कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्ने काम सरकारका लागि अहिले ठूलो चुनौतीको विषय बनेको छ । कोरोना समुदाय स्तरमा फैलिसकेको छ । सहरी क्षेत्रमा बस्नेहरु लामो समयदेखि कोठाभित्रै थुनिएर बस्नुपर्दा तथा व्यापार, व्यवसाय र मजदुरी गरिखानेहरुलाई ठूलो समस्या पर्दा उनीहरु अहिले धेरै चिन्तित भइरहेका छन् ।

कोरोना रोकथाममा सरकारको कमजोरी कहाँ भयो ? र अब के गर्न पर्ला ? भन्ने सन्दर्भमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईसँग सार्वजनिकले गरेको कुराकानी ।

–सरकारले कोरोना रोकथामका लागि गरिरहेको काम सन्तोषजनक छ कि छैन ?

सरकारले गरेको काम सन्तोषजनक छ भन्न विल्कुल सकिदैन । कोरोना महामारी संसारकै लागि नयाँ अनुभव हो । हाम्रो देशमा कोरोना प्रवेश गर्नुअघि हामीसँग चीन र युरोपको केही अनुभवहरु थिए र विश्व स्वास्थ्य संगठनले हामीलाई मार्गदर्शन गरिरहेको थियो । त्यो अनुभवको आधारमा जति योजना बनाउन सकिन्थ्यो त्यो गर्न सकिएन ।

–बुँदागत रुपमा भन्नुपर्दा यो–यो काम गर्नुपथ्र्यो भनेर के–के भन्न सकिन्छ ?

सरकारबाट सही ढंगले सूचना सम्प्रेषण गर्ने काममा पनि कमी भयो । सरकार प्रमुख (प्रधानमन्त्री केपी शर्मा ओली)ले नै उटपट्याङ खालको अभिव्यक्ति दिनाले जनतामा यो केही हैन रहेछ भन्ने खालको प्रभाव पनि पर्यो ।

अर्को कुरा जुन विदेशबाट आगमन हुने संक्रमितहरुको संख्या वा यो महामारीबाट सुरक्षित हुन आफ्नाे मुलुकमा फर्किनेहरुको संख्या र उनीहरुको व्यवस्थापन गर्नका निम्ति क्वारेन्टिनको सम्बन्धमा पनि सही अनुमान हुन सकेन । जति क्वारेन्टिन बनाइयो, त्यो पनि क्वारेन्टिन होइन ‘कन्सन्ट्रेसन क्याम्प’जस्तो भयो भन्ने क्वारेन्टिनमा बस्नेहरुको अनुभव छ ।
त्यही आत्महत्या गर्ने, त्यही बलात्कार हुने, त्यही असुरक्षित हुनुपर्ने, त्यही संक्रमित हुनुपर्ने, त्यही करेन्ट लागेर मृत्युवरण गर्नुपर्नेसम्मको अवस्था उत्पन्न भयो । त्यसकारण जति क्वारेन्टिन बनाइयो त्यसमध्ये पनि कैयौ सुरक्षित खालका भएनन् । त्यसमा दिनुपर्ने ध्यान र गम्भीरता हुन सकेन ।

त्यसपछि अग्रभागमा रहेर खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुकै सुरक्षाको प्रत्याभूति दिनमा धेरै ढिलाइ हुन गयो । त्यस्ता संक्रमण रोक्ने सामग्रीहरु र संक्रमण भइहालेको खण्डमा र गम्भीर संक्रमण भएमा चाहिने उपचाका आवश्यक सहयोगी साम्रगीको अभाव पूर्तिमा पनि धेरै ढिलाइ हुन गयो ।

त्यसपछि संक्रमण रोक्नका लागि तयारी गर्ने राम्रै समय प्राप्त हुँदा–हुँदै लकडाउन गरेर त्यो तयारी चाहिँ नगर्ने, संक्रमण रोक्ने कामहरु पर्याप्त नगर्ने हाहोमा लकडाउन गरेर राखिदिने, अर्थव्यवस्था चौपट भयो भन्ने स्थिति आएपछि मात्र लुज गर्ने र त्यो लुज गर्ने अवस्था कतिखेर आयो भने चार हजार भन्दा बढी नागरिकमा संक्रमण नाघ्ने अवस्था भएपछि लकडाउन खोल्नुपर्ने अवस्था आयो ।

