भाषणले ब्रम्हाण्ड घुमायौ, किरिया, कसम सबै खायौ,
अधिकार पाउने आशा दिलायौ, सोझो जनतालाई भेडै बनायौ,

जंगलमै बस्ने जंगली बनायौ, खनीखोस्री खाने स्वाँठ बनायौ,
बोल्न नजान्ने असभ्य बनायौ, दलित जनजाति अनेक बनायौ,

ज्याला नमाग्ने कमैया बनायौ, मान्छे होइन, गोरु नै बनायौ,
ढुकुटीबाट टाढा पुर्यायौ, आशामा बाँच्ने गरीब बनायौ,

कुरै नबुझ्ने लाटो बनायौ, गरीबलाई सधै हली बनायौ,
एकोहोरे बज्रस्वाँठ बनायौ, तिम्रो समाजमा अछुत बनायौ,

जातजातिको कित्ता दिलायौ, शुद्र दलितको बिल्ला भिरायौ,
भगवान्, देउतामाथि देखायौ, आफै देउता बनेर खायौ,

मासु रक्सी बियर पिलायौ, भोट जोगाउने तिघ्रे बनायौ,
मेरो मूर्खतामा मिति रमायौ, आफ्नै निम्ति धन कमायौ,

समानताको खिल्ली उडायौ, हुस्सु मलाई काममा दलायौ,
ईमान धर्म सुलीमा चढायौ, अवतारहरु विभिन्न देखायौ,

मौका पाउँदा होलीवाइन खायौ, कूलवंशमा कलंक लगायौ,
सन्ततीलाई गलत पढायौ, इतिहास चै कालै लेखायौ,

आशा भरोसा धेरै दिलायौ, चिप्लो बोलीले आफ्नो बनायौ,
तर आफ्नै मात्र दुनो सोझायौ, मतदातालाई भेडा बनायौ,

अन्त्यमा आफ्नो जात जनायौ, राजनीतिलाई कलंकित बनायौ,
महामारीलाई समेत मौका बनायौ, कोरोना सँगै भ्रष्ट्राचार भित्रायौ ।

–डा. केके राई

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here