काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफू लगायत पार्टीका केही नेताहरुको नाम जोडेर बिल्कुल आधारहिन र षडयन्त्रमूलक ढंगले प्रचार गरिएको बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्य दल फुटाउन अध्यादेश ल्याएको’ बताइरहेकाे बेला उक्त अध्यादेशले समाजवादी पार्टीलाई कुनै असर नगर्ने नेता राईले प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले आफूमाथि आइलागेको संकट टार्ने सुरक्षा कवजको रुपमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको नेता नेता राईको बुझाई छ ।

उनले प्रधानमन्त्री ओली निकै विध्वंशकारी चरित्रका व्यक्ति भएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री ओलीले आफूमाथि आइलागेको संकट टार्न सुरक्षा कवजको रुपमा अध्यादेश ल्याएका हुन्, त्यो चिजले स्वभाविक रुपमा विभिन्न पार्टीलाई फुटाउने प्रयास गर्छन् नै । किनभने उनी एकदम विश्वंशकारी खालका मान्छे हुन्,’ सार्वजनिकसँग नेता राईले ‘बाबुराम, राजेन्द्र, मेरो, इस्तियाकको नाम जोडेर जुन किसिमले प्रचार गरिएको छ, त्यो उनकै सुनियोजित प्रचार हो ।’

केही सञ्चारमाध्यमहरुले समाजवादीका बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, रेणु यादवले सरकारले ल्याएको अध्यादेश बमोजिम पार्टी विभाजन गर्ने तयारी गरेको समाचार लेखेका थिए ।

तर, ती समाचार आधारहिन रहेको नेता राईले बताए ।

‘जसले समाचार लेखेका छन् उनीहरुले हामीसँग सोधेको पनि छैनन्,’ नेता राईले भने, ‘यो विल्कुल आधारहिन, षडन्त्रमूलक र पार्टीका नेताहरुप्रति अविश्वास जन्माउने किसिमबाट डिजाइन गरिएको समाचार हो ।’

उनले आफ्नाे पार्टीको शीर्ष तहमा कुनै समस्या नभएको प्रष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टीको शीर्ष तहमा कुनै किसिमको समस्या नभएको मात्र होइन, हामी अहिले चट्टानी एकताको अवस्थामा छौं ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here