको विभेद र उत्पीडन सहेर जिवनयापन गरिरहेका छन् । यो विषयले हरेक वौद्धिक बहसमा स्थान पाउँछ । तर कसैले समाधान निकाल्न सकेका छैनन् । हजारौले यसबारेमा सोधपत्र तयार पारे होलान्, लाखौ करोडौ डलर यसैको नाममा झ्वाम पारे होलान् । यो हिन्दु जगत्मा मानवले मानवलाई पशु व्यवहार गर्न छाडेको छैन । यसको मुख्य कारण हिन्दु धर्म नै हो । किनभने अरु धर्म र सभ्यतामा छुवाछुतको कुनै चिज छैन । यो किरात धर्ममा छैन । बौद्ध धर्ममा छैन । यो ईसाई धर्ममा पनि देखिदैन । हिन्दु धर्ममा पनि मनुको पालादेखि मनुस्मृति ग्रन्थमार्फत संस्थागत गर्दै आएको हो ।

नेपालको संविधान २०७२ ले मानव कलंकित शब्द ‘दलित’लाई संविधानमै संवैधानिकरण गरेको छ । यसैको आधारमा हालसालै रुकुम पश्चिममा दलित केटाले गैरदलित केटीसँग प्रेम गर्यो भनेर ६ जना युवाहरुको हत्या गरियो । छुवाछुतको अन्त्य नगरेसम्म यो निर्मम घटनाहरु निरन्तर दोहोरिनेछन् । यो समस्या समाधानका लागि हिन्दु धर्म शास्त्र नै खारेज गर्नुपर्छ भनेर डा. बाबुराम भट्टराई भन्छन् । कुरा त ठीक हो, तर कसले यसलाई खारेज गर्ने भन्ने समस्या छ । भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरले हिन्दु धर्ममा छुवाछुतको मुक्तिको उपाय नदेखेपछि उसको नेतृत्वमा १० लाख दलितहरुले एकै दिनमा बौद्ध धर्म अपनाएका थिए । नेपालमा यसो गर्न पनि सम्भव नहोला । यो विषय त जहिल्यै वौद्धिक विलाश मात्र रहने हो कि भन्ने शंका हुन थालेको छ ।

दोस्रोमा हिन्दुहरुबाट नजानिदो पाराले नेपालका खसहरु उत्पीडनमा परेका छन् । यो कुरा खसहरुले थाहै नपाई उच्च जाति ब्राम्हण भनिनेहरुले गरिरहेका छन् । यो कुरा उनीहरुलाई थाहै छैन । बाहुनहरुले हामी एउटै हिन्दु धर्मावलम्बी भन्छन्, तर गायत्री मन्त्र पढ्ने अधिकार खसहरुलाई दिदैनन् । नेपालमा एउटै जातिको जनसंख्या गणना गर्दा सबभन्दा ठूलो जनसंख्या १६ प्रतिशत भन्दा बढी खसहरुकै छ । खसहरुलाई बच्चा जन्मेदेखि अन्त्येष्टिसम्म बाहुन आवश्यक पर्दछ । खस भनेको बाहुन पण्डितको आम्दानीको स्रोत हो । हिन्दु धर्मले धार्मिक साम्राज्यको कोपभाजन पारेको छ भने त्यो अरु नभएर खस जाति नै हो । बाहुनविना खस जाति धार्मिक अपांगतामा परिणत हुने अवस्था सिर्जना भएको छ । सुरुमा खसको राज्य थियो । त्यही आडम्बरमा बाँचेको थियो । पछि केही समयसम्म सेनामा प्रायःजसो अधिकृतहरु विभिन्न क्षेत्रीको नाममा खसहरु नै थिए । अब सेना पनि बाहुनहरुले भरिन लागेको छ । सरकारको निकायहरुमा पनि प्रतिशतको आधारमा हेर्दा कमै देखिन्छ खसहरु । अहिले हिन्दु धर्म र बाहुनवादको अभेध्य कवच खसहरु नै रहेका छन् । बाहुनहरुको १२ प्रतिशत जनसंख्या हो । तर उनीहरुले राज्यको निकायमा ८० प्रतिशत भन्दा बढी ओगटेका छन् । खसहरुको १६ प्रतिशत जनसंख्या हो । तर सरकारी निकायमा आर्यभन्दा न्यून देखिन्छ । समानुपातिक समावेशी युगमा यो पनि न्यायोचित हुन सक्दैन । तर खसहरुले आफूलाई राज्यले सम्मान दिएकै छ भन्ने सम्झन्छन् । अब उत्पीडितले उत्पीडन महशुस नगरेपछि भन्ने र लेख्ने कुरा पनि केही भएन । स्वतन्त्र आँखाले हेर्दा खसहरुले हिन्दु धर्मबाट एउटा ठाउँमा पनि लाभान्वित भएको देखिदैन । अब हिन्दु धर्मले स्वस्थानी व्रतकथामा नवराजलाई राजा बनाएजस्तो कुनै खसलाई राजा त बनाउदैन होला ।

