–बालकृष्ण माबुहाङ

पाथीभरा पहाडको नाम सुनेको तर नपुगेको, संयोगले २०५८ साल चैत्र तिर पुगियो । सुकेटारबाट बिहान ९/१० बजेतिर हिँडियो बाटोमा चिया, चिउरा-दही खान पाउने आशामा । पाइन्छ भनेर स्थानीयले भने पनि । तर खाने ठाउँ कहीँ पाइएन। फेदीबाट करिब २ बजे उकालो लागियो । सुकेटारको नास्ताले छोड्यो। खाली पेट बेलुकी करिब ६ बजे टुप्पोमा पुगियो, रातसाँझ । २/३ वटा पाटी रहेछन् । दिलमाया लिम्बु, विद्यार्थी र अरू २ जना साथीहरू थिए। दिलमाया एकदम टाठी, उनैको अनुरोधमा नेपाली सेनाका जवानले भटमास-चिउरा दिए हामीलाई । बलेको मुढोको धुवाँको मुस्लो, चिसोको बिच थर्पुका एक जोडी बाहुनको छेउमा ओछ्यान साट्न बल गरियो । बडो कठिनले रात काटियो । बिहान उठेर हेर्दा वरिपरि हिउँ र तुसारोले सेताम्मै। वरिपरिका पहाडहरू होचा तर हरियाली, हिमालहरू अग्ला तर सबै सेताम्मै हिउँका भकारी । आश्चर्य लाग्दो स्थान पाथीभरा ।

स-सानादेखि ठुलाठुला घण्टाहरू बजेको आवाजले शान्तिको एकाग्रतालाई एक्कासी होहल्लामा बदलियो, बिहान सबेरै । सबै तिर्थालुहरू पुजाको लागि तयार भई लाइन लागे । पितल/काँसको ढलोट, रातो रगत र रङ्ले पुरिएको र शक्तिको प्रतिमूर्ति पाथीभरा देवीको रूप हेर्दा साँचै नै उनी शक्तिको स्रोत हुन जस्तो, सामान्य मानिसको सपना उनले पुरा गर्ने विश्वासमा मान्छेहरू टाढाटाढाबाट कष्टका साथ दर्शनको लागि आउँदा रहेछन् । लिम्बु जनजातिको भाषामा मुक्कुम भनेको आगो (ज्वालामुखीको लाभा जस्तो), लुङ् भनेको ढुङ्गा र ‘मा’ भनेको स्त्री लिङ्ग सूचक ‘मुकुमलुङ’ भनिन्छ। लिम्बु जनजातिको ‘मुम्धुम’ मा यो स्थानलाई पवित्र स्थल (सैक्रेड प्लैस) मानिन्छ।

हवाई विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. प्रेम फ्याक सित मुक्कुमलुङकाे सन्दर्भमा कुरा हुँदा, हवाईको मौनाकिया माउन्टको बारेमा चर्चा भयो । फ्याकले मौन्ट मौनाकियाको सन्दर्भ निकाल्नुभयो, जुन हवाइएन जनजातिहरूको मुकुमलुङ्मा जस्तै पवित्र स्थल रहेछ । ज्वालामुखीबाट बनेको मौनाकियाको बारेमा सन्दर्भ सामाग्री भन्छः https://www.space.com/coronavirus-shrinks-thirty-meter-tele…

दुनियाँमा अग्ला हिमालहरूको नाम लिन पर्दा केबल २ वटा छन्: माउन्ट एभेरेस्ट (८८४८ मि. समुन्द्रको सतहबाट) र माउन्ट मौनकिया (१०,२१० मि. समुद्रको गहिराई पिँधबाट)। माउन्ट एभेरेस्ट समुद्रको सतहबाट सबैभन्दा अग्लो छ भने माउन्ट मौनाकिया समुद्रको पिँधबाट र फेदी (बैस) बाट चुचुरो सम्मको दुरी सबैभन्दा अग्लो छ।

Mauna Kea, Hawaiʻi County, Hawaiʻi, United States

पृथ्वीको भूमध्य रेखाको नजिक पर्ने भएकोले मौनाकिया अन्तरिक्षको अवलोकन गर्न सबैभन्दा धेरै महत्त्व राख्दछ। मौनाकियामा अहिले १३ वटा दूरबिन (टेलिस्कोप) जडान भएको स्रोतको दाबी छ: नासा, क्यालटैक, जापान, केकका टेलिस्कोपहरू जडित छन्। तीस मिटरका टेलिस्कोप (टिएमटी) परियोजनाले थप भीमकाय टेलिस्कोपहरू जडान गर्न गइरहेको छ। त्यसको विरोधमा हवाइएन आदिवासीहरू सडकमा उत्रेका छन्। पुहौनु र पुहुलुहुलु दुइटा समूहले धर्ना दिइरहेका छन् कि मौनाकिया हवाइएन आदिवासी जनजातिको पवित्र स्थलमा भीमकाय टेलिस्कोपहरू जडान नगरियोस् भनेर । कोरोनाको प्रकोपबाट बच्न पाका (कुपुना)हरूको अनुरोधमा धर्नाकारीहरू पछि हटेका छन् तर उनीहरूकाे संघर्ष जारी रहेको स्रोत बताउँछ ।

मामला के हो ?

