काठमाडौं । समाजवादी पार्टीले सरकारले लोकतन्त्र नै समाप्त पारी मुलुकलाई ठूलो दुर्घटनामा धकेल्ने गरी अध्यादेश ल्याएको जनाएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी उक्त अध्यादेश फिर्ता लिनुपर्ने समेत उल्लेख गरेका छन् ।

नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गरी अध्यादेश ल्याइएको अध्यक्ष यादवको भनाइ छ ।

‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई धरापमा पार्ने र मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनुपर्छ ।’

मुलुक कोभिड–१९ बाट आक्रान्त बनिरहेको बेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुलाई पद र आर्थिक चलखेल गरी फुटाउने र मुलुकलाई पुनः अस्थिरतातिर लाने गरी अध्यादेश ल्याएको भन्दै हाल चौतर्फी विरोध गरिएको छ ।

प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा मात्र नभएर स्वयम् नेकपाकै नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here