प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र सफल नहुने जनाउँदै जति धेरै जनचेतना जगाउन सक्यो यस विरुद्धको लडाईं त्यति छिटो सफल हुने बताए ।

‘कोभिड–१९ को विश्वब्यापी महामारी नियन्त्रण सरकारले गर्ने काम र प्रयासले मात्र सम्भव छैन, जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोना बिरुद्धको लडाईं जित्न त्यति सजिलो हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले यस्ता राष्ट्रिय संकट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति बढेकाले यस्तो प्रबृत्ति त्याग्नु पर्ने बताए ।

‘यस्तो संकट र महामारीलाई पनि विरोध गर्ने अवसरका रुपमा लिने प्रबृत्ति बढेको छ, यसलाई बदल्नु पर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध । सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्छ, यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसावले कमजोर रहेको अवस्थामा पनि सबै प्रवन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको बताए ।

‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेका होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसावले हामी कमजोर थियौं’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशहरुको तुलनामा सफलता हासिल गरेका छौं ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here