मुक्कुमलुङ

काठमाडाैं । याक्थुङ (लिम्बू) समुदायको ऐतिहासिक तथा धार्मिक स्थल ‘मुक्कुमलुङ’लाई हिन्दुकरण गरी ‘पाथीभरा’ बनाउने सरकारी प्रयास नरोकिए लिम्बुवान क्षेत्रका युवाहरुले बलिदानीपूर्ण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

ताप्लेजुङमा रहेको मुक्कुमलुङलाई सरकारले पाथीभरा देवी मन्दिरको रुपमा विकास गर्ने प्रयास गरेपछि लिम्बुवान क्षेत्रका सचेत र अग्रगामी युवाहरु संलग्न ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ले हाल एक प्रेस विज्ञप्ति जारी गरी मुक्कुमलुङमाथिको अतिक्रमण नरोकिए बलिदानीपूर्ण संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

सरकारले मुक्कुमलुङलाई पाथीभरा बनाउन खोजेपछि सो क्षेत्रको नाम मुक्कुमलुङ नै हुनुपर्ने मागसहित हाल ‘मुक्कुमलुङ संयुक्त संघर्ष समिति’ गठन गरी शान्तिपूर्ण आन्दोलन जारी छ ।

सरकारले मुक्कुमलुङमा पाथीभरा देवी मन्दिर स्थापित गर्ने र सोका लागि सडक र केवुलकारसहितको पूर्वाधार निर्माण गर्न यति होल्डिङस्लाई जिम्मा दिएको छ ।

याक्थुङ लिम्बुहरुले परापूर्व कालदेखि नै सो क्षेत्रलाई ‘मुक्कुमलुङ युमा माङ’को नामबाट पुज्दै आएका छन् । राज्यले लिम्बु समुदायको धार्मिक सांस्कृतिक धरोहरहरुको अतिक्रमण गरी हिन्दुकरण गर्न थालेको भन्दै मुक्कुमलुङ संयुक्त संघर्ष समितिले आन्दोलन गर्दासुरक्षा प्रशासन लगाएर दमन गरिएको छ । राज्य पक्षबाट गरिएको उक्त दमनको लिम्बुवान स्प्रिङ आन्दोलनले भत्र्सना गरेको छ ।

राज्यले विकासको नाममा लिम्बू समुदायको ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु तहसनहस बनाएर औपनिवेशीकरण गरिरहेको लिम्बुवान स्प्रिङ आन्दोलनको जिकिर छ ।

आन्दोलनले चितवनको चेपाङहरुको घर हात्ती र आगो लगाएर अन्नबालीसहित खरानी बनाइदिने, चेपाङहरुलाई सुरक्षाकर्मी लगाएर निर्मम कुटपिट गरी हत्या गर्ने जस्ता राज्य आतंक तुरुन्त रोक्न समेत सरकारसँग आग्रह गरेको छ । साथै उक्त घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि यो दमनचक्र नरोकिएमा लिम्बुवानका लाखौ युवाहरु न्यायका निमित्त बलिदानीपूर्ण संघर्षमा उत्रन बाध्य हुने कुरा अवगत गराउन चाहन्छौ ।’

मुक्कुमलुङलाई ‘मुक्कुमलुङ युमा माङ’ नामाकरण गराउनका लागि लिम्बुवान स्प्रिङ आन्दोलनबाट ‘काङसोरे लङमार्च–२’ अन्तर्गत ईक्साहाङ चेम्जोङको संयोजकत्वमा संघर्ष समिति समेत निर्माण गरिएको छ ।

यसैबीच आगामी साउन १७ गते शनिबार झापाको विर्तामोडस्थित राँके होटलमा मुक्कुमलुङ अतिक्रमणविरुद्ध बहस तथा अन्तरक्रिया कार्यक्रम गरिदै छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here