पोखरा विश्वविद्यालयमा ११ महिनादेखि रिक्त पदाधिकारीहरुको नियुक्तीको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ती छिटै हुने आश्वासन दिएको विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए ।

११ महिनादेखि उपकुलपति, रजिष्ट्रार, डिन, कार्यकारी परिषद, प्राज्ञिक परिषद, परीक्षा नियन्त्रक, परीक्षा समिति, निर्देशक लगायतका पदहरु रिक्त हुँदा विश्वविद्यालयका गतिविधिहरु ठप्प छन् । यही कारण गत वर्षको दीक्षान्त, विद्यार्थीहरुको परीक्षा, परीक्षाफल प्रकाशन, शैक्षिक कागजात वितरण, अनलाइन कक्षा तथा परीक्षाबारे नीतिगत निर्णय, बजेट सभा आदि हुन सकेको छैन ।

यी समस्याका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरु लकडाउन अन्त्य लगतै आन्दोलनमा उत्रिएका छन् । यसैको निरन्तरतामा अनेरास्ववियूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संगठनका पोखरा ईञ्जीनियरिङ कलेज कमिटीका अध्यक्ष सुन्दर गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here