आदिवासीहरूको धर्ना दिनुको कारण मौनकियाको टुप्पोमा ठुलाठुला भीमकाय टेलिस्कोपहरू (करिब १०० मिटर डायमिटरका) जडान हुँदैछन् । तिनले मौनाकाय पर्वतको पवित्रतामा आँच आउने आन्दोलनकारीहरूको तर्क छ । टेलिस्कोप जडान गर्नेहरूको तर्क छ: उक्त भीमकाय टेलिस्कोपको जडानले व्रम्हाण्डमा हुने स-साना वस्तुहरू, संवेदनशील तवरबाट अन्तरिक्षको विभिन्न विधाहरू- एक्सोप्लानेट, स्टेलार फिजिक्स र व्रम्हाण्डको विषयमा शुक्ष अध्ययन गर्न मदत मिल्नेछ । तर आदिवासीहरूको विरोध के छ भने अहिले नै १३ वटा दुर्विनहरू जडित छन्, त्यो भन्दा सयौँ गुणा ठुला भीमकाय दुर्विनहरू जडान गर्ने हो भने मौनकिया पर्वतको सौन्दर्यता र पवित्रता पूर्ण रूपमा ध्वस्त हुन्छ। त्यस कारण ती टिलिस्कोप त्यहाँ जडान गर्न हुँदैन।

बालकृष्ण माबुहाङ

हवाईएन आदिवासीहरू के विश्वास गर्छन् भने ज्वालामुखी विस्फोटपछि मौनाकिया पर्वतको उत्पत्ति भयो, जहाँ मानव जीवनको जन्म भयो । उनीहरूको धर्ममा वा विश्वासमा मौनाकिया पर्वत जहाँ आकाश र धर्तीको मिलन हुन्छ। त्यसपछि उनीहरू बिच भएको संसर्गले पृथ्वी गर्भाधान भइन् र अन्ततः मानव जातिको जन्म भयो । आन्दोलनकारी हवाइएन आदिवासी समुदायकी एक सदस्य नोय-नोय वङ विल्सनको विचार:

“मलाई थाहा छ, अन्तरिक्ष शास्त्रीहरू विज्ञानलाई माया गर्छन्, र विश्वास छ कि जे गर्छन् त्यसको उचित कारणहरू छन्। हामी अन्तरिक्ष विज्ञानका विरोधी होइनौँ। हामी हाम्रो पवित्र पहाड (माउन्ट) माथि बन्न लागेका भीमकाय संरचना निर्माणको विरोधी मात्र हुँ । र हामी यो स्पष्ट गर्न चाहन्छौँ कि जसको कारण ती हाम्रा पवित्र स्थलहरू हराउँछने छन् ।”

गएको जनवरीमा अमेरिकन अन्तरिक्षशास्त्रीहरूको बैठकमा उनीहरूसित भएको कुराकानीले युवा वैज्ञानिकहरूको कार्यले समुदायलाई पार्ने प्रभावको बारेमा उनीहरू सचेत बने । गएको पछिल्लो डिसम्बरमा दुवै पक्ष दुई महिनाको लागि संघर्ष विराम गर्न सहमत भएका छन्। त्यहाँको स्थानीय सरकारको मेयर परियोजना ढिला हुनुको कारण आलोचित बन्न पर्योम, तर टिएमटी परियोजना अहिले रोकिएको छ । जापान लगायत पार्टनर मुलुकहरूले पनि परियोजनाबाट हात झिकेर स्पेनको टापुतिर कतै टेलिस्कोप स्थापना गर्ने हो कि भनेर विकल्पहरू हेरी रहेको अवस्था छ।

मुकुमलुङकाे अध्यात्मिक पक्षको बारेमा धेरै जानकार छन् । मुकुमलुङकाे विगतको अवस्थाको विषयमा सञ्जुहाङ पालुङ्वाको फेसबुक स्टाटसमा व्यक्त विचार:

“मैले देखेको मुकुमलुङ,त्यहाँ कुनै प्रकारको मूर्तिहरू थिएन,त्यहाँ पुजारी ढुक्कै बस्ने चलन पनि थिएन । याक्थुङ (लिम्बू) फेदाङ्मा, साम्बाहरु मात्र हुन्थे। थानको उत्तर भागमा डेढ-दुईफुटको ठाडो ढुङ्गा र फलामका त्रिशूल गाडिएको थियो। एउटा घण्टी थियो। पुजास्थलको मुख्य भागलाई फेदाङ्मा,साम्बाले “कुहाक” भन्ने गर्थ्यो । दक्षिण तर्फ स,साना डुङ्गाहरू लहरै गाडिएका थिए। ती कुई-कुदा, ताफ्फेङ, तामभुङना र वहङ(खोला)हरुको प्रतिकका रूपमा पूजा हुन्थ्यो। हाम्रो जेठा बाजे (येबा) ले ईम्बिरीयाङधाङवा (तमोर), केतकलु-ङमिवाका, सित्तोलुङमैवामा (मैवा),यभकलुङ फावामा (फावा), काङवामा (काबेली), साँवामा, नावामा भन्दै सबै खोलाहरूको नाम पुकार्दै सेवा गरेको मेरो मानसपटलमा ताजै छ।” https://www.facebook.com/search/top/…

