टेकराज थापा

सुर्खेतमा रासायनिक मलको अभाव भएको छ । युरिया, डिएपी, पोटास लगायत मलको अभाव भएको हो । किसानले खेतबारीमा मल राख्ने बेला अभाव सिर्जना भएको छ ।

यतिबेला कृषकले धान रोपेर खेत गोड्ने बेला भइसकेको छ । धान गोड्ने बेला खेतमा रासायनिक मल राख्ने गरिन्छ । नेपाल सरकारको सहुलियत दरमा उपलब्ध हुने अनुदानको मल अभाव भएपछि कृषकका अगुवा संघसंस्थाहरुले ज्ञापनपत्र पेश गरेका छन् ।

मलको अभाव भई धानबाली पूर्णतय प्रभावित हुने, कृषकको मेहनत र लगानी खेर गई प्रदेशमै भोकमरीको अवस्था सिर्जना हुने भन्दै कृषकका अगुवा संस्थाहरुले सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

बिउ, मल र कृषि प्रविधि राज्यको तर्फबाट सहुलियतमा उपलब्ध हुनुपर्नेमा मलको अभाव भएपछि सरोकारवालाको ध्यानाकर्षण भएको हो । जिल्ला कृषि सहकारी संघ लि., राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला सहकारी संघ, नेपाल जडिबुटी व्यवसायी संघ सुर्खेतले ज्ञापनपत्र पेश गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत कृषकका अगुवाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष पञ्चकला रावत, राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष शशिराम आचार्य, प्रदेश अध्यक्ष सन्तबहादुर केसी, जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपाने, जडिबुटी व्यवसायी संघका महासचिव मोतिराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here