काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अरु दललाई फुटाउन अध्यादेश ल्याएको हुँ’ भनेर दिएको अभिव्यक्ति लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीको बोली नभएर भडुँवा, गुण्डा, दलाल र अपराधीको बोली भएको टिप्पणी गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद् बैठकबाट दल विभाजन सजिलो हुने गरी अध्यादेश ल्याएका थिए ।

बैठकमा उनले पटक पटक अरु दललाई फुटाउनका लागि अध्यादेश ल्याउनुपरेको बताएका थिए ।

संग्रौलाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति लोकतन्त्रका प्रधानमन्त्रीको होइन, भँडुवा, गुण्डा, दलाल र अपराधीको बोली भएको ट्वीटरमा उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री जुनसुकै दलको भए पनि एक प्रकारले सबै दलको अभिभावक पनि रहेको उल्लेख गरेका छन् ।
तर, प्रधानमन्त्री ओली केवल भँडुवा र अपराधी भएको संग्रौलाको जिकिर छ ।

उनले लेखेका छन्, ‘ऊ चाहे जुनसुकै दलको किन नहोस्, प्रधानमन्त्री एक प्रकारले अन्य दलको पनि अभिभावक हो । प्रम ओलीले अन्य दललाई फुटाउन विधेयक ल्याएको हुँ भनेछन् । यो लोकतन्त्रका प्रधानमन्त्रीको होइन, भँडुवा, गुण्डा, दलाल, अपराधीको बोली हो ।’

उनले प्रधानमन्त्री ओलीको बोली उनलाई चिनाउने असली बोली भएको बताएका छन् ।

पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफूलाई सत्ताच्युत गर्न खोजे आफ्नै नेतृत्वमा पूर्व नेकपा एमाले पार्टी गठन गरेर भए पनि सत्ता नछोड्ने मनसायका साथ अध्यादेश ल्याएको टिप्पणी गरिएको छ ।

यसले नेकपाभित्र ठूलो हलचल र शंका उब्जाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद तथा पार्टीको बैठकमा भने समाजवादी पार्टी र राजपालाई फुटाउन अध्यादेश ल्याउनुपरेको तर्क गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले भने जसरी समाजवादी र राजपा फुट्न सहज छैन । समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राजपाका प्रभावशाली नेता राजेन्द्र महतोले आफूहरुलाई अब पार्टी एकता गर्ने बलियो अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here