पृथ्वीनारायण शाहको हस्तक्षेपपछि नेपालमा आदिवासी र जनजातिहरुले आफ्नै भूमिमा एक प्रकारको भाषिक सांस्कृतिक दास भएर बस्न परेको छ । यिनीहरुको आफ्नै भूगोल र राष्ट्र थियो । आफ्नै भाषा र संस्कृति थियो । नेपाल एकीकरणको नाममा यी सबै अमूल्य निधिहरु हिन्दु राज्यको अभियानकर्ताहरुले तहस–नहस गरी र आफ्नाे भाषा अनि संस्कृति आदिवासीमाथि थोपरे । यसैको सौन्दर्यकरण गर्दै पृथ्वीनारायण शाहको भजन गाउँदै कवि, इतिहासकार र वौद्धिक व्यक्तित्व भनिनेहरु अहिलेसम्म पनि रटान लगाइराखेकै छन् । २०६३/६३ को दोस्रो जनआन्दोलन सफल भएपछि पनि विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रम जस्ताको तस्तै राखिएको छ । अझ सरकारले संस्कृत भाषा अनिवार्य गर्ने कार्यक्रम ल्याउँदैछ । यो देशको सत्यता के थियो ? कुन कुन जाति र भाषी थिए ? राज्यले उत्पीडन गर्दा पनि कुन जाति, कुन भाषी र धार्मिक बाचिरहेका छन् ? भन्ने सरकारलाई हेक्का छैन । हेक्क राख्न पनि चाहँदैन । धर्मनिरपेक्ष राष्ट्रमा नेपाली सेनाले दशैमा करोडौ रुपैयाँ खर्च गरेर गोर्खाबाट काठमाडौंको टुँडिखेलमा फुलपाती ल्याएर हर्कबढाइ गर्छ । उधौली–उभौली, ल्होसार, माघी चाड मनाउन टुँडिखेलको छेउको मैदानमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री अतिथि बन्न स्वीकार गर्दैनन् । त्यसैले नेपालका आदिवासीहरुको चाड, धर्म, संस्कृति, खानपान, भेषभुषा राज्यले आफ्नाे ठानेको छैन ।

यलम्बरहाङको पालामा मुलुक स्वतन्त्र थियो

किरात सम्राट यलम्बरहाङको पालामा हालको नेपाल तत्कालिन किरात देश विशाल रहेको थियो । विशाल किरात सभ्यताभित्र सबै राजा रजौटाहरुले सम्राट यलम्बरहाङलाई कर तिर्दथे । यो कुरा मरुतन्त्र हिमवत् खण्डले पनि प्रमाणित गर्दछ । तत्कालिन उनका राज्यभित्र शाक्य, कोलिय, मल्ल (कुशीनगर), मल्ल (पाना), बुली, लिच्छबी, विदेह, भाग, कालम गरी १० राज्यहरु किरात साम्राज्यभित्र पर्दथ्यो । त्यसपछि नेपाल पृथ्वीनारायण शाहलाई उनका चाकडीवाजहरुले जति देवत्वकरण गरे पनि यलम्बरहाङको पालामा भएको भूमिको चार भागको एक भाग एक चौथाइ पनि देखिन्न । पृथ्वीनारायण शाहका भजनमण्डलीहरुले जति भजन लेखे पनि सत्यता देखिदैन । नेपाल पूर्णसार्वभौम सत्तासम्पन्न छ भनेर नथाक्नेहरु नेपालमा धेरै छन् । शाह र राणाले पनि ईष्ट इन्डिया कम्पनीको चाकडी गरेर नै राज्य चलाएको देखिन्छ । राज्य चलाउँदा पनि जनताको हितमा होइन, आफ्नाे जहानिया वैभवको लागि राज्य चलाएको रहेछ भन्ने कुरा इतिहास अध्ययन गर्दा पत्ता लाग्छ । भिमसेन थापाले टिबेटबाट व्यापार गर्न ईष्ट इन्डिया कम्पनीलाई काठमाडौ हुँदै बाटो प्रयोग गर्न दिने सम्झौता गरेका थिए । त्यो सम्झौता कार्यान्वयन गर्न ढिलो गर्दा फेरि नेपाल–अंग्रेजबिच लडाईँ भयो । लडाईँमा नेपालको हार भयो । फलस्वरुपः सुगौली सन्धि सन् १८१६ मा सम्पन्न भयो । त्यो सन्धि एक तिहाई नेपालको भूमि तत्कालित भारतमा रहेको ईष्ट इन्डिया कम्पनी सरकारले लियो । यही निहु पारेर ब्रायन हड्सनले राणाहरुलाई उकासी राज्यद्रोहको मुद्दा लगाई भिमसेन थापाको निर्मम तरिकारले हत्या गराएका थिए । भिमसेन थापाले साम्राज्यवादी अंग्रेजहरुलाई राष्ट्रवादीहरु मिलेर एसियाबाट लखेट्न पर्छ भनेका थिए । यसैको बदला लिन ब्रायन हडसन्ले भिमसेन थापाको हत्या गराएका हुन् । उनी नेपालमा वाणिज्य दूतको रुपमा काठमाडौंको लैनचौरमा २४ वर्ष बसे । जहाँ अहिले बेलायती र भारतीय राजदुतावास रहेको छ । यो भारत स्वतन्त्र नभएको बेलाको घटना हो । सन् १९४७ मा भारत अंग्रेजबाट स्वतन्त्र भयो । भारतको सरकार भारतीय नेताहरुको हातमा आयो तर बोल्नेहरु अंग्रेजी नै थिए । सन् १९५० मा नेपाल र भारतबिच शान्ति सम्झौता भयो । सम्झौताको नाम नै षडयन्त्रपूर्ण छ । झगडा नभएको देशसँग शान्ति सम्झौता भनियो । यसै शान्ति सम्झौताले नेपालको सार्वभौमसत्ता अप्ठ्यारोमा पार्यो । यस सम्झौताको कारणले नेपाल पूर्ण सार्वभौमत सत्तासम्पन्न देश देखिदैन । यो शान्ति सम्झौताको बुँदा नं ५ मा लेखिएको छ ।
The government of Nepal shall be free to import from through the territory of India, arms, ammunituon or warlike material and equipment necessary for the security of Nepal. The procedure for giving effect to this arrangement shall be worked out by the two government acting in consultation.

