मुख्यमन्त्री राउत

नयाँ वर्ष २०७७ को अवसरमा प्रदेश २ का मुख्यमन्त्री ज्यूले प्रदेशवासीको नाममा गरेकाे सम्बोधनको सारसंक्षेप ।

नमस्कार,

आदरणीय प्रदेशवासी दाजु भाई तथा दिदी वहिनीहरु,

नयाँ वर्ष २०७७ एवं मधेशका साँस्कृतिक पर्व जुड शितलको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदी वहिनी तथा प्रदेश वासीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्ष एवं शुडशितल पर्व हाम्रो लागि महत्वपूर्ण साँस्कृतिक धरोहर रहे पनि यस वर्ष हामी कोरोना महामारीका कारण खुलेर मनाउने अवस्था नरहेको सर्वविदीत नै छ । महामारी बाट जोगिन लकडाउन एवं समाजिक दुरी नै सर्वोत्तम अस्त्र रहेको हुँदा यस वर्ष आ–आफनो घरमै नयाँ वर्ष एवं जृुडशितल पर्व मनाउन सम्पूर्ण प्रदेश वासीमा आग्रह गर्दछु ।

विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार शुरु देखीनै लागि परेको यहाँहरुलाई अवगत नै छ । महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन प्रदेश वासीले विगत २१ दिन देखी गर्दै आएको सहयोग प्रशंसनीय छ । यस लकडाउनलाई सफल बनाउन सुरक्षाकर्मीले खेलेको भूमिका, स्वास्थ्य उपचारमा स्वास्थ्यकर्मीहरुको भूमिका तथा महामारीनियन्त्रणका लागि प्रचारप्रसार एवं जनचेतना मुलक सन्देश प्रकाशन प्रशारणमा संचारकर्मीैहरुले खेल्दै आएको भूमिकालाई समेत प्रशंसा गर्नै पर्ने हुन्छ ।

विश्व व्यापी कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले सबै अंग परिचालन गर्दै जिल्ला स्तरीय विपद व्यवस्थापन समिति, सुरक्षा निकाय , प्रदेश स्थित अस्पतालहरु लाई कुनै प्रकारको समस्या हुन नदिने दृढताका साथ आवश्यक व्यवस्था प्रदेश सरकारले गर्दै आएको छ ।

यस लकडाउनका कारण दैनिक ज्यालाका मजदुर, कृषि मजदुर तथा एकल एवं गरिब परिवार लाई दैनिक जीवन यापनमा समस्या नहोस भनेर नै प्रदेश सरकारले स्थानीय तह मार्फत खाद्यान्न व्यवस्थापनका लागि रकम पठाइ सकेकोमा अधिकांश स्थानीय तहले प्रदेश सरकार कार्य निर्देशिका बमोजिम राहत वितरण प्रारम्भ गरि सकेको छ भने केही स्थानीय तहमा समस्या रहेको हुँदा समस्या समाधान गर्दै राहत वितरणलाई सहज बनाउन स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एवं समाजिक कार्यकर्ताहरुलाई आग्रह समेत गर्दछु ।

आदरणीय प्रदेशवासी दाजु भाई तथा दिदी वहिनीहरु,

लकडाउनका कारण कृषि क्षेत्र समेत प्रभावित भएको हुँदा साना किसानहरुलाई राहत दिन प्रदेश सरकारले राहत प्याकेजको घोषणा समेत गरि सकेको छ । कृषि कार्यका लागि किसानहरुले विभिन्न बैंक, वितिय संस्था तथा सहकारी संस्थाहरु बाट लिएको ऋणमा ५ लाख सम्मको ऋणमा ४ महिनाको व्याज १२ प्रतिशत सम्म शतप्रतिशत, ५ लाख देखी १५ लाख सम्मको ऋणमा व्याजको ५० प्रतिशत, १५ लाख देखी ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र सो भन्दा माथीको ऋणमा मन्त्री परिषदको निर्णय बमोजिम राहत प्रदेश सरकारले उपलब्ध गराउने निर्णय गरि सकेको हुँदा त्यस अनुरुपको सुविधा सम्बन्धित निकाय बाट लिन सम्पूर्ण प्रदेशवासी कृषकहरुमा अनुरोध समेत गर्दछु ।

कोरोना महामारी नियन्त्रणमा अग्रणी मोर्चामा रहनु भएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मीहरु लगायतका कर्मचारीहरुको जिवन रक्षाको लागि प्रदेशभरिनै आवश्यक सामग्रीहरुको व्यवस्थापन भै सकेको र अगामी दिनमा समेत त्यस्ता सामग्रीको आभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु । यसका अतिरिक्त कोरोना महामारी नियन्त्रणको क्रममा त्यस्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालकहरुलाई कथंकदाचित जीवनमा आघात पुगे निजको परिवारलाई प्रदेश सरकारले राहत स्वरुप एक मुष्ट ५० लाख रुपैया उपलब्ध गराउने निर्णय समेत गरि सकेको अवगत नै होला ।

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी विरगंज र राजविराजमा कोरोना टेष्ट ल्याब स्थापना गर्ने निर्णय गरे अनुरुप जनकपुरमा ल्याव संचालनमा आई सकेको तथा विरगंजमा समेत भोली देखी ल्याब संचालनमा आइ सक्ने जानकारी गराउदछु । यसका अतिरिक्त राजविराजमा समेत ल्याब संचालनको प्रक्रिया शुरु भइ सकेकोले सम्भवतः यसै साता देखी राजविराजमा समेत ल्याब संचालनमा आइ सक्ने विश्वास व्यक्त गर्दछु कोरोनाको उपचारको लागि महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको घोषणा गरेर निर्माण कार्य समेत शुरु गरि सकेको हुँदा एक दुई दिन भित्रै ती अस्पतालहरु संचालनमा आइ सक्ने जानकारी गराउद छु ।

ती दुबै अस्पतालको लागि सम्पूर्ण व्यवस्था प्रदेश सरकारले गरि सकेको छ । यसै बीच बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पाउनु प्रदेशको लागि ठुलो चिन्ताको विषय बनेको छ । कोरोना पोजेटिभ पुष्टि भए लगतै प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारबीच गहन समन्वय भै कोरोना पाइएको क्षेत्रलाई शिल गरि अन्य व्यक्तिमा समेत कोरोना सरेको हुन सक्ने सम्भावना लाई ध्यानमा राख्दै मास टेस्टिङ्गको प्रक्रिया शुरु गरि सकेको छ । तीन जना भन्दा बढीमा कोरोना संक्रमण नदेखियोस भन्ने कामना गर्दछु ।

कोरोना महामारी नियन्त्रण विश्वलाई नै चुनौति दिई रहेको वर्तमान परिपेक्ष्यमा सरकारले मात्र महामारी नियन्त्रण गर्न सक्ने अवस्था नरहेको हुँदा सम्पुर्ण प्रदेशवासी, नागरिक समाज, जनप्रतिनिधि, उद्योगी, स्वास्थ्यकर्मी, व्यापारी, सुरक्षाकर्मी, सचारकर्मीहरुलाई प्रदेश सरकारको यस अभियानमा सहयोग गर्न आग्रह समेत गर्दछु ।अन्त्यमा सम्पूर्ण प्रदेशवासीहरुमा नयाँ वर्षको पुनः एक पटक शुभकामना व्यक्त गर्दै विदा लिन्छु धन्यवाद ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here