लू-हाई लियाङ्ग

विश्वको ठूलो जनसङ्ख्या कोभिड-१९ को सङ्क्रमण रोक्न अझै पनि सामाजिक एकान्तवासमै छ। तर महिनौँ लामो लकडाउनपछि चीनमा भने मानिसहरू काममा फर्किरहेका छन्।

नयाँ वर्ष मनाउन वुहानबाट गृहनगर फर्किएपछि गाओ टिङ्गलाई पुराना साथीहरू भेट्ने र महोत्सवका अवसरमा बाहिर गएर खाना खाने उत्साह थियो।

उनी हुबेको प्रान्तीय राजधानीबाट ज्यनुअरी २३ मा कडा लकडाउन लगाइनुभन्दा तीन दिनअघि निस्किएकी थिइन्।

त्यसपछि ३४ वर्षिया गाओले वुहानबाट करिब ३०० किलोमिटर पश्चिमस्थित ४० लाख मानिसको बसोबास रहेको सहर इचङ्गको एउटा अपार्टमेन्टभित्रै आफ्ना अभिभावकसँग ६८ दिन बिताउनु पर्‍यो।

उनी भन्छिन्, “हरेक दिन हाम्रो तापक्रम नाप्न मान्छे आउँथे। घरमा आठजना थियौँ। परिवारसँग समय बिताउन पाउँदा राम्रो लाग्यो।”

दुई महिनापछि मार्च २९ मा गाओ काममा फर्किइन्।

उनले सुनाइन्, “बाटोमा भेटिएका हरेक मानिसले मास्क लगाएका थिए। त्यसबाहेक सबै कुरा पहिले जस्तै अधिकांश मानिसहरू फोनमै व्यस्त, लाग्थ्यो केही फेरिएकै छैन।”

तर कामको परिदृष्यले फरक कथा भन्छ।

पैसाको समस्या

गाओले वुहानको प्रख्यात किनमेल केन्द्रमा रहेको वान्डा समूहमा काम गर्छिन्। आफ्नो कम्पनीले बनाएको त्यहाँका किनमेल केन्द्रको व्यापारमा मन्दी आएको छ।

उनका अनुसार सन् २०१९ मा त्यहाँ दैनिक सरदर ६०,००० मानिस पुग्थे जुन अहिले १०,००० मा झरेको छ। तैपनि उनको जागिर व्यस्त र कठिन खालको छ।

उनी राती नौ बजेसम्म कार्यालयमै बिताउँछिन्। बाँकी रहेका काम सक्न उनले सप्ताहन्तमा घरबाटै काम गर्छिन्।

उनी भन्छिन्, “यहाँका थुप्रै खाले व्यापारमा अहिले पैसा छैन र भाडा नै तिर्न नसक्ने अवस्था छ। केही बन्द हुँदैछन्।”

कार्यालयमा नयाँ नियम

चीनमा फेब्रुअरी महिनाका अधिकांश दिन दशौँ लाख जागिरेले घरबाटै काम गरिरहेका थिए। कैयौँको निम्ति त्यो नयाँ अनुभव थियो। अहिले केही कार्यालय फर्किएका छन्।

तर घटेको कारोबारका कारण केही कम्पनीहरूले कामको समय र तलब घटाइरहेको बताइन्छ। धेरैले व्यापारलाई पुरानै लयमा फर्काउने प्रयासमा पहिलेभन्दा बढी समय काम गरिरहेका छन्।

मानिसहरूलाई खर्च गर्न प्रोत्साहित गर्ने उद्देश्यले चीनभरि नै अधिकारीहरूले अढाई दिन बिदाको प्रस्ताव गरेका छन्।

स्वास्थ्य अधिकारीहरूलाई सङ्क्रमणको सम्भावित दोस्रो लहर आउने चिन्ता छ।

कैयौँ कार्यालयका भवन र अपार्टमेन्टहरूमा सुरक्षाकर्मीहरूले त्यहाँ पस्ने मानिसहरूको तापक्रम नाप्ने गर्छन्।

गोन्जाओस्थिति चिनियाँ भिडिओ गेम कम्पनीमा काम गर्ने एरियल जुङ मेक्सिकोमा बस्छिन्।

उनको एशिया र ल्याटिन अमेरिकाबीच नियमित यात्रा हुन्थ्यो। तर मार्चमा उनी स्वदेश फर्किएर होटलमा क्वारन्टीनमा बसिन्। एक हप्ता घरबाटै काम गरेकी उनी एप्रिल १५ देखि कार्यालय जान थालेपछि केही महत्त्वपूर्ण परिवर्तन देखेकी छन्।

विदेश भ्रमणमा जान नपाए पनि जुङ कार्यालयमा गएर काम गर्दा खुशी छिन्।

कर्मचारीमा उच्च दबाब

चिनियाँ नयाँ वर्षअघि अलम लियोको कार्यालय समय निश्चित थियो। अहिले काम थाल्ने र सक्ने समय लचिलो बनाइएको छ।

सार्वजनिक यातायातमा सामाजिक दुरी राख्नु पर्ने भएकाले त्यसो गरिएको हो। अर्को कारण भने धेरैको कार्यालय पुग्ने गर र फर्किने समय एउटै नहोस् भन्ने हो।

बेइजिङ्गस्थित चेङ्ग कङग ग्राजुएट स्कूल अफ बिजनेशका सहप्राध्यापक जङ्ग शियामङ्गले घरबाट काम गर्दा कार्यक्षमता खस्किएको अनुभव कैयौँ कर्मचारीले स्वीकार गरेको बताउँछिन्।

उनको समूहले गरेको सर्वेक्षणमा ५,८३५ जनाले भाग लिएका थिए। तीमध्ये आधाभन्दा बढीले त्यस्तो बताएका थिए।

करिब ३७ प्रतिशतले कुनै फरक नभएको र १० प्रतिशतले कार्यक्षमता झन् बढेको सुनाएका थिए।

हुबेमा विद्यालय खुल्दै

चीनमा ज्यानुअरीको अन्त्यबाट बन्द भएका विद्यालयहरू मार्चको मध्यदेखि बिस्तारै खोल्न थालिएको छ।

तर २७ करोड ८० लाख विद्यार्थीको बन्दोबस्ती र समय तालिका चीनका लागि निकै महत्त्वपूर्ण विषय बनेको छ। चरणबद्ध रूपमा प्रान्तहरूका विद्यालयहरू खोल्न थालिएको छ।

सबैभन्दा पछाडि भने मे महिनाको शुरूमा हुबेमा विद्यालय खोलिएको हो।

अन्य कार्यस्थलहरूमा जस्तै विद्यालयहरूमा पनि स्वास्थ्य सतर्कता अपनाइएको छ।

खुल्ने समय फरक पारिएको छ। तापक्रम नापिन्छ। मास्क लगाउने र सामाजिक दुरी राख्ने गरिएको छ।

आरामको अवसर नपाए जस्तो लाग्छ

सरकारी इन्जिनियरिङ् कम्पनीमा कार्यरत युन तावकी १६ वर्षकी छोरी छन्।

उनी भन्छिन्, “छोरीको निम्ति दिनमा तीन पटक खानेकुरा बनाउँदा बनाउँदा म थाकिसकेँ।”

उनले छोरीको स्याहार गर्नुपर्छ, पढाइ हेरिदिनुपर्छ। त्यसमै धेरै समय बित्छ।

त्यसकारण उनलाई कार्यालयमा जाँदा जस्तो परिणामदायक काम गर्न पाएको जस्तो लागेको छैन।

युनकी एकमात्र छोरी एउटा अन्तर्राष्ट्रिय हाई विद्यालयमा पहिलो वर्षकी छात्रा हुन्।

उनी तीन महिनभन्दा बढी समयदेखि विद्यालय गएकी छैनन्। अनलाइन कक्षाले छोरीलाई पढ्न त्यति उत्साहित नतुल्याएको बताउँदै उनले त्यसकारण आफ्नो जिम्मेवारी बढेको बताइन्।

त्यसैले ‘जागिरको जिम्मेवारी र घरको काम पूरा गरेपछि आफूसँग आराम गर्ने समय नै नहुने’ उनको अनुभव छ।

तर त्यसले एउटा राम्रो कुरा दिएको बताउँदै उनले भनिन्, “यसअघिको भन्दा मेरो पकाउने कला राम्रो भएको छ।”

चीनलाई हेर्दै बाँकी विश्व

घरभित्रै बस्नुपर्ने प्रतिबन्ध फुकुवा भएपछि जनजीवन कस्तो हुन्छ भन्ने जान्न कैयौँ देशहरूले चीनलाई हेरिरहेका छन्। तर चीनमा अझै पनि धेरै अनिश्चितता छ।

कैयौँ मानिसहरू अन्य देशहरूले भाइरस नियन्त्रण गर्न गरिरहेको सङ्घर्ष देखेर डराएका छन्।

एरियल जुङ्ग भन्छिन्, “हामी अझै कोरोनाभाइरसकै चरणमा छौँ। यो सक्किसकेको छैन।”

उनका भनाइमा विश्वव्यापी महामारीको अन्त्य सारा विश्वको एकताबद्ध प्रयासमा निर्भर गर्छ।

उनी भन्छिन्, “अरू देशको अवस्था हेर्दा हामी सुरक्षित छौँ भन्न सकिन्न। अन्य देशले नियन्त्रण गर्न सकेनन् भने हामी सबै प्रभावित हुनेछौँ।”

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here