यसमा नेपालले आफ्नाे सुरक्षाको लागि चाहिने हतियारहरु भारतको जुनसुकै स्थान हुँदै ल्याउन सक्छ भनेर सुरुमा मिठो भाषा प्रयोग गरिएको छ । अन्तिम लाइनमा तर यसका लागि दुई सरकारले व्यवस्थापनको लागि सल्लाह गर्नुपर्छ वा अयलकगतिबतष्यल भन्ने शब्द प्रयोग गरिएको छ । यहीबाट थाहा पाइन्छ कि भारतको आशय नेपालप्रति राम्रो छैन । यही बुँदार्लाइ टेकेर २०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । त्यसबेला पनि भारतले नेपाली सेनाका लागि दोस्रो विश्वयुद्ध ताका प्रयोग भएको इन्सास् राईफल बेच्ने नेपालसँग प्रस्ताव राखेको थियो भन्ने सुन्नमा आएको हो । तत्कालिन नेपाल सरकारले अस्विकार गरेपछि भारतले नाकाबन्दी लगाएको हो भनेर परराष्ट्रविदहरु भन्छन् । भारतले त्यही थोत्रो इन्सास् राईफल पछि माओवादीलाई बेचेर नेपालमा लडाईँ गरायो भन्ने आवाज पनि सुनिन्थ्यो । आजसम्मका नेपालका राज्य सञ्चालकहरुले भारतको निगाहमै चलाएको देखिन्छ । हालसालै नेपालको लिपुलेक नेपालको नक्सामा सामेल गरिएको छ । तर सन् १९६२ देखि भारतले त्यहाँ सेना राख्नु र महेन्द्र शाहदेखि कुनै राज्य सञ्चालकले त्यसबारे केही नबोल्नु ‘दाल मे कुच काला’ त पक्कै छ ।