आज, मुक्कुमलुङलाई पाथीभरा देवी भनेर एक शक्तिपिठको रूपमा सर्वत्र पुज्ने गरिन्छ, खासगरी हिन्दु धर्मावलम्वीहरूले । त्यसको एउटा कारण के हो भने लिम्बुवान हिन्दु अधिराज्यको अधीनमा आउँदा लिम्बुहरूको लिम्बुवान एउटा स्वाधीन र स्वायत्त अभिन्न अङ्गका रूपमा गोर्खाली शासकले बचनबद्ध भएता पनि कालान्तरमा लिम्बु जनजातिका प्राकृतिक, अध्यात्मिक आस्था र विश्वासका स्थानहरूलाई काठमाडौँ केन्द्रित शासकहरूले छिन्ने काम गरे। विशेष हिन्दु अधिराज्य र राजतन्त्रात्मक परिपाटीले । तर आज करिब साढे दुइसय वर्षको एकात्मक राजतन्त्रात्मक हिन्दु अधिराज्यको अन्त भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।

परिवर्तित अवस्था

लोकतन्त्रको पुनः स्थापना, त्यसपछि गणतन्त्रको स्थापनासहित मुलुक अहिले बहुजातीय, बहुधार्मिक तथा बहुभाषिक संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष राज्य विधानतः स्थापना भएको अवस्थामा मुक्कुमलुङमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कसरी कार्यान्वयन हुन्छ ? र कसरी स्थानीय रूपमा लिम्बु तथा गैरलिम्बु सबैले मनन् गर्ने वा बुझ्ने भन्ने चुनौती रहेको बुझिन्छ।

लिम्बुहरूको आकांक्षा र चाहाना त लिम्बुवान संघीय लोकतान्त्रिक गणतन्त्रको एक संघीय एकाइ हुनुपर्छ भन्ने थियो । विडम्बना संविधानले लिम्बुवान प्रदेश सुनिश्चित नगरी प्रदेश नम्बर एक निर्माण गर्यो । अपितु बहुजातीय, बहुधार्मिक तथा धर्मनिरपेक्ष राज्य विधानतः घोषणा भई कार्यान्वयनमा रहेको अवस्थामा लिम्बु जनजातिको पवित्र स्थल मुकुमलुङकाे संरक्षण तथा संवर्धनको दायित्व राज्यले कसरी पुरा गर्छ भन्ने मामला हो, यो । विधानतः स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्दछ।

मुक्कुमलुङ

मुकुमलुङलाई पाथीभरा भनिँदै आएकोमा उक्त स्थललाई मुकुमलुङ भन्नलाई कुनै समस्या छ जस्तो लाग्दैन । तर पाथीभरा देवी, जुन हिन्दु धर्मावलम्बीहरूको पनि आस्था र विश्वासको स्थल छ, त्यसको निरन्तरता र सत्यहाङमा धर्मावलम्बीहरूको फाल्गुननन्दको कद स्थापना भएको छ, त्यसको निरन्तरता सहित लिम्बु जनजातिको पवित्र स्थलको संरक्षणलाई व्यवस्थित गर्नु उपयुक्त हुन्छ । थप संरचनाहरू निर्माण गर्ने, निजी कम्पनीहरूलाई विभिन्न संरचनाहरू निर्माण गरेर नाफा कमाउने जुन सोच छ, त्यो अविलम्ब बन्द गरिनु पर्छ । मुकुमलुङमा पर्यटकीय स्थल भन्दा पनि आदिम मानव जातिको उत्पत्ति, विकास र विश्वासको स्थल भएको हुनाले लिम्बु आदिवासीको पवित्र स्थलको रूपमा राख्न राज्यले आवश्यक पहल गर्नु उपयुक्त हुन्छ। हिन्दु धर्मावलम्बीहरूको शक्तिपिठ- पिण्डेश्वर, बराहक्षेत्र, दक्षिणकाली, सतासी-धाम, आदि विभिन्न स्थानहरू पूर्वमा स्थापित भई विकास गरी सकेको सन्दर्भमा लिम्बु लगायत अन्य जनजातिको सांस्कृतिक, अध्यात्मिक, धार्मिक, तथा पवित्र स्थलहरूको संरक्षण तथा संवर्धनमा सम्बन्धित जाति, जनजाति, तथा राज्यको भूमिका महत्त्वपूर्ण हुन्छ । माबुहाङकाे फेसबुकबाट

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here