–रमेश योङहाङ

विगत ३०० बर्षबाट जुन जगमा आधुनिक राज्यहरू खडा गरेर संसारभरका राज्य सम्भ्रान्तहरूले हामीजस्ता राज्यविहीन मानिसहरूमाथि शासन गरिरहेका छन् हाल आएर उक्त आधुनिक राज्यको जग नै पुरै भत्किसकेको अवस्था देखिन्छ ।परिणामतः मुनि जगको तहमा राज्यविहीन जनताहरूलाई हिजो जस्तै सहज तरिकाले शासन गर्ने अवस्था रहेन । त्यो जग भत्किए पनि त्यसको प्रभाव अहिले नै समाजमा प्रस्ट देखिएको छैन । तर सामान्य रूपमा यसको प्रभाव कतै कतै नदेखिएको पनि हाेइन ।

उदाहरणको लागि अमेरिकामा कोलम्वसको मुर्ति यूकेमा विंस्टन चर्चिलको न्युजिलैन्डमा जोन हामिल्टन जस्ता हिजोका आधुनिक राज्य निर्माण गर्ने नायकहरूको मुर्ति भत्काउनु भनेको आधुनिक राज्यमाथि जनताको विश्वास समाप्त हुनु हो । तल आधार संरचनामा बहुलराष्ट्रको लहर संसारभर आउन थालेपछि त्यसको असर स्वरूप उपरी संरचनामा बसेका ट्रम्प, बोरिस जनसन, पुटिन, सि जिङपिङ, मोदी, ओलीजस्ता राज्यधारीहरू ठूलो छटपटाहटमा देखिन्छन् ।

यी सबै सम्भ्रान्तहरूलाई समग्र रूपमा सबै राज्यहरूमा तलबाट उत्पीडित जनताले आक्रमण गरिराखेको अवस्था छ । त्यसैले आफूलाई एक आपसमा बलियो देखाउनलाई तिनै उत्पीडित जनतालाई राष्ट्रवाद र देशभक्तिको एउटै लयमा हिडाउनका निम्ति अनाहकमा छिमेकी देशलाई कृत्रिम शत्रु देखाउँछन्। यसरी युद्ध हुने वा देशै निल्न लागेको हल्ला चलाउँदै आन्तरिक विवादलाई साम्य बनाएर प्रत्येक राज्यधारीहरूको आफ्नो स्वार्थ अनुसार सबै उत्पीडित जनताहरूलाई पनि राष्ट्रवादी भावनाको एउटै धारमा बाध्न खोजेको हुन्छ । त्यसकै लागि शासकहरू कृत्रिम खाले युद्ध वा विभिन्न खाले विवादहरू उत्पन्न गर्छन्, चाहे त्यो विवादित लिपुलेक कालापानी होस् वा भारत चीन विचको लदाक, दोक्लाङ या त भारत पकिस्तान विचको कश्मिर विवाद अथवा चिनको पूर्वी सिमान युसुरी नदिको केही आईलेण्डको बारेमा चीन र रसिया विचको जग्गा विवाद होस् वा हालै साउथ चाइना सी मा फ्रिडम अफ नेभिगेसनको बाहानामा अमेरिकाले गरेको मिलिटरी एक्सरसाइज कण्डक्ट गर्दै चीनलाई धम्कीसहित दबाबमा राख्न खोज्नु या ईङलिस र अन्य युरोपियनहरू एउटै नश्ल र रेसको भए पनि बेलायत ईयुबाट अलग रहेर जर्मन र फ्रेन्चलाई डाहाको दृष्टिले हेर्नु । यो सबै राज्यराज्य विचको द्वन्द कृत्रिम मात्र हो, केवल उत्पीडित जनताहरूको मनमा राज्यको विरूद्ध उठिरहेको चेतनालाई मोड्ने सम्भ्रान्तहरूको एउटै प्रोजेक्ट मात्र हो ।

यो सब गर्नुको एउटै मात्र कारण हो संसारभरका राज्यहरू र त्यसका संभ्रान्तहरू कमजाेर हुँदै जानु हो । यसको उदाहरण भर्खर अमेरिकामा कालो मानिसहरूले ब्लेक लाईफ मेटर भन्दै अमेरिकी आदिवासीहरूसँग गठबन्धन बनाएर मेक्सिको र चीनसँगको झगडालाई बेवास्ता गर्दै क्रिष्टोफर कोलम्वसलाई चाही आफ्नो दुश्मन मानेर उनकै मुर्ती भत्काएको हामीले प्रत्यक्ष देखेका वा सुनेका छौ ।

त्यसपछि हामी जस्तो उत्पीडित जनताहरू उग्र भएर अतिवादी धारमा जान बाध्य हुनेछौ ।

यसरी राज्यधारीहरूले कृत्रिम द्वन्दहरू सिर्जना गरेर आफ्नो आनन्दको थलो वा ह्यावनजोन बचाउने चाहाना पुरा हुन असम्भव देखिन्छ । तर, अब एक दशक राज्यधारीहरूले अझै शक्ति आफ्नो हातमा राख्ने कोसिस गर्नेछन् । त्यसैले अबको संघर्ष भनेको जनताको मुद्दालाई लिएर संघर्ष हुने छैन । राज्यधारीहरूले ३०० बर्षदेखि निर्माण गरेर राखेको विश्वभरका अनेक ज्ञान प्रणाली माक्सवाद उदारवादहरूलाई थप व्याख्या गर्दै राज्यलाई लोकतान्त्रिक, लोककल्यणकारी, समावेशी, समानुपातिक भन्दै अनेक बुट्टा भर्दै अनेक भ्रम छरेर हाम्रा केही बुद्धिजीवी र नेताहरूलाई नै झुक्याउँदै निरन्तर सत्तामा बसेर राज्यको ठाडो भर्टिकल संरचना बनाउँदै त्यसको टुप्पोमा आफू बसेर मुनि फेदको उत्पीडित जनतालाई अझै दबाउँदै पावरलाई आफ्नै हातमा सधै राख्ने कोसीस चल्नेछ ।

त्यसैले अब हामी जस्ता राज्यविहीन जनताहरूले चाहि तिम्रो राज्यको जोसँग दुस्मनी छ तिमी जान्नु तर यो देश हाम्रो पनि हो हामीलाई पनि अब शक्ति चाहियो भनेर सशक्त संघर्सको तयारीमा जुट्नुपर्ने छ । बहुल राष्ट्र राज्य निर्माण गरिएमा उसले भनेको देशभक्तिकै लाइनमा उभिन तयार हुने हो । यदि यस्तै एकल राष्ट्र राज्य नै कायम राख्न खोजे अब हाम्रो मनमा राष्ट्रवादको भावना उसको चाहाना अनुसार जगाउन गाह्रै छ र अबको दिनमा हम्रो विद्रोहलाई हिजो जस्तो दमन गर्न पनि त्यति सहज हुनेछैन । किनकी यो दशकमा हाम्रो आन्दोलनहरू पनि अमेरिकादेखि नेपलसम्म हुँदै हिजोको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन जस्तै यो आन्दोलनको पनि आज अन्तर्राष्ट्रियकरण भइसकेको छ ।

यो १० बर्षभित्र यो उत्पीडितहरूको अन्दोलनहरूले शक्ति आफ्नो हातमा लिन सफल भएको खण्डमा आउने शताब्दीभरि विश्वभरको अवस्था शान्त रहनेछ । यदि संसारभर यी उत्पीडितहरूको हार भएर पुरानै लगभग दुईसय जनाजती राज्यधारी सम्भ्रान्तहरूकै हातमा फेरि शक्ति गएको खण्डमा यो राज्यहरूलाई अझ दमनकारी बनाउने छन् । किनकी जनतालाई दमन गर्न नसकेको खण्डमा आफूहरू सत्ताबाट फ्याकिनुपर्ने कुरो शासकहरूले थाहा पाउनेछन् । त्यसपछि राज्य अधिनायक भएर आउँदा हामी जस्तो उत्पीडित जनताहरू उग्र भएर अतिवादी धारमा जान बाध्य हुनेछौ । त्यसपछि अनगिन्ति स-साना युद्दहरूमा सारा विश्व नै फस्नेछ । यो कुरोको पूर्वअनुमान संसारभरका बुद्धिजीवीहरूले धेरै अघि १९९० तिरै गरिसकेका छन् । तर यस द्वन्दबाट उत्पन्न हुने परिस्थिति कस्तो हुन्छ र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा सबै विद्वानहरू ठूलो अलमलमा छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here