जसपाको सम्भावना र चुनौती

जसपा नेपालको चारैतिर सम्भावना छ । यो पार्टीले नेपालको हावापानी, जाति, भाषा, धर्म, संस्कृतिलाई मध्येनजर राखेर पार्टीको सिद्धान्त बनाएको छ । कम्तिमा १० वटा राष्ट्रियताहरुलाई पहिचानको आधारमा सम्बोधन गर्नका लागि लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, थरुहट राष्ट्रिय समिति र दलित समुदायको लागि शिल्पी विशेष प्रदेश समिति बनाएको छ । जसलाई १० प्लस १ प्रदेश भनिएको छ । अधिकार र वितरणको लागि समानुपातिक समावेशीको नीति लिएको छ । आजसम्म यति वैज्ञानिक आधारमा नेपालमा कुनै पार्टीले नीति बनाएको छैन । हाल नेपालको राजनैतिक दलहरुमा नेतादेखि कार्यकर्तासम्म जाति, भाषी, धार्मिक, भौगोलिक र लिंगको आधारमा जसपा नै सबभन्दा समानुपातिक नेतृत्व भएको दल मानिन्छ । यस दलमा आदिवासी जनजाति, मधेसी, खस आर्य, दलित/शिल्पी र महिला सबैको प्रतिनिधित्व रहेको छ । नेपालमा मुस्लिम समुदायलाई अल्पसंख्यक मानिन्छ । तर, जसपाले २ नम्बर प्रदेशमा सरकार गठन गर्दा मुस्लिम समुदायको नेतृत्वमा सरकार गठन गरेर अल्पसंख्यकले पनि नेतृत्व गर्न पाउँछन् भन्ने उदाहरण दिएकोे छ । जसपाले पृथ्वीनारायण शाह भन्दा दुई कदम अगाडि बढेर नेपाललाई राष्ट्रिय एकतामा बाँध्ने कोसिस गर्दैछ । पृथ्वीनारायण शाहले ४ जात ३६ वर्णको फुलबारी हो भन्थे । तर नेपाललाई हिन्दु धर्म र आर्य फुल्ने फुलबारी मात्रै बनाइयो । ठीक यसको उल्टो जसपा सबै धर्म, सबै जाति र १२९ भाषा फुल्ने नेपाल बनाउन कम्मर कसेर लागेको छ । जसपाको सुनौलो अभियान कसैले रोकेर रोकिन्न । यो अभियान निरन्तर अगाडि बढिरहन्छ । नेपालको विभेदकारी मिडियाले मधेसी र आदिवासी राष्ट्रवादी हुँदै होइनन् भन्ने हौवा फैलाएर नुनको सोझो गर्ने गथ्र्यो । लिपुलेक बारेमा जसपाको अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले संसदमा दिएको राष्ट्रियताको भाषणको गुन्जनले राष्ट्रियता भनेको के हो भनेर मुलुकका जनताले सिकिराखेका छन् ।

सम्भावनासँगै जसपालाई चुनौती पनि उत्तिकै छ । यो दल मुलुककै शक्तिको रुपमा उदाउने भए पनि देशी विदेशी शक्तिहरु यसलाई छिन्नभिन्न पार्न कोसिस गर्नेछन् । त्यसबाट पार्टीलाई बचाउने एउटै अचुक उपाय हो एकता । यो एकता नेतादेखि कार्यकर्तासम्म अटल रुपमा रहनुपर्दछ । नेतादेखि कार्यकर्ताको गुनासो सुनिन्छ कि पार्टीको कामै भएन भनेर । तर त्यो सत्य होइन । धेरै काम भएको छ । अब झन काम धेरै हुनेछ । जसपाको नेता कार्यकर्ताले सबभन्दा पहिले गर्ने काम मिलेर रहने हो । जसपाका नेता कार्यकर्ताहरु मिलेर सानो काम मात्र गरियो भने अरु शक्ति सोहोरिएर यतै आउनेछन् । एउटा कमजोरी छ जसपाका कार्यकर्ताहरुको, त्यो हो छिटोछिटो फेसबुकमा प्रतिक्रिया दिने । यसलाई अलि मूल्यंकन गरेर मात्र प्रतिक्रिया दिने बानी बसाल्नुपर्छ । जस्तो पूर्वमाननीय सरिता गिरीको बारेमा प्रतिक्रिया आउने गर्दथ्यो । धेरैको शंका थियो कारबाही हुँदैन कि भनेर । तर पार्टीले प्रक्रिया मिलाएर वैधानिक हुने गरी कारबाही गर्यो । जसपा अब शक्तिको रुपमा स्थापित हुँदैछ । अब यसको रफ्तारलाई कसैले रोक्न सक्दैन । नेता र कार्यकर्ता परिवारको सदस्य जस्तै मिलेर काम गर्नुपर्दछ । बस्, यति भए पुग्छ । (लेखक जसपा नेपालका केन्द्रीय सदस्य तथा किरात राष्टिय समितिका अध्यक्ष हुन्)

सन्दर्भ सामग्रीः
डा. स्वामी प्रपन्नचार्य (२०५७) प्राचीन किरात इतिहास
राई (रुपाबुङ), रामचन्द्र (२०६४) प्राचीन किरातहरुले छाडेका सम्पदाहरु
शिवाकोटी, प्रा.डा. गोपाल (२०७४) किरात जाति (पैरवी प्रकाशन)
भट्टराई, लोककृष्ण (२०७३) नेपाली सभ्यता ः विगत र वर्तमान (विद्यार्थी पुस्तक भण्डार)
Hodgson, Brian Houghton, The Origins of Himalayan Studies, edited by David M. Waterhouse – 1820-1858
Bista, Dor Bahadur, Fatalism and Development- 1991

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here