त्यसकारण लकडाउन गर्ने कुरालाई पनि हामीले उपयुक्त ढंगले प्रयोग गर्न सकेनौ कि । निश्चय नै संक्रमण रोक्नका निम्ति एउटा उपाय लकडाउन हो । तर लकडाउन नै सबै चिज चाहिँ होइन । त्यो महत्वपूर्ण उपायलाई ठीक ढंगले प्रयोग गर्न सकेनौ कि भन्ने लाग्दछ । अहिले ४० हजार भन्दा बढीलाई संक्रमण भइसकेको छ । मान्छेहरु भकाभक मरिरहेका छन्, अहिले आइसोलेशन वार्ड, बेड, भेन्टिलेटरहरुको अभाव छ ।

हिजो मात्र मैले स्वास्थ्य मन्त्रालयको प्रवक्ता (डा. जागेश्वर गौतम)को भनाइ हेरेँ । कि अब संक्रमितहरुलाई व्यवस्थापन गर्ने कुरा सरकारको क्षमता भन्दा बाहिर गइसकेको छ । त्यसकारण हरेक व्यक्तिले आफै जिम्मेवार भएर सोचौ भन्ने स्थितिमा सरकार पुगेको छ । सरकार हाला भयो, सरकारले आत्मसमर्पण गर्यो, सकिनँ हाम्रो क्षमता भन्दा बाहिर गयो भन्यो । र उहाँ (डा. जागेश्वर गौतम)ले ठूल्ठूला विकसित मुलुकको पनि हालत यही छ भनेर उदाहरण पनि दिनुभयो ।

त्यसकारण हामीले अन्तर्राष्ट्रिय अनुभवहरु नै लिदाखेरि पनि चीनको अनुभव, कोरियाको अनुभव जर्मनीको अनुभव लगायत जहाँ संक्रमणलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न सकियो । ती अनुभवहरुबाट सिक्न सक्थ्यौ । हाम्रो मुलुकमा भएको साधन, स्रोत, विज्ञ जनशक्ति सबै चिज जे छ त्यो सरकारसँग नै छ । त्यसकारण जति गम्भीरताका यी अनुभवहरुलाई लिएर हामीले काम गर्नुपथ्र्यो गर्न सकेनौ ।

अहिले संक्रमण पनि चरम अवस्थामा जाँदैछ र पुरै लकडाउन गरेर जान सक्ने अवस्था पनि छैन । यस्तो विरोधाभाषी अवस्थामा हामी उभिएका छौ ।

अर्को कुरा सरकारले सुरुदेखि नै सरकारी संयन्त्र मात्र काफी छ भन्ने दृष्टिकोण लियो । वास्तवमा यसमा पुरै राष्ट्रिय शक्ति र स्रोत साधनहरुलाई सुरुमै परिचालित गर्नुपथ्र्यो । समुदाय स्तरमा संक्रमण फैलनुभन्दा अगाडि नै त्यो काम गर्नुपथ्र्यो । त्यो काममा सरकार पुरै उदासिन रह्यो । सत्ता पक्षकै नेताहरुले सबैलाई समेटेर राष्ट्रिय संयन्त्र बनाऔ, सबै शक्ति परिचालित भन्दाखेरि पनि सरकारले सरकारै पर्याप्त छ भन्ने सोच्यो । सरकारै पर्याप्त छ भनेपछि स्वभाविक रुपमा त्यहाँ अरुले हस्तक्षेप गर्ने कुरा पनि आउँदैन । सरकारले भएका होटल, प्राइभेट हस्पिटल, नर्सिङ होमहरुलाई समेत परिचलान गर्नुपथ्र्यो अनि, स्थानीय प्रदेश र संघीय सरकार तीनै तहको सरकारबिच तालमेल हुनुपर्यो त्यो हुन सकेन ।

–अब हाम्रो देशको जनताको चेतना र सरकारको स्रोध साधनलाई उपभोग गर्दै समुदायस्तरमा फैलिसकेको कोरोनालाई रोकथाम गर्न कस्तो उपाय अपनाउनुपर्छ ?

अब सरकारले पीसीआर परीक्षण गर्ने कुरालाई अफै तीव्रता र व्यापकता दिन जरुरी छ । जो ज्याँदै सिकिस्त अवस्थामा छन् उनीहरुलाई उपचार दिने अवस्था र सबभन्दा नागरिक स्वयंले हिजो सरकारले हात उठाइसकेपछि वास्तवमा हामी नागरिक स्वयंले सचेत भएर संक्रमणविरुद्धमा भूमिका खेल्नुपर्छ ।

संक्रमणविरुद्ध भूमिका खेल्ने भनेको के हो भने सचेत रहने, सुरक्षात्मक उपायहरु अपनाउने, आफू आइसोलेटेड रहने आदि यस क्षेत्रमा हामी आफैले पनि ध्यान दिनुपर्ने अवस्था देखियो । किनकि, सरकारले हाम्रो क्षमताभन्दा बाहिर गइसक्यो भनेपछि नागरिक स्वयंले पनि सचेत भएर सरकारले गर्न सक्ने प्रयत्नहरुमा सघाउनुपर्छ ।

–सरकारले कोरोना रोकथाम हाम्रो क्षमता भन्दा बाहिर गयो । हामी रोक्न सक्दैनौ भन्छ भने त्यो त जिम्मेवार अभिव्यक्ति हुन्न होला नि ?

हिजो मैले सुनेको चाहिँ त्यही नै हो । सरकारले हात उठायो, आत्मसमर्पण गर्यो भन्ने नै बुझेको हो मैले । उहाँहरुले अरु विकसित देशको उदाहरण पनि दिनुभएको थियो । त्यसो भएर अब नागरिक स्वयंले सचेत भएर, जागरुक भएर, सुरक्षात्मक उपायहरु अपनाएर गर्नुपर्ने हुन्छ । समाजमा जति पनि सचेत नागरिकहरु छन्, उनीहरुले आपूmलाई सुरक्षित राख्ने अरुलाई सुरक्षित बनाउने काम गर्नुपर्छ ।

–अहिले लकडाउन भन्दा पनि अलि कडा खालको निषेधाज्ञा लागू भइरहेको छ । अहिले ६०, ६५ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा छ । तर जनता यति लामो समय कोठाभित्र बसिरहनुपर्दा मजदुरी गरेर खानेहरुलाई ठूलो समस्या भइरहँदा जनताले नै अब निषेधाज्ञा गर्न हुन्न, मर्ने मर्छन् बाँच्नेले गरिखान पाउनुपर्यो भनेर निषेधाज्ञाविरुद्ध बोल्न थालेका छन् । अब के गर्दा ठीक होला ?

कोरोनाले भन्दा भोकले मर्ने स्थिति उत्पन्न भएपछिको आवाज हो यो । वास्तवमा सुरुदेखि नै सरकारले कोरोनासँग लड्ने वा त्यबाट जोगिने उपायहरु केही प्रयत्न गर्यो । अब त्यो लकडाउनबाट उत्पन्न हुने श्रमजीवि वर्ग जो दिनभरि काम गरेर साँझको खाना जुटाउँछन् उनीहरुको जीवनमा पर्ने प्रभावको बारेमा सरकारले बहुत कम ध्यान दियो । एक दुई चोटि ५, १० किलो चामल बाँडेको देखियो । त्यसपछि गर्न नसकेर हो कि नचाहेर हो राहत बाँडिएको छैन । त्यसले गर्दा मान्छेहरु भोकैले मर्ने अवस्था पनि सिर्जना भएको रिपोर्टहरु सञ्चारमाध्यममा आइरहेको मैले पढेको छु । मान्छेहरु कतिले आत्महत्या गरेका छन्, कति डिप्रेशनमा गएको स्थिति छ । यस्तो अवस्थामा सुरुदेखि लकडाउनलाई प्रयोग गर्दा अलिकति सोलोडोलो सबै चिज ठप्प पार्ने ढंगले नगरेर व्यवहारिक हिसाबले जान सकिन्थ्यो होला ।

यसमा कोरियाली अनुभव, जर्मनी अनुभवहरुबाट सिक्न सकिन्थ्यो होला । हामीले चीनको हुवानलाई जसरी चीनले शिलबन्दी गर्यो त्यो अनुभवबाट मात्र सिक्ने कौसिय गर्यौ । जसले गर्दा मुलुकलाई पुरै दुई तिन महिना जाम गरिदिने स्थिति बनायौ । त्यसले भोकमरी बढायो, अर्थतन्त्र चौपट बनायो, आखिर संक्रमण त रोक्न सकिएन ।

हामीका संक्रमण प्रवेश गर्ने सम्भावना र स्वरुप फरक खालको हुन सक्छ भन्ने अनुमान नै गर्न सकेन सरकारले । भारतमा पनि त्यो बेला महाराष्ट्र, दिल्लीसम्म संक्रमण आइसकेको अवस्था थियो भने विहार, उत्तर प्रदेश, नेपालको सिमासम्म फैलिएको अवस्था थिएन । अब त्यहाँ पनि आउन सक्छ, त्यसले हामीलाई पनि ठूलो प्रभाव पर्न सक्छ भन्ने सरकारले अनुमान गर्न सकेन । नसकेपछि आजको अवस्था उत्पन्न भएको छ । अहिले संक्रमण पनि चरम अवस्थामा जाँदैछ र पुरै लकडाउन गरेर जान सक्ने अवस्था पनि छैन । यस्तो विरोधाभाषी अवस्थामा हामी उभिएका छौ ।

–हामी यस्तो अप्ठेरो अवस्थामा छौं तर यसबेला सरकारको भूमिका प्रभावकारी हुन सकेन, होइन ?

सरकारबाट त मान्छेले आशा गर्न छोडिसके । तर, पनि सरकारले आफ्नाे नैतिक कानुनी जिम्मेदारीको आफ्नाे हिसाबले गरिरहेको त होला । तर, जनताले सरकारबाट अपेक्षा गर्नै छोडिसके ।

–अब स्थिति झन् भयावह हुने देखिन्छ नि ?

अब विज्ञहरुको कुरा सञ्चारमाध्यममा हेर्दा संक्रमण अझै लाख पुग्ने दिशातर्फ छ । किनभने कोरोना अब समुदायस्तरमा गएको छ । कहाँबाट कसलाई सरेको छ भन्ने पत्ता लाउनै नसक्ने अवस्थामा पुगेको भनेर भनिरहेका छन् । अहिले भदौ महिना हो । कहिलेसम्म यसको श्रंखला जान्छ, यसलाई रोक्नका लागि सम्पूर्ण जागरुक र सचेत नागरिकहरुले पनि भूमिका खेल्नुपर्छ ।

–काठमाडौं उपत्यकामा अहिले निषेधाज्ञा छ । अब निषेधाज्ञा थपे पनि भो, नथपे पनि भो भन्ने कुरामा के चाहिँ ठीक होला ?

निषेधाज्ञा दुई हप्ता लागू गरिसकेपछिको त्यसको प्रभाव के आयो ? त्यसको मूल्यंकन गरेर मात्र भन्न सकिन्छ । यो विज्ञहरुसँग नै बसेर निषेधाज्ञा प्रभावकारी भएको छ कि छैन ? निषेधाज्ञा जारी हुनुभन्दा अगाडिको संक्रमणको दर र निषेधाज्ञा जारी भएपछिको संक्रमणको दरलाई तुलना गरेर अध्ययन गर्नुपर्यो ।

स्वयं नागरिक कति जिम्मेवार भइरहेका छन् ? त्यो हामीमा पनि भर पर्छ । त्यसलाई पनि हेरेर मात्र निषेधाज्ञा कति जारी राख्ने भन्ने टुंगो लगाउनुपर्छ । अघि नै मेले भने निषेधाज्ञा, लकडाउन भन्ने चिजहरु चाहिँ एक मात्र उपाय होइन । त्यसकारण यसलाई कसरी प्रयोग गर्दा प्रभावकारी हुन्छ त्यो रुपमा जानुपर्छ ।

वडा मात्र सिल गरेर हुन्छ कि, टोल मात्र सिल गरेर हुन्छ कि, अरु गतिविधि चल्न दिएर हुन्छ कि, तर सुरक्षात्मक व्यवस्था चाहि लागू गरेर, सावुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, जसले फ्रन्ट लाइनका काम गर्छ पीपीई प्रयोग गर्ने, भिडभाड नगर्नेदेखि लिएर सुरक्षात्मक उपायहरु अपनाएर गतिविधि चल्न दिने, जहाँ संक्रमण देखा पर्छ त्यहाँ सिल गरिदिने हिसाबले पनि जान सकिन्छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here