–बेचन कुमार महतो

कोभिड–१९ को विश्वव्यापी महामारीले २०२० विश्वमा विकास हराएको वर्ष हुनेमा प्रायः निश्चित नै छ । हाम्रो भौगोलिक अवस्थिति, कामको अवस्था, उमेर, वर्ग स्थिति, लिङ्ग, जातीयता, स्वास्थ्य सेवाहरुको उपलब्धतालगायत सम्बन्धित अन्य कारक तत्वहरुको दायरामा कोभिड–१९ ले आफ्नो प्रभाव देखाएको छ । वर्तमानमा कोभिड–१९ अर्थात कोरोनाभाईरसको प्रकोपले हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, वातावरणीय र राजनीतिक असमानताहरूलाई वढाएको यथार्थमा दुईमत भने छैन ।

हामी अझै कोभिड–१९ को सुरुवाती दिनहरू मै छौ । यसको कारण श्रृजित हुन सक्ने नाजुक अवस्था र कम आर्थिक वृद्घि दरका भयावह अवस्थाहरुलाई पछिल्ला दिनहरुले प्रमाणित गर्ला नै । समग्रमा २०२० विश्वव्यापी रुपमै विकास हराएको वर्ष हुनेमा शंका छ जस्तो लाग्दैन । उपलब्ध प्रारम्भिक प्रतिवेदनहरुलाई विश्लेषण गर्दा यस भाइरस ग्रस्त देशहरूमा संचालित विकासका कार्यक्रमहरू माया त अवरोध श्रृजना भएकोे छ वा विकासको गतिलाई सुस्त पारेको छ । अधिकांश प्रभावित देशहरूमा आवागमनमा प्रतिबन्ध लगाइएको छ र यसले सीधै कामदारहरुको परिचालन र कार्यक्रमहरूको कार्यान्वयनमा असर पु¥याएको देखिन्छ ।

यात्रा प्रतिबन्ध र आपूर्ति श्रृंखलाका कठिनाइहरू, औषधिहरू र स्वास्थ्य कर्मचारीहरूको लागि व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको अभावले गर्दा प्रभावित देशहरुको अवस्था दिनानु दिन जटिल बन्दै गएको छ । यस महामारीको कारण खाद्य मूल्य बढ्ने बढी सम्भावना रहेको छ । यसै त विश्वव्यापी आर्थिक मन्दी र अस्थिर मुद्रा विनिमय दरले विकासोन्मुख देशहरूको लागि बाह्य सहायता प्रवाहको तहमा असर परि रहेको वर्तमान अवस्थामा कोभिड–१९ को महामारीले झन् आगोमा घ्यू थप्ने कार्य गरेको छ ।

प्रभावितलक्षित समुह र नकारात्मक प्रतिकुलता

कोरोना भाईरसको विश्वव्यापी महामारी नियन्त्रणको लागि ब्रम्हास्त्रको रुपमा लिइएको लकडाउनको कारण तत्कालीन रुपमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु बढि मात्रामा प्रभावित भएका छन् । विश्वभरका लाखौ करोडौ विद्यार्थीहरूले शिक्षाका अवसरहरू गुमाउँदैछन । समुदायमा कोरोना भाइरस सर्न थाल्दा अन्य स्वास्थ्य सेवाहरू असन्तुलित भएका छन् । यसले न केवल कोभिड–१९ का बिरामीहरूको हेरचाह गर्न सक्ने देशहरूको आन्तरिक क्षमतालाई प्रभाव पारेको छ बल्की स्वास्थ्य सेवाका सम्पूर्ण क्षेत्रहरुलाई नराम्ररी प्रभावित बनाएको छ । यदि जनसंख्याको ठूलो अंश बिरामी परी आफ्ना आफन्तहरूबाट हेरचाह आवश्यक ठहरने अवस्था आएमा पारिवारिक, व्यवसायिक तथा राष्ट्रिय अर्थव्यवस्थाको उत्पादकत्व घट्नेमा कुनै शंका नरहला ।

बुझ्नु पर्ने कुरो के हो भने कोभिड–१९ विश्वव्यापी स्वास्थ्य र मानवीय संकटमात्र नभई यो बृहत्तर सामाजिक, आर्थिक र राजनीतिक संकट पनि हो । कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणको लागि प्रभावकारी खोप वा उपचार प्रणालीको विकास नभएसम्म विकासका सबै क्षेत्र र कार्यक्रमहरूले गम्भीर अवरोध तथा ढिलाइहरूको सामना गर्नु पर्ने नै हुन्छ । आपतकालीन स्वास्थ्य र मानवीयपक्षको उचित सम्बोधनको लागि तत्कालै व्यवस्थापकीय तयारी थालनु पर्ने हुन्छ । कोभिड–१९ महामारीको नियन्त्रण र उपचारको लागि सबैले साझा दायित्व महसुस गरी सामुहिक प्रयास नगरे यसको प्रकोपबाट कोहि पनि बच्न नसक्ने तथा दिगो विकास लक्ष्यहरू समेत प्रभावित हुनेमा विश्वस्त हुनु जरुरी छ ।

दीर्घकालीन र मध्यकालीन प्रभावहरु

अन्यसंकटहरु सँग सँगै, कोभिड–१९ महामारीको कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय आय र लैँगिक विषयक भेदभाव र असमानताहरू बढ्न सक्छन् । यस अघिका महामारीबाट हामीलाई के थाहा छ भने यस्ता किसिमका महामारीबाट स्वास्थ्य सेवामा सिमित पहुँच हुने सबैभन्दा गरिब र सबैभन्दा कमजोर समूहहरू (जस्तै शरणार्थीहरू र कमजोर सरसफाइ र खानेपानीको संकुचित परिस्थितिमा बस्ने वर्गहरु) उच्च जोखिममा हुने गर्दछन् । धेरैको लागि सामाजिक दूरी र घर क्वारेन्टाइनको अभ्यास असम्भव हुन सक्दछ किनभने हामी जस्तो विकासोन्मुख देशहरूमा अधिकांश कामदारहरू अनौपचारिक क्षेत्रमा कार्यरत हुने गर्दछन र सीमित बचत क्षमताका हुने गर्दछन् ।

सामाजिक सुरक्षाको नेटवर्क बिना तिनीहरूलाई कामबाट बाहिर हुन गाह्रो हुन्छ र तिनीहरू आफैं भाइरसको उच्च जोखिममा पर्ने सम्भावना रही रहन्छ । विश्व बैंकको अनुमान अनुसार प्रत्येक वर्ष विश्वभरीमा १०० करोड मानिसहरु यस्ता विनाशकारी महामारीले गर्दा अप्रत्याशित स्वास्थ्य खर्चको कारण चरम गरीबीमा फस्ने गर्दछन । कोभिड–१९ को कारण यो संख्या अझ बढ्न सक्ने देखिन्छ ।

संचार र ज्ञानको साझेदारी

यो सही हो कि इबोलाजस्ता महामारीहरूसँग प्रभावकारी रुपमा लड्न सक्ने अनुभव भएको विकासोन्मुख देशहरू तुलनात्मक रुपमा केहीहद सम्मकोभिड–१९को लागि तयार छन् । मौजुदा इबोला स्क्रीनिंग प्रणालीले एयरपोर्ट र सीमानाकामा कोरोना भाइरस रोगको लागि छिटो स्क्रिन गर्न अनुमति दिएको छ । केही अफ्रिकन राष्ट्रहरु आफै कोभिड–१९को परिक्षण गर्न सक्ने हैसियतमा छन् ।

यस्ता देशहरूमा पहिलेदेखि अवस्थित गम्भीर प्रकृतिका रोगहरुको लागि आवश्यक आईसोलेसन कक्ष र उपचार पूर्वाधारहरुको प्रवन्धले गर्दा कोभिड–१९ को उपचारको लागि केही सहजता महसुस भएको छ । इबोला र अन्य महामारी नियन्त्रणका अनुभवहरूले भ्रष्टाचार र भेदभाव न्यूनीकरणको सन्दर्भमा राष्ट्रिय तथा स्थानीय सरकार उपर जनताको विश्वास पनि कायम भएको देखिन्छ । विश्वस्त संचार माध्यमहरुले जनस्वास्थ्य शिक्षा र सञ्चारको आवश्यकता माथि प्रकाश पार्ने गरेको छ ।

राष्ट्रिय स्तरमा भएका ज्ञान र सिकाई तथा सो को अन्तर्राष्ट्रिय अदान प्रदान कोभिड नियन्त्रणको प्रभाकारी अस्त्र हुन सक्दछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जस्ता बहुपक्षीयविज्ञ संगठनहरूले नेसनल अथोरिटीलाई सल्लाह दिन महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

अनुसंधानकर्ताहरु, व्यवसायीहरू र मिडियाहरुले पनि अन्तरदृष्टि र जानकारी साझेदारी गर्न योगदान गर्ने गर्दछन् । यद्यपि, देशको आन्तरिक प्राथमिकता र महामारी विरुद्घको जनमत देशै पिछे फरक हुन सक्लान तर कोभिड–१९ विरुद्घको राष्ट्रिय तयारी र प्रासंगिक सूचनाको सम्प्रेशन तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञानको साझेदारी समय मै गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here