लकडाउन तथा विभिन्न बहानामा मजदुरहरुलाई कामबाट निकाल्नुका साथै उनीहरुले पाउने सुविधा कटौती गरिएको भन्दै शुक्रबार काठमाडौंमा मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् ।

६ वटा ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा विभिन्न क्षेत्रका मजदुरहरुले प्रदर्शन गरेका हुन् । शुक्रबार दिउँसो १ बजे सुरु भएको प्रदर्शनमा मजदुरहरुले मजदुरविरोधी सम्झौता र कानुन खारेज गर्नुपर्ने, रोजगारी पाउनुपर्नेलगायत माग राखे ।

समाजवादी पार्टीनिकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, माओवादी केन्द्रनिकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले)निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ, नेकपा (संयुक्त)निकट नेपाल ट्रेड युनियन फेडेरेशन र स्वतन्त्र ट्रेड युनियन महासंघको आयोजनामा प्रदर्शन गरिएको हो ।

नेपाल समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष अर्जुन लम्सालले टेलिफाेन सम्पर्कमा भने, ‘लकडाउनको बेला विभिन्न बहानामा मजदुरहरुलाई जागिरबाट निकाल्ने, सेवा सुविधा कटौती गर्ने र हतारहतारमा स्वार्थसहित मजदुरविरोधी सम्झौता गर्ने काम भएको छ जुन मजदुरहरुको विरुद्धमा छ ।’

लम्सालले आफूहरुका संगठनलाई थाहै नदिई सत्ता निकटका तीनवटा संगठनका प्रतिनिधिहरुले स्वार्थमा लागेर सरकारसँग मजदुरविरोधी सम्झौता गरेको बताए ।

उनले आफूहरुले अब चाडै बैठक बसी थप आन्दोलनको कार्यक्रम ल्याउने बताए । माइतीघर मण्डलामा भेला भएका मजदुरहरु सरकारविरुद्ध नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका थिए भने बानेश्वरमा कोणसभा भएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here