वडा शिक्षा समितिकाे बैठकपछि सामूहिक तस्बीर

विजय चाम्लिङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङमा चाम्लिङ राई भाषा पठनपाठन सुरु गरिने भएको छ । वडा नं ५ को शिक्षा समितिको साउन १८ गते बसेको बैठकले चालू शैक्षिकसत्रदेखि नै वडाभित्रका सरकारी विद्यालयहरुमा चाम्लिङ राई भाषाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

वडा शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष निर्मल राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । वडा अध्यक्ष राईले कोरोना भाइरस (कोभिड–१९) साम्य हुँदै गए आगामी भदौ पहिलो हप्तादेखि विद्यालयहरु सञ्चालन हुने र सोही बेलादेखि चाम्लिङ भाषाको पढाई सुरु गरिने बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि मातृभाषा शिक्षा लागू गर्ने विषय उल्लेख छ ।

‘हामीले नै पहल गरेपछि नगरपालिकाको नीति तथा कार्यक्रममा मातृभाषा शिक्षा लागू गर्ने विषय समेटिएको हो,’ वडा अध्यक्ष राईले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्थाअनुसार वडाका विद्यालयहरुमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको हो ।’

चाम्लिङ समुदायको बाहुल्यता रहेको वडा नं ५ मा एक माध्यमिक र चार आधारभूत गरी पाँचवटा विद्यालयहरु छन् । सबै विद्यालयमा चाम्लिङ भाषाको शिक्षा लागू गरिनेछ ।

चाम्लिङ भाषाको पठनपाठनका लागि किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले समन्वय गरी पहिल्यै पाठ्यपुस्तक तयार पारिसकेका छन् ।

चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्म पाठ्यपुस्तक तयार पारिएको थियो । उक्त पाठ्यपुस्तक नै आफूहरुले लागू गर्ने वडा अध्यक्ष राईले बताए । तत्कालका लागि विद्यालयमा कार्यरत चाम्लिङ भाषा जान्ने शिक्षकहरुले नै पुस्तक पढाउने छन् ।

वडा अध्यक्ष निर्मल राई

किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईकाअनुसार हालसम्म खोटाङ र उदयपुर जिल्लाका १७ वटा विद्यालयहरुमा चाम्लिङ भाषाको पठनपाठन भइरहेको छ ।

खोटाङस्थित साकेला गाउँपालिकाको रतन्छा, हलेसी तुवाचुङ नगरपालिकाको धितुङ र उदयपुरस्थित लिम्चिङबुङ गाउँपालिकाको बलम्तामा चाम्लिङ भाषाको शिक्षा लागू गरिएको हो ।

खाम्बातिम अध्यक्ष राईले हाल कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माणका लागि पनि आफूहरुले काम गरिरहेको बताए ।

स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन (मातृभाषा सहित) २०७६ मा आधारभूत तहमा एक हप्तामा ५ घण्टा र एक वर्षमा १६० घण्टाको पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

तर, हालसम्म खोटाङ, उदयपुर क्षेत्रका स्थानीय तहले आफ्नै पहलमा मार्गदर्शन बमोजिमको पाठ्यक्रम निर्माण गरेका छैनन् ।

‘हामीले चाम्लिङहरुको घनाबस्ती भएकाे ठाउँमा चाम्लिङ भाषाको पढाई हुनुपर्यो, शिक्षककाे व्यवस्था गर्नुपर्यो भन्दै आएका छौ,’ खाम्बातिम अध्यक्ष राईले भने, ‘नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुसँग कुराकानी गरेका छौं ।’

चाम्लिङ बाहुल्यता भएकाे स्थानीय तहमा सरकारी कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई मान्यता दिन खाम्बातिमको माग छ ।

खोटाङमा हालै हलेसी तुवाचुङ नगरपालिकाले चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here