–रविन खम्बु

सन् २०१९ को अन्त्यतिर चीनको बुहान प्रदेशमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) फैलिएको पुष्टि भयो । त्यसको केही समयपछि चीन कोभिड–१९ नियन्त्रण गर्न सफल भयो । चीनमा अहिले पनि केही रूपमा कोरोना भाइरस देखिएको छ भने यो भाइरस विश्वभर अनियन्त्रित भएर परालको आगोजसरी सल्केर नियन्त्रण बाहिर गएको अवस्था छ ।
नेपालमा पनि यसको ठूलो असर रहेको छ । २०७६ चैत ११ गतेबाट नेपाल सरकारले नियन्त्रण गर्ने रणनीति स्वरुप लामो समय लकडाउन गरे पनि नियन्त्रण गर्न सरकार असफल भएको देखिएको छ ।

अहिले नेपालमा ५७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने यो लेख तयार पार्दा सम्ममा २० हजार बढी संक्रमित भएका छन् । कोरोना भाइरसको कारण ठूलो रूपमा मानवीय क्षती भएको छ भने यसले आर्थिक, सास्कृतिक, सामाजिक र मनोवैज्ञानिक रूपमा ठूलो प्रभाव पारेको अवस्था छ ।
यही अवस्थामा सरकार र त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा भदौ तेस्रो हप्तादेखि गर्ने तयारी गरिरहेको छ ।

परीक्षा गर्न सम्भव छ ?

२०७६ चैत ६ गतेबाट एसईई परीक्षा गर्ने तयारी गरे पनि कोरोना भाइरसको कारण सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकोले अन्तिम समयमा परिक्षा स्थगित भयो । कोरोना भाइरस संक्रमणको वृद्धि सँगै लकडाउन पनि नेपाल सरकारले थप्दै लगेकोले शैक्षिक सत्र २०७६/७७ मा हुनुपर्ने कुनै तहको परीक्षा हुन सकेको छैन ।

तर अहिले त्रिभुवन विश्व विद्यालयले भदौको तेस्रो हप्ताबाट परीक्षा गर्ने भनेर सूचना निकालेको छ । के नेपालमा कोरोना भाइरस नियन्त्रण भइसकेको हो ? अहिले पनि सयौंको संख्यामा दिनानुदिन संक्रमित बढिरहेको छ ।
यस्तो अवस्थामा विद्यार्थीहरुको परीक्षा गर्न खोजेको कि परीक्षण ? विद्यार्थीहरुको जीवन ठूलो कि परीक्षा पासको प्रमाणपत्र ? कोरोना भाइरसको आतंकमा बाचिरहेको विद्यार्थीहरुलाई परीक्षा गराउने नाममा मानसिक रूपमा सजाय दिन खोजिदै छ कि पुरस्कृत ?

यही परिस्थितिमा विद्यार्थीहरु परीक्षा दिने अवस्थामा छैन । अहिले परीक्षा गर्न खोज्नु भनेको कोरोनाले आतंकित बनाइरहेकोमा झन् आतंक मच्चाउनु हो । त्रिभुवन विश्वविद्यालय नेपालको मात्रै होइन विभिन्न देशको विद्यार्थीहरु अध्ययन गर्ने थलो हो । उनीहरू अहिले परीक्षा दिन आउने अवस्थामा छैनन् भने नेपालकै विद्यार्थीहरु पनि अहिले धेरै काठमाडौ बाहिर छन् । अहिले पनि पूर्णरूपमा लकडाउन खुलिसकेको छैन भने कतिपय ठाउँमा सिल नै गरिएको छ ।
अर्को कुरा त मौसमको कारण प्राकृतिक विपत्तिहरुसँग पनि सामना गरिरहेको छ । धेरै ठाउँमा बाढीपहिरोले घरहरु नै बगाएको छ भने सडकहरु बगाएर बाटो बन्द भएको अवस्थामा रहेकोले पनि उनीहरू परीक्षा दिन जान सक्दैनन् ।
कोही एक दुई जना गए पनि काठमाडौं जाना साथ क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । स्वभाविक रूपमा क्वारेन्टिनमा बसेर निस्कने वित्तिकै परीक्षा दिने तयारीमा हुँदैन ।

कोरोना भाइरस व्यक्ति व्यक्तिबीच लेनदेन गर्दा सर्ने भएकोले प्रश्नपत्र र उत्तरपुस्तिकाबाट पनि सर्नै जोखिम हुन्छ । यदि विद्यार्थीहरुको भावना, मनोविज्ञान र समस्यालाई नबुझी जबर्जस्त परीक्षा गराए परीक्षाथीहरु संक्रमित भए भने त्यसको जिम्मेवार को हुन्छ ? सरकारले संक्रमित नहुने ग्यारेन्टी लिन सक्छ ? यस्तो भयावह स्थितिमा जोखिम मोलेर परीक्षा गराउनु भन्दा केही समय पर सारेर परीक्षा गराउन उत्तम हुन्छ । परीक्षाको लागि सरकारले भौतिक व्यवस्थापन गरे पनि विद्यार्थीहरु मनोवैज्ञानिक रूपमा तयार छैनन् ।

विद्यार्थी संगठनहरु किन मौन ?

विद्यार्थीहरुको हक अधिकारको विषयमा संघर्ष गर्न र उनीहरुलाई सहजीकरण गरेर समस्या समाधान गर्न भूमिका खेल्नको लागि स्थापित जिम्मेवार संगठनहरु आज यस्तो विषम परिस्थितिमा किन बोल्दैनन् ? विद्यार्थी संगठनहरुले नबोल्नु भनेको अहिले परीक्षा गराउन उपयुक्त समय हो भन्ने संगठनहरुको बुझाइ हो ? यस विषयमा सबै जिम्मेवार संगठनहरुले गम्भीर भएर सोच्नुपर्छ ।

विद्यार्थीहरुको अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ । विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको मर्म भावना नबुझ्नुले विद्यार्थी आन्दोलन स्खलित हुँदै गएको छ । विद्यार्थी संगठन प्रगतिशील, सिर्जनशील हुनुपर्छ ।
अब विद्यार्थी आन्दोलन र संगठनहरुलाई परिमार्जित गरेर पार्टीहरुको हनुमाने, नारद प्रवृत्ति भएको कार्याकर्ता उत्पादन गर्ने कारखानाको रूपमा मात्रै नभएर देशको असल, प्राज्ञिक नागरिक उत्पादन गरेर समाज रुपान्तरणमा निस्वार्थ योगदान गर्न सक्ने दार्शनिक व्यक्तिहरु जन्माउने थलोको रूपमा विकास गर्नुपर्छ ।

आज विद्यार्थीहरुको समस्या र विद्यार्थी संगठनहरुको बुझाइमा मेल खान सकेको छैन । विद्यार्थीहरु विभिन्न खाले समस्यामा फसेका हुन्छन् । तर विद्यार्थी संगठनहरु त्यो समस्या समाधानको लागि भन्दा पनि कुनै आफ्नो पार्टीको सरकारको समर्थनमा त कुनै विरोधमा संगठनको झन्डा लिएर सडकमा जिन्दावाद र मुर्दावादको नारामा अल्झिरहेको छ ।
विद्यार्थीहरुको खास समस्यामा कुनै पनि संगठनले दरिलो आवाज उठाउन सकेको छैन । विद्यार्थीहरुको प्रत्यक्ष समस्या बुझ्न् नसक्नु भनेको अहिलेको जिम्मेवार भनिएको कुनै पनि संगठनको नेतृत्वहरु खासमा उनीहरु वास्तविक विद्यार्थी नै होइन ।
संगठनको केन्द्रीय नेतृत्वमा रहेकोे धेरै नेताहरू प्राय क्याम्पसहरुबाट धेरै वर्ष अगाडि पास आउट भएकाहरु छन् । नेतृत्वको अवसर लिनलाई मात्रै विद्यार्थी राजनीति गर्नेले वास्तविक विद्यार्थीको पिडा बुझ्न सक्दैन ।

अहिलेको जिम्मेवार संगठनको नेतृत्वहरु साच्चै विद्यार्थी नै हो त ? यदि विद्यार्थी नै हो भने खासगरी अनेरास्ववियुको संयोजक ऐन महर, नेविसंघको सभापति राजिव ढुंगाना, सवियुको अध्यक्ष रुपनारायण श्रेष्ठ लगायत विद्यार्थी नेताहरूको अध्ययनरत क्याम्पस कुन हो त ?

मलाई लाग्छ उहाँहरुले यस्ता प्रश्नको जवाफ दिन सक्नुहुन्न भने विद्यार्थी आन्दोलन हाक्न सक्नुहुन्न । त्यसैले अबको विद्यार्थी संगठन र आन्दोलन परिमार्जित हुनुपर्छ । संगठन र आन्दोलन हाक्ने नेताहरु प्रत्यक्ष विद्यार्थी र उनीहरुको समस्यासँग जोडिएको हुनुपर्छ । विद्यार्थीहरुको समस्यामा संगठनहरु मौन हैन निर्णायक हुनुपर्छ ।

(खम्बु समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here