काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७६ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासु राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोषकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

२०५० सालदेखि प्रकाशित त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ त्रैमासिक (इक लिब्जु–भुम्जु) वर्ष ६, अंक ४ र ५ संयुक्त पूर्णाङ्क ७७, २०७६ वैशाख–असोजमा प्रकाशित ‘थाच्चुमस्याङ पाङ्तिम’ (अस्तिझैं लाग्छ) शीर्षक कविता छनोट भएको हो ।

यस कवितामा किराती वाम्बुले राई जातिको मुन्दुम परम्परा खाउमो पितृकार्यमा भेटिएका एक तन्नेरी पुरुषले र एक तरुनी नारीको शिलस्वभावलाई पे्रमिल भावको चर्चा रहेको छ ।

ग्रामीण जीवनमा हुर्किएकी एक नारीको सुकोमल हृदय अनि उसको सहनशील स्वभाव, समाजप्रतिको समर्पणलाई कवितामा अभिव्यक्त गरिएको छ । सृष्टिको मूल मानिने उनी नारीको सौन्दर्यप्रति आकर्षित हुनेहरूले गर्ने अपेक्षालाई सुललित ढंगले बयान गरिएको छ ।

यद्यपि, मान्छेको जीवन क्षणभंगुर छ । त्यही जीवन अतीत भइदिएपछिको खातिर नै यस कविताको अभिव्यक्ति हो । यस कविताले वाम्बुले सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिनिधित्व गरेको पाइन्छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ उदयपुर गाउ“मा २०४२ सालमा जन्मिएका कवि उदय जिज्ञासु राई वाम्बुले साहित्यका एक अभियनता हुन् ।

उनको रचना ‘वाम्बुले राडुयोरल्वाम कवितातिड्’ (वाम्बुले राई भाषाका कविताहरू, २०६५) संयुक्त संग्रहमा प्रकाशित छ । उनी वाम्बुले मातृभाषा र खस–नेपाली भाषाका कविता, गीत, निबन्ध विधामा कलम चलाउँदै आएका छन् ।

यो पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ सालमा स्थापना गरेका हुन् ।
क्याम्पा राईले आफ्नो सिर्जना गीत, साहित्यबाट हासिल गरेको पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जुभुम्जु पुरस्कार’ प्रदान गरिदैआएको र हाल लिब्जुभुम्जु अक्षयकोष निर्माण गरिएको छ ।
पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । उक्त पुरस्कार २०७७ मंसिर २० गते हुने ‘